मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकामा अध्यक्षको दावेदार शाह भन्छन्

एनआरएन अमेरिकामा अध्यक्षको दावेदार शाह भन्छन्


हिमालयखवर संवाददाता-
अमेरिका । गैर आवासिय नेपाल संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहले स्वभाविक रुपमा आफु अध्यक्ष पदका लागि दावेदार भएपनि घोषणा भने गरिनसकेको बताएका छन् ।
 
'केही पक्षहरुले गर्दा मैले अध्यक्षका लागि उम्मेदवारी घोषणा नगरेको हो, सदस्यता भेरिफिकेशन सकियोस् अनि उपयुक्त समयमा घोषणा गरौंला भन्नेमा म छु' शाहले हिमालयखवरसँग भने ।
 
हाल एनआरएन अमेरिकाको सदस्यता भेरिफिकेसन प्रकृया चलिरहेको छ । निर्वाचनको मिति पनि घोषणा भईसकेको छैन । मे महिनाको अन्तिम तिर निर्वाचन हुने संभावना छ । 
 
तर, वरिष्ठ उपाध्यक्ष शाह केही महिना देखि लगातार विभिन्न राज्यमा आयोजित एनआरएन अमेरिकाका कार्यक्रममा सहभागी भईरहेका छन् । यसलाई उनको चुनावी अभियानसँग जोडिएर हेरिएको छ । तर, उनले भने यसलाई चुनावसँग मात्र नजोड्न नहुने वताए ।
 
'वरिष्ठ उपाध्यक्षको काम अध्यक्षलाई सघाउने हो यस अनुसार म एनआरएन अमेरिकालाई संस्थागत रुपमा मजबुत वनाउन र सदश्य विस्तार अभियानलाई सघाउन म विभिन्न राज्यमा पुगेको हुँ' शाहले भने-'मेरो यो सकृयता संस्थाको विस्तारका लागि हो र मेरो पदिय जिम्मेवारी पनि यही हो ।
 
एनआरएन अमेरिकाको सदस्य संख्या भने अघिल्लो पटक भन्दा घटेको छ । अघिल्लो पटक सदस्य संख्या करिव १५ हजार पुगेको थियो । यस पटक यो करिव ९ हजारको हाराहारीमा पुग्ने अनुमान छ । 
 
किन सदस्य घटे ? शाह भन्छन्-'हिजोका दिनमा एनआरएन अमेरिकामा निकै उतार चढाव आए, सदश्य सही हुन वा होइनन् भन्ने विवाद आए, एनआरएन अमेरिकालाई संस्थागत रुपमा चल्न अप्ठ्यारो वनाउने कोशिस पनि भए यही भएर समस्या कहां छ त्यसलाई सुधार गरियो, सदस्य बन्न आधिकारिक परिचय पत्र अनिवार्य गरियो, इमले फोन मार्फत सदश्यता सही हो होइन भेरिफाई गर्ने प्रावधान राखियो । पहिला एउटा व्यक्ति, इमेल अर्को भन्ने विवाद पनि आएकाले यस्तो गरिएको हो । यो अवस्थामा पनि अहिले जति सदश्य संख्या पुग्यो यो सानो  होइन ।
 
आगामी निर्वाचनमा सहभागी हुनका लागि सदस्यता लिने अन्तिम केही दिनमा एनआरएन अमेरिकाको वेभसाइटमा प्राविधिक समस्या आएको थियो । यसले गर्दा कयौं सदस्य बन्न पाएनन् । एनआरएन अमेरिका आईटी समितिका संयोजक शाह भन्छन्-'यो सर्भर विग्रेर होइन हामीले आर्थिक रुपमा किफायती होस भनेर निश्चित स्पेस लिएका थियौं अन्तिम दिनहरुमा एकैपटक धेरैको चाप पर्दा वेभसाइट डाउन भएको हो ।
 
तर, दवाव हुँदाहुदैं पनि एनआरएन अमेरिका कार्यसमितिले सदस्य लिने समय थप नगर्ने निर्णय गरेको थियो । समय थप नगर्नुको कारण भने गलत नजिर नबसोस भनेर हो शाहले भने -'केही दिन पछि सदस्य बन्न मिल्छ अहिले सदस्य बन्न जो जो छुट्नु भयो उहाँहरुले एनआरएन अमेरिकाको आगामी निर्वाचनमा भोट हाल्न नपाउने मात्र हो अरु कुनै समस्या पर्दैन ।
 
सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले एनआरएन अमेरिकाको पदाधिकारीका लागि उम्मेदवारी घोषणा गरिरहेका छन् । शाह भन्छन्-'यो संस्थाप्रतिको आकर्षण हो, मैले यसलाई सकरात्मक रुपमा लिएको छु । यसले संस्थाको नेटवर्किङ बढ्छ, सबल नेतृत्व आउन बल पुग्छ ।
 
एनआरएन अमेरिकाको नेतृत्व सजिलो छैन । समय दिन सक्नुपर्छ, केही खर्च पनि हुन्छ । टेक्ससमा व्यवसाय गर्दै आएका शाह भन्छन्-'मैले धेरै पटक आत्म समिक्षा गरें, म के एनआरएन अमेरिकाको अध्यक्षका लागि समय दिन सक्छु ? भन्ने प्रश्न पटक पटक आफैलाई गरें, परिवार, व्यवसाय र संस्था मिलाएर जान सक्छु भनेरै म नेतृत्वका लागि तयार भएको हुँ । वरिष्ठ उपाध्यक्ष हुँदा मलाई संस्थामा के कति समय दिनु पर्ने रहेछ भन्ने थाहा पनि भयो । त्यसैले आउने दुइ बर्षका लागि संस्था भित्र काम गर्न म तयार भएको छु । अरु साथीहरुको बारेमा मलाई थाहा छैन ।
 
एनआरएन आईसीसीको एक बर्ष अघि काठमाडौमा भएको सम्मेलनमा शाह विवादमा पनि आएका थिए। त्यस बेला प्रतिनिधि छनौटमा शाह नै संयोजक थिए । त्यसवेला यहाँवाट काठमाडौ लैजाने प्रतिनिधि छनौटमा व्यवस्थित गर्न खोज्दा समस्या आएको उनले बताए । 
 
'जो काठमाडौ सम्मेलनमा जाने हो उसलाई नै प्रतिनिधि वनाउने हाम्रो योजना थियो तर, क्षेत्रिय संयोजक उपसंयोजकहरुको सल्लाह अनुसार प्राविधिक रुपमा यसलाई कार्यान्वयन गर्न सकिएन त्यहाँ आईसीसीको नियमको कुरा पनि आयो त्यसैले समस्या आयो शाहले भने यो हाम्रा लागि एउटा पाठ पनि भयो, सिकियो भन्नुपर्यो । अब यस्तो त्रुटी हुँदैन ।
 
यो कार्यसमितिमा हुँदा के गर्न नसकेका कुराहरु के हुन् ? शाह भन्छन्- 'इतिहास हेर्दा एनआरएन अमेरिका संस्थागत हुँदै आएको धेरै लामो इतिहास छैन । आईसीसी, एनसीसी र च्याप्टर संयोजनका लागि आफ्नै चुनौती छन् । वर्तमान कार्यसमितिले संस्थालाई संस्थागत बनाउन केही सुरूवात गरेको छ । तर, गर्नुपर्ने बाँकी काम थुप्रै छन् । विदेशमा बस्ने सबै नेपालीको चासोको विषय दोहोरो नागरिकताको मुद्दा कार्यान्वयनमा आउन अझै बाँकी छ । यो बाहेक अमेरिका भित्र हामीले गर्नु पर्ने मुद्दाहरु छन् ।