मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बहिष्कारको चेतावनीपछि कांग्रेस बैठक बस्न सकेन

बहिष्कारको चेतावनीपछि कांग्रेस बैठक बस्न सकेन


काठमाडौँ । नेपाली कांग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ः३० बजेसम्म बस्न सकेको थिएन । 

 
बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच समिति गठन सम्बन्धमा सहमतिको प्रयास भएको थियो । नेता पौडेलले अनुशासन समितिमा रहने व्यक्ति सर्वसम्मतरूपमा चयन नभए बैठकमा अनुपस्थित हुने अडान लिएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । 
 
नेता पौडेलको अडानपछि पनि संस्थापन पक्षका सदस्य बैठक कक्षमा प्रवेश गरेका थिए । 
 
तर संस्थापनइतर पक्ष अनुपस्थित भएपछि बैठक बस्दै नबसी स्थगन गरिएको थियो । केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले अनुशासन र निर्वाचन समिति गठनका सम्बन्धमा सहमतिका लागि थप छलफल आवश्यक रहेकाले आजको बैठक सारिएको जानकारी दिए । 
 
पार्टी कार्यालयले केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीको छलफल भएको र थप छलफलको आवश्यकता मध्यनजर राखी आजको केन्द्रीय समिति बैठक स्थगित गरिएको जनाएको छ । 
 
संयोजकसहित पाँच सदस्य रहने दुवै समितिलाई काङ्ग्रेसमा महत्वका साथ लिइन्छ । समिति गठनमा दुवै पक्षले आफू अनुकूल खोज्दा सहमतिमा ढिलाइ भएको बुझिएको छ । 
 
यसअघि यही फागुन १२ गतेको बैठकमा पनि पार्टीको विधान संशोधनको प्रस्ताव पारित गर्दा महासमिति बैठकको भावना नसमेटिएको भन्दै नेता पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले फरक मत राखेको थियो । 
 
गत मंसिर २८ देखि पुस ८ गतेसम्म भएको महासमिति बैठकमा अधिकांश जिल्ला सभापतिको मागबमोजिम सभापति देउवा र नेता पौडेलले पार्टी केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य वडास्तरबाटै निर्वाचित हुनुपर्ने र समावेशी आरक्षण एक व्यक्तिका लागि एकपटक मात्र लागू हुने प्रावधान विधानमा समेटिने आश्वासन दिएका थिए । फागुन १२ गतेको बैठकले उक्त प्रवधान नराखी विधान पारित गरेको थियो ।