मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

यसरी पोखियो परदेशी आँसु गीतमा

यसरी पोखियो परदेशी आँसु गीतमा


समयले  आखिर मलाई परदेशी बनाई छाड्यो । रमेको थियो मन घरदेशतिरै । उकाली ओराली छिचोल्दै धेरै हिडेँ । पहाड चढे, नदिखोला तरे । लैबरीको भाकामा रमाए । गाउँका पाखापखेरा चहारे । यसरी रमाउदै गर्दा अनायसै बाटो मोडियो । अरुले जस्तै अमेरिका आउने सपना देखे ।  
 
लहैलहैमा इडिभी भर्न लाइन बसे । डिभी परेपछि अमेरिका जान पाइन्छ भन्ने थियो  । चियापसल चौतारी र समारोहमा साथीभाईले अमेरिका पुग्ने सपनाको कुरा गर्थे । फिल्ममा देखिने अमेरिकी ग्ल्यामरको सपना बुन्थे ।  
 
अमेरिका त जिन्दगीमा पुग्नैपर्छ भन्ने खासखुस साथीहरु माझ धेरै हुन्थ्यो । कतिपय कार्यक्रम मिलाएर अमेरिका जाने योजना सुनाउँथे । अमेरिका पुग्ने सजिलो बाटो इडिभीको भाग्य परिक्षा थियो । इडिभि भर्ने बेला आएपछि फारम भर्नेहरुको झुन्डहरुले पनि यसलाई पुष्टि गर्थ्यो । 
 
सामान्य देखि सिद्धहस्त व्यक्तिहरु लाइमा देखिन्थे । लाइनमा देखिने हाइप्रोफाइलका अनुहारले पनि अमेरिकी मोह झर्लङ्ग हुन्थ्यो । 
 
पत्रकारिताको विद्यार्थी मैले अमेरिकी सपना भन्दै डिभीको धेरै हेडलाइन समाचार पनि बनाए । समाचार बनाउँदा बनाउदै आफै पनि डिभी चिट्टा भर्न कस्सिए । इमान्दार भएर भन्नुपर्दा त्यो दिन साथीहरुकै करकापमा डिभी भरेको थिए । त्यसले नै मेरो अमेरिका पुग्ने बाटो बन्ला भनेर सोचिन । जिन्दगीमा कहिल्यै चिठ्ठा नपरेको म बबुरोलाई डिभी पर्ला भनेर कल्पना पनि गरिन । चिठ्ठा खोलेको पनि पत्तै पाइन । पर्ला भन्ने सोचिन र चासो पनि दिइन । झन्डै ११ दिन पछि नेटमा गएर डिभी भरेको कन्फरमेसन नम्बर सर्च गरे ।  
 
डिभी त साँचिकै परेछ । तर मलाई अझै पत्यार लागेन । फेरी दोहोराएर नेटमा सर्च गरे । लौ लोटरी परेको रहेछ । डिभी पर्दैमा अमेरिका जान पाइन्न भन्ने सुनेको थिए । भोली जान पाइएन भने हल्ला मात्रै होला भनेर डिभी परेको कुरालाई गोप्य राखे । सबै विदेश गएर कमाएको देख्दा मेरो घरपरिवारलाई छोरो विदेश गएर कमाईदिओस भन्ने थियो नै ।
 
अमेरिका जाने भयो भन्ने खबरले मेरी आमाको मुहारमा पनि मुस्कान छाएको थियो । अमेरिका ठुलो देश हो भन्ने मेरी आमालाई पनि राम्रै थाहा थियो । कुरा गोप्य राखौ भन्दा भन्दै डिभी परेको हल्ला फैलियो । 
 
बिस्तारै डिभी परेको कुरा साथीभाई इष्टमित्रले चाल पाए । ल छोरो अमेरिका जाने भएछ भन्दै आमालाई बधाई दिन थालेछन् । पत्रकारिताबाटै कार्यक्रमको सिलसिलामा जापान, हङकङ लगायतका देश पनि पुगे ।
 
जापान पुग्दा धेरैले उतै बस्न पनि सुझाए । कतिले मलाई अव फर्किदैन पनि भने । तर खै मैले उता लुकेर बस्न मनस्थिति बनाइन ।  फर्केर आएपछि कतिले जापान गएको मान्छे किन फर्केको भन्दै मलाई जिस्काउन थाले । एउटा पत्रकारिताको ग्ल्यामरको नसा चढेको थियो । 
 
पोखरामा बसेर पत्रकारिता गर्थे । आमा गाउँमा थिइन । मेरो बा को चाहना छोराहरु विदेश गएर कमाई गरुन भन्ने थियो । ३२ वर्ष बाले पनि प्रवासमै बिताए । रिटायर्ड लाइफ पनि बाले धेरै बिताउन पाएनन् आफनो माटोमा । बालाई रोगले थलायो । नियतिले बालाई हामीदेखि धेरै टाढा पुर्यायो।
 
बा गएपछि आमा एक्लै भइन । हामी कामले सहरतिर रुमल्लियो । गाउँमै रमाएकी आमालाई सहर बिरानो लाग्यो । सहरले लोभ्याएन आमालाई हात गोढा चलुन्जेल गाउँमै बस्छु भनिन । कामकाजले हामीलाई सहरतिर हुइकायो । आमा गाउँमा एक्लै थिइन । आमाको साथी भन्नुनै  गोठमा बाँधेको भैसी थियो । 
 
गाउँघर सुनसान थियो । धेरै सहरमुखी भैसकेका थिए । भैसी नपाल्न आग्रह गर्दा आमाले मानिनन् । गोरस खान र भैसी घास पानी गर्न भीरपाखा छिचोलेर हातगोडा स्वस्थ्य बनाउने भन्दै लागिन । आफुले खेलेको ठाउँ परिवेश आमालाई प्यारो भयो । 
 
यता अमेरिका जाने धुनमा म पनि उत्साही थिए । सपनाको देश पुग्न लालयीत थिए । सबैले भाग्मानी भन्दै धाप दिन्थे । म पनि हर्षित नै थिए । लाखौ खर्चेर तल्लोबाटो अमेरिका पुग्नेहरुको दर्दनाक कथा सुनेको थिए । तर डिभी मार्फत सहजै अमेरिका प्रवेश पाउनु एक हिसाबले ठुलै कुरा पनि थियो । अमेरिकाको स्थायी बसोबासको बाटो इडिभीले खुलायो । आखिर सबै प्रकृयापछि अमेरिका जाने दिन पनि नजिकियो । साथीभाईले विदाईका कार्यक्रम गरे । धेरैतिर माला र खादा ओढ्दा भ्याईनभ्याई भयो । 
 
एकातिर  खुशी अर्कोतिर देशनै छाडेर समुन्द्रपारी हिडनु पर्दा मनमा न्यास्रो लाइरहेको थियो । बाको निधनपछि एक्ली भएकी आमालाई झन एक्लो बनाएर हिड्दा मन भक्कानिएको थियो । अन्तर्वाता सकेर भिसा लागेपछि गाउँ पुग्दा आमा छोरो विदेशिनु भयो भनेर धेरै रोएकी थिइन । तर मन कठोर बनाउदै आमा र आमाले टेकेको माटो छाडेर हिडे ।  
  
परदेशिएका दाजुभाईको नियति पनि यस्तै हो । मैले खेलको गाउँको पाखा पखेरा, घरआँगन  र सबै आफन्त साथीभाई छाडेर म हिडे । एक्ली आमालाई झनै एक्लो बनाएर हिडे । 
 
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रवेश गर्नु भन्दा अगाडी नै आमालाई काठमान्डौबाट फोन गरे–‘आमा म जहाज चढे ।’ मैले ढाटे आमालाई । उँडन लाग्दा आमा भक्कानिएर रोलिन भनेर पहिल्यै विमानस्थल नपुग्दै खबर गरे । तर आमा रोएर बाक्य पुरा गर्ने सकिनन् । 
 
‘राम्रैसँग जाउ’ बाबु भन्दै रुदै फोन काटिन । मैले पनि एयरपोर्ट पुगेर आमालाई फोन गर्न सकिन । मन भित्रभित्रै भक्कानियो । एयरपोर्टमा विदाई गर्न आएका दाजुभाई आफन्तको आँखामा आँसु देखेर मन थामिएन । आँसुले आखा भिजाएर देशको माटो छाडे । 
 
सबैले भन्दै आएको सपनाको देश अमेरिका टेके । सबै विरानो र नौलो पाए । सबै छाडेर आएकाले यतै  घुलमिल हुने प्रयासमा लागे । सुरु भयो अमेरिकाको जीवन शुन्यबाट । अझै पनि त्यो क्रम निरन्तर छ । संघर्ष सुरु हुदै थियो । आमाले साता दिनमा फोन गरेर यताको चिन्ता लिइ रहन्थिन । कहिले फोनमा आँसु झार्थिन, कहिले ढाड्स दिन्थिन । यता ल्याउने कुरा आमालाई भनिरहन्थे । आमा पनि उत्साही थिइन अमेरिका आउन ।  
 
२०७४ माघ श्रीपञ्चमीको दिन थियो । नेपालबाट परिचित नम्बरबाट फोन आयो । दाजुको रहेछ । फोन उठाए हालखबर आदानप्रदान भयो । दाजुको एकै बाक्यले म ठुलो छागाबाट बजारिए जस्तो भएँ । 
 
आमाले संसार छाडेर गएको खबर सुने । त्यसपछि अगाडी बोल्न सकिन फोनमा । देश छाडेर परदेश आएको डेढ वर्षमै आमाको अकल्पिनय निधनको खबरले मर्माहत भए । न बा न आमा घरनै रित्तियो । रित्तो संसार हेर्न जान सकिन । यहाँको परिस्थितिले पनि जान सकिन । न सास र न लास केही देखिन आमाको । विदेशमा आएपछि घरपरिवार गुमाउदाको पीडा महसुस गरे । झनै त्यो पीडामा स्वदेश फर्कन नसक्नेहरुको व्यथालाई पनि नियाले । क्यानडा बस्ने मेरा मित्र वसन्त कार्की पनि आफनी आमाको निधनमा स्वदेश फिर्न सकेनन् । समयले उनलाई परदेशी जन्जिरले बाध्यो । यी यस्तै कुराले मनमा भुईचालो गयो । आम विदेशीएका दाजुभाईहरुको परदेशबाट घरदेश फिर्न नपाउदाको कथा नियाले । मन थामिएन । 
 
धेरैको यस्तो पीडा अनि मेरो आफनो व्यथालाई गीतको रुपमा पानामा उतारे । अरुको कथालाई  पनि आफनै बनाएर लेखे । आफुले लेखेको गीतले आफैलाई छोयो । गीत रेकर्ड भएर आएपछि भावविह्वल बनायो । 
 
गायक गायिका पनि गीत गाउदै रोएको सुनाए । गीतको म्युजिक भिडियो नै निर्माण भएर सार्वजनिक भएपछि गीतले रुवायो भन्ने म्यासेजहरु धेरै आए । र अहिले पनि आउने क्रम जारी छ । 
 
गीतको मनसाय अरुलाई रुवाउने भन्दा पनि आमा र देशप्रतिको माया दर्शाउनु पनि थियो मेरो  । आमाबाबा हुनेहरुले जीवित हुदै गर्नुपर्ने कर्तव्य र नहुनेहरुले भोग्नु परेको पीडालाई गीतमा उतारे ।
 
गीतमा देश र गाउको परिवेश पनि बोलेको छ । हाम्रो गाउँघर शुन्य हुदैछ । अहिले गाउँमा बुढाबुढी र गाइबस्तु मात्रै छन् । युवा कोही सहर अनि कोही विदेशतिर छन् । यी यस्तै कथा  समेटेर नै परदेशी हुदा आमाको आँसु जन्मियो । गीत मैले लेखे तर यसमा आर्थिक देखि अन्य जिम्मेवारी बहन गरिदिएर सबैले आमालाई सम्झेर गीतलाई मूर्त रुप दिए । गीतले  गाउँघर देश र आमालाई सम्झदै यस्तो भनिरहेको छ –
 
विदाईको दिन आँसुले आँखा भिजेको पाएथे
वर्षो अघि आमालाई छाडी परदेश आएथे ।
परदेशी हुँदा आमाको आमाको आँशु पुछन् नि पाइएन 
आमाले धरती छाडेर गइन, मुख देख्न पाइएन ………..।