विचार / ब्लग

पिआरले तोडेको प्रेम

119 पटक पढिएको

नेपाली सुमन | 23rd Feb 2019, Saturday | २०७५ फाल्गुन ११, शनिबार १५:५६
पिआरले तोडेको प्रेम 
 
“हेल्लो, कहाँ हो के तिमी ?”
 
“घरमै, तपाईँ ?”
 
“म बानेश्वर आऊँदैछु, रेडमडमा निस्क |”
 
“उम… मामु होइसिन्न, म खाजा बनाउँदै छु | कि भोलि भेटौन्, हुन्न ?”
 
“त्यस्तो हुन्न | चाडै आऊँ |”
 
“हस् , अनि सुन्नू |”
 
“हजुर, भनन् !”
 
“चुरोट तान्न थाल्ने हैन नि फेरि |”
 
“हजुरको जो आज्ञा |”
 
 
निलो जिन्स पाइन्टमा सेतो बुट्टे कुर्ता लगाएर ऊ आएको म परैबाट देख्छु | मलाई देख्नसाथ ऊ मुसुक्क हाँस्छे तर टेवलको “ट्रे” नजर जानसाथ उसको चेहरामा बादल मडारिन्छ | अनि त के चाहिन्थ्यो र ?  ठुस्किन्दै अघि बढ्छे, वेटरलाई मनमनै गाली गर्छु | त्यसलाई अघि उठा भनेको थिएँ |
 
ऊ आऊँछे, मेरो विपरित सिटमा बस्छे | म हाँस्दिन्छु, ऊ रिसाउँछे | म उसको छेउमा गएर बस्छु, ऊ अलि पर्तिर सर्छे |
 
“के खाने तिमी ?” वेटर छेउमा आएको देखेपछि म उसलाई सोध्छु ? ऊ बोल्दिन |
 
म वेटर उभिरहेको छ भन्ने संकेत गर्छु, ऊ अझै मौन नै बस्दिन्छे | म वेटरलाई जान आग्रह गर्छु, अनि सरी भन्छु |
 
 
“म हारे अब !” बल्लतल्ल मतर्फ फर्किएकी ऊ रुन्चे स्वरमा बोल्छे, “नखानुभन्दा त यो गति छ, अरूबेला के होला ?”
 
“कत्तिदिन भएको थियो नखाएको |” म झुट बोल्छु |
 
“अब जत्ति खाए पनि हुन्छ |” ऊ अझै संकिन्छे |
 
वेटर फेरि आइपुग्छ |
 
“तिमी के लिने ?”
 
“चुरोट |” ऊ भन्छे | वेटर डाइरीमा टिप्छ
 
म “हैन हैन” भन्दै उसको फेब्रेट मोसरुम चिल्ली र मेरो प्रिय कफी ल्याउन भन्छु |
 
उसको फोन बज्छ |
 
 
“मामु आउनु भएछ, म जान्छु |” ऊ उठ्छे | त्यसैबखत खानेकुरा आइपुग्छ | म खाएर जान आग्रह गर्छु, ऊ पुन: बस्छे |
 
 “हामी भोलि मुस्तांग जाँदैछौँ |” कप टेवलमा राख्दै उसलाई सुनाउँछु  |
 
“को को ?” ऊ हतारिएर सोध्छे | म साथीहरूको नाम लिन्छु  |
 
“अनि मलाई केही थाहा थिएन त ?” उसको स्वरमा असन्तुष्ट भाव मिसिन्छ |
 
“अघि भर्खर फिक्स भयो अनि तिमीलाई सुनाउन कुदिहालेको |” म भन्छु |
 
“भोलि कुन बेला हिँड्ने ?”
 
“भरे नै फिस्क हुन्छ |”
 
पैसा, लुगा, ब्याग, कुन-कुन ठाउँ जाने त्यो सबको एक-एक उत्तर दिन्छु | बाइकमा जाने बताउँदा फेरि अनुहार बिगार्छे |
 
“मलाई त डर लाग्यो सब का सब हेबी ड्रिंकर छन् तपाईँका साथी |”
 
“खाएर चलाउँदैनन् |” म सम्झाउँछु |
 
फेरि उसको मोवाइल बज्छ | ऊ उठाएर “आइहाले” भन्दै मबाट छुट्टिन्छे | भोलि कुन बेला हिँड्ने, खबर गर्नु भन्दै |
 
भोलि फेरि हामी बानेश्वरमा भेट्छौं | एउटा झोला ऊ मेरो सामुन्ने राख्दिन्छे |
 
“के छ यसमा ?”
 
“खानेकुरा |”
 
राति धेरै नपिउन सम्झाउन्छे | म हस् भन्छु, ऊ कसम खुवाउछे | झोला ब्यागमा राख्न लगाउँछे, म च्यान खोल्छु | फेरि बित्यास पर्छ, तीन प्याकेट सूर्य चुरोटको डब्बा शुरुमै टल्किन्छ | तर ऊ केही बोल्दिन् | उसलाई थाहा छ, ऊ रिसाई भने मेरो मगज होसमा हुन्न | फेरि टाढाको यात्रामा छु, त्यसैले होला केही बोल्दिन |
 
साथीको फोन आऊँछ |
 
म विदा मागेर हिँड्न खोज्छु | आखिरी पटक हग गर्छु, दुबैजना केही बोल्दैनौ | “बाई” भनेर छुट्टिन्छौ |
 
हाम्रो सम्बन्धले एउटा चरण पार गरिसकेको थियो | जतिखेरै फोनमा झुण्डिनु पर्दैन थियो | पोखरामा होटल छिरेपछि उसलाई सकुसल पुगेको जानकारी दिन्छु | ऊ निदाइसकेकी रैछे |
 
“धेरै नपिउनु होला, भोलि बाइक कुदाउन गार्हो हुन्छ |” ऊ उता हुन्छे, यता केटाहरू दातैले वियरक खोल्दै हुन्छन् |
 
भोलिपल्ट हामी मुस्तांग लाग्छौं | हिँड्ने बेला उसलाई फोन गर्छु | शुभ यात्रा भन्छे  |
 
घुम्दै फिर्दै १० दिनमा मात्र हामी पोखरा आइपुग्छौं | मेरो राम्रो बानी भनौ या नराम्रो ! अक्सर घुम्न निस्किदा म मोवाइलमा झुम्मिन् | क्यामराअघि पनि उभिन्न | मलाई लेन्समा  हैन खुल्ला नयनले दृश्यहरू कैद गर्न मनपर्छ |
 
तीन पटकसम्म पनि फोन उठेन, रिसाइछे सम्झे मनमनै | अहिले चै बीचमा एकपटक गरेको भए हुने रैछ झैँ लाग्छ | फोन नलाग्न सक्छ, मेसेज छोड्दै गर्नु भनेकी थिइ तर मैले मोवाइल अफ गरिदिएँ |
 
केटाहरू चितवन पनि निस्कौं भन्दै थिए तर म मानिनँ | यता मेरो फोन उठिराखेको थिएन | मैले सरी लेखेको म्यासेज पठाए, फेसबुक खोलेर हेरेँ, अनलाइन देखिन | त्यहाँ पनि म्यासेज छोडें |
 
कलंकी आइपुगेपछि एकपटक फेरि फोन गरेँ |
 
हेल्लो, आवाज सुन्नेबितिकै मन हलुग्गो भो |
 
“सरी सुदु !”
 
“कता हुनुहुन्छ ?” मलिन स्वरमा उसले सोधी |
 
“म कलंकी, रेडमडमा निस्क ३० मिनेटपछि |”
 
“आज मिल्दैन |”
 
“भोलि बिहान है त !”
 
“हेरम् !”
 
“सरी भनेँ त ! अझै कत्ति रिसाकी ?”
 
उताबाट केही आवाज आऊँदैन |
 
“मलाई तिम्लाई हेर्न हतार भैसक्यो” म भन्छु |
 
ऊ अझै केही बोल्दिन |
 
“बोलन के ?” म रुन्चे स्वरमा सम्झाउँछु |
 
ऊ फोन काट्दिन्छे |
 
“म रेडमड आऊँदैछु” म्यासेज छोड्छु र केटाहरूलाई छोडेर म बानेश्वोर हुइकिन्छु |
 
क्याफे पुगेर मोवाइल हेर्दा थाहालाग्छ, “५ बजे आऊँछु” म्यासेज पठाकी रैछ | भर्खर साडे तीन भएको थियो, त्यो डेडघण्टा मेरो तनावमा बित्छ |
 
उसलाई पर देख्नेबितिकै म हात उठाउँछु | ऊ उसैगरी थोरै मुस्कानका साथ मतर्फ अघि बढ्छे | म उठेर हग गर्न खोज्छु, ऊ अलि अप्ठ्यारो मान्छे | सामुन्नेको ट्रेमा एक नजर दिएर पनि चुपचाप हुन्छे |
 
म उसको छेउमा बस्छु सरी भन्दै | ऊ मलाई एकोहोरो हेर्छे, म कान समाउँछु | ऊ जबर्जस्ति मुस्कुराउँछे |
 
वेटर आऊँछ |
 
“मलाई केही खान मन छैन |” ऊ भन्छे |
 
अन्त्यमा उसले हर्ट लेमन र म कफी अडर गर्छौँ |
 
“कस्तो भयो त घुमफिर ?”
 
“दाम्मी !” उसको प्रश्न नटुंगिदै उत्तर दिन्छु, “तर अझै एउटा कुरा अपुग भयो |”
 
“के ?”
 
“तिमी”
 
ऊ केही प्रतिक्रिया दिन्न | म आइन्दा त्यस्तो नगर्ने बताउँछु, ऊ केही बोल्दिन |
 
“तिमी किन खुलिरा छैनौ ?” म सोध्छु |
 
ऊ सन्चो नभएको बताउछे |
 
“त्यसो भए हस्पिटल जाऊँ |”
 
“औषधी खादैछु |” ऊ एकोहोरो मलाई हेरिरहन्छे |
 
“यत्रोदिन देख्न नपाएर हो, हेरेको हेरै गरेको ?” म जिस्काउँछु | ऊ मुखछेउ पुर्याएको गिलास हतार-हतार निकालेर हाँस्छे | बल्ल यत्रो समयमा ऊ अलि खुलेको पाउँछु |
 
“म जान्छु, तपाईँ पनि थाक्नु भएको होला ?” ऊ गिलासको आखिरी घुट्को पानी पिउँछे |
 
म एकछिन बस्न भन्छु, ऊ घरमा काम छ भन्दै हतारिन्छे |
 
मुस्ताङबाट उसलाई ल्याइदिएको उपहार दिन्छु, ऊ ‘भोलि लान्छु अहिले घरमा सबै हुनुहुन्छ’ भन्दै पन्छिन्छे  | हामी तल पार्किंगसम्म सँगै आऊँछौं | ‘म गाको ल !’ भन्दै ऊ छुटिन्छे | अलि पर्तिर पुगी  फर्किएर एक द्र्ष्टि दिन्छे |
 
बेलुका सधैँ बोल्ने समयमा फोन गर्छु | तर पहिलो रिंगमै काटिन्छ | बाबा-मामुसँग होली सम्झन्छु | एकछिनमा फेरि गर्छु, त्यस्तै हुन्छ अर्थात फोन काटिन्छ | फेसबुक खोल्छु, उसको नाम देखिदैन | इन्स्टाग्राममा पनि ऊ हुन्न |
 
परीक्षाको बेला प्राय: सबै डीएक्टिभेट गर्थी वा मसँग झगडा परेको बेला निउ खोज्न सबै बन्द गरेर बस्थी | तर एकाएक किन यस्तो गरी ? के अझै मसँग रिसाइरहेकी छ ? म आफैसँग प्रश्न सोध्छु |
 
मुस्ताङबाट ल्याएको पर्पल एज (सबैभन्दा उच्च प्रजातिको गाँजा) तानेर आफूलाई साम्य बनाउँछु |
 
बिहान सबेरै उठेर फोन लगाउँछु | फोन अफ हुन्छ | फेरि सोसियल मिडिया चेक गर्छु, त्यहाँ पनि उसको नामोनिशाना देखिन्न | हतार-हतार बैनीलाई सुदिक्षाको फेसबुक चेक गर्न भन्छु |
 
पीडाले शिखर त त्योबेला छुन्छ, जब बैनीले ‘८ घण्टाअगाडि अनलाइन हुनुहुँदो रैछ’ भन्छे | एकाएक डर पलाउँछ, हतास हुन्छु, अतालिन्छु |
 
के गरौँ र कसो गरौँको दोसाधमा पुग्छु | ठूलै झगडा पर्दासम्म मलाई ब्लक गरेकी थिइन, बरु डीएक्टिभ गर्थी | अझ फोन पनि अफ छ |
 
एकाबिहानै मलाई समालिन गाह्रो हुन्छ | फेरि हिजोकै गाँजा सल्काएर चार-पाँच सर्को तान्छु | बैनीलाई भेट्न बानेश्वर जान्छु |
 
“किन आतिनु भाको यस्तरी ?” उसको जिज्ञासा हुन्छ, “अलि दिउसो हुन् दिनून, तपाईँसँग नबोली कसरी बस्न सक्नुहोला र ?” ऊ सम्झाउँछे, मलाई सान्त्वना मिल्छ  |
 
बैनीकैमा दिनभर बस्छु | थाहा हुँदाहुँदै पनि कयौं पटक नम्बर डायल गर्छु |
 
बैनी मलाई सम्झाउँदै हुन्छे, म मुस्तांगबाट फर्किएदेखि नै उसले अचम्मको व्यवहार देखाएको बताउँछु | “मनमा धेरैकुरा नखेलाउनू न, तपाईँलाई देखेर मलाई टेन्सन भैसक्यो |” ऊ भन्छे | त्यो दिन त्यहीँ बस्छु | भोलिपल्ट पनि दिनभर फोन लाग्दैन |
 
उसकी मिल्ने साथीलाई फोन गर्छु,  ३,४ दिनदेखि सम्पर्क नभएको बताउछे | घर जाने प्रस्ताब राख्छु, तर ऊ व्यस्त छु भन्छे  | म एक्लै जाउँ, देखेको छैन | नजाऊँ, छटपटाहटले खपिनसक्नु हुन्छ |
 
“तिमीसँग उसको घरको नम्बर होला है ?” म सोध्छु |
 
ऊ म्यासेज गर्दिने बताउँछे तर एकघण्टासम्म पनि मोवाइल बज्दैन | फेरि फोन गर्छु, उसले पनि फोन उठाउँदिन | कुरा गडबड छ भन्ने मलाई बोध हुन्छ | भेट्दा उसले गरेको व्यवहार, मैले ल्याइदिएको सामानमा उसले नदेखाएको रुची, एकोहोरो हेरेको हेरै गर्नु अनि फेसबुक र सबै सोसियल मिडियाबाट मलाई हटाउनु |
 
एकाएक मन कुडिन्छ, भक्कानो छुट्न खोज्छ, एकोहोरिन्छु | उठ्छु, बस्छु फेरि उठ्छु फेरि बस्छु, कोठा भित्रै भौतारिन्छु | दिमागमा अनेक कुराले बास गर्छन् | आखिर उसले गर्न खोजेको चाहिं के  हो ? म आफैँसँग सोध्छु |
 
कोठामा पुगेर फेरि त्यहीँ गाँजा तान्छु | नारायण गोपाल घन्काएर लम्पसार पर्छु | मोवाइल बज्छ, म्यासेज आको रैछ | हेर्छु सुदिक्षाकै नम्बरबाट हुन्छ, मेरो ढुकढुकी बढ्छ |
 
“इमेल चेक गर्नुहोला” जम्मा यत्ति लेखिएको हुन्छ |
 
मेलतिर नलागेर म उसलाई फोन गर्छु तर दुई रिंगमै फेरि फोन काटिन्छ | अर्कोपटक गर्दा फोन अफ हुन्छ |
 
भाई चस्मा खोलेर आँखा सफा गर्छन्, सामुन्नेको गिलासमा पानी थप्छन् | कथा सुनाउने क्रममा ऊनी धेरै पटक भक्कानिएका थिए |
 
“मेलमा त्यस्तो के लेखिएको थियो ?” उनलाई गाह्रो भएको बुझ्दाबुझ्दै पनि म सोध्न छोड्दिन |
 
ऊनी मुखले नबोली मोवाइल मेरो सामुन्ने तेर्साउँछन् | जहाँ यस्तो लेखिएको हुन्छ,
 
“मेरो बिहे हुँदै छ | तपाईँलाई धेरैपटक भने, बिहे गरेर विदेश जाऊँ, तर तपाईँ विदेश जान नमान्ने फेरि बाबामामु  मलाई नेपाल राख्न नचाहने | कुरै मिलेन | मैले दुईवर्षे प्रेमको लागि रगतको प्रेममा खटपट ल्याउने हिम्मत गरिन  | मलाई क्षमा गर्नुहुनेछ |  मन बुझाउनुहोला, यो जुनीमा हामीलाई एक हुन् लेखिएको रैनछ | अनि खोज्न बन्द गर्नुहोला, तपाईँको लागि अब म कहिल्यै भेटिने छैन | अर्को महिना हामी अस्ट्रेलिया जाँदैछौं |
 
सुदिक्षा  ………”
 
लेखक "नेपाली सुमन" एवेरेस्ट टक ब्लगमा काम गर्छन I यो लेख एवेरेस्ट टक ब्लगबाट साभार गरिएको हो I