साहित्य / विविध / फिचर

लघुकथा

140 पटक पढिएको

नतमस्तक

रन्जु मार्ग | 18th Feb 2019, Monday | २०७५ फाल्गुन ६, सोमबार १०:१४
'अस्ति तपाइले भनेको फेला परेको छ, 'बुढी आमै फोनमा बिस्तारै बोल्छिन ।
'कहाँ ?' उता खुशी हुदै एक अधबैसे आइमाई बोल्छे ।
'यहिँ तपाइको घर नजिकै हो।'
'त्यसो भए एक पल्ट हेर्न जाउँ न त ।'
'हेर्न मात्र होइन लिने नै हो भने मात्र आउनुस ।'
'पहिला नहेरी कसरि लिन्छु भन्नु ?'
'त्यसो भए अर्को मान्छे खोज्छु ।'
'त्यसो नभन्नुस आमै, बिन्ति छ ।'
'तपाइलाई जस्तै अरुलाई पनि चाहि राखेको हुन्छ।' बुढी आमै घुर्की लगाउँछिन ।
'एक पल्ट त हेर्नुपर्यो नि । लुलो, लंगडो, आँखा नदेख्ने पो छ कि भनेर मात्र ।'
'त्यस्तो भएको भए म तपाईलाई भन्ने थिएँ र ? फेरि तपाई सँग मात्र मैले यो काम गर्न लागेको हो र ? धेरै वर्ष भै सक्यो मैले यस्तो काम गर्न थालेको । आज सम्म कहीं कतै खोट निस्किएको छैन ।'
'ल ल । म आउँछु ।
'मैले भनि सकेको छु । लिने नै हो भने मात्र आउनुहोला ।'
'ओहो, कस्तो बिस्वास नगर्नु भएको होला ।'
'विश्वास भन्दा पनि पक्का काम गर्न खोजेकी हुँ ।
'अनि कति पैसा नि ?'
'२० हजार ।'
'यो त महँगो भएन र ?'
'के को महँगो ? फेरि मैले किन बेच गरेको थोडै हो र ? मैले त राख्दा लागेको खर्च मात्र त भनेको हुँ नि ! मेरो पनि त खर्च लागेको हुञ्छ । कम्ति खर्चालु छैन । कहिले त महिनौ राख्नु पर्छ खुवाएर ।'
'अहँ हुदैन । एउटा हातमा पैसा अर्को हातमा………?    
'ल ल आमै फोन राख्नुस, म आइहालें ।
                  ##
दुबैले फोन राख्छन । त्यो अर्धबैसे आइमाई बुढी आमै बसेको कोठा तिर लाग्छे । दुवै जनाको भेट हुन्छ ।
'पैसा पछि दिँदा हुदैन ?'
'अहँ हुदैन । एउटा हातमा पैसा अर्को हातमा ……..?
'त्यसो नभन्नुस न ,अहिले म सँग तपाइले भने जति पैसा छैन, बरु यो कागज छ ।'भन्दै त्यो अर्धबैसे आइमाइले झोलाबाट एउटा कागज निकाल्दै दिन्छे ।
'यो के हो ?' बुढी आमै यता उता हेर्दै सोध्छिन ।'
'यो वकिलले लेखि दिएको कागज हो । यसमा मेरो सबै सम्पति त्यहि बच्चाको नाममा गरि दिएको छु।
सम्पति बच्चाको नाममा ? बुढी आमै अचम्म मान्छिन । केहि छिन मौन हुन्छिन ।
'किन चुप लाग्नु भयो ? विश्वास लागेन ?‘ अर्धबैसे आइमाई सोध्छे ।
'छोरा बुहारीको बच्चा नभएको १० वर्ष भैसक्यो । मान्छेहरु भन्छन छोराको अर्को बिवाह गरिदेउ । तर म आमा कसरी आफ्नो छोराको टाउकोमा दुईवटा नाम्लो लगाई दिउँ ?’ 
पैसा सम्पति के हो र छोराबुहारीको खुसीको अगाडी ?’
‘तपाइको आँखामा आँसु ?’ बुढी आमाको आँखा रसाउछ
‘तपाई महान सासु हुनुहुन्छ। 
तर तपाई पनि महान हुनुहुन्छ नि बच्चा नहुनेहरुको लागि बच्चा जुटाई दिनु हुन्छ ।' ती बुढी आमै नतमस्तक भईन र चुपचाप शिशु राखेको घरतिर उसलाई लिएर गइन ।