मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेविसंघको तदर्थ समिति बनाइँदै

नेविसंघको तदर्थ समिति बनाइँदै


काठमाडौँ । नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी सङ्घको केन्द्रीय समिति गठन गर्न सक्ने निर्णय गरेको हो ।
 
गत माघ २ गते कार्यकाल समाप्त भएसँगै संघको केन्द्रीय समिति हाल विघटित अवस्थामा छ । संघका अध्यक्ष नैनसिंह महरले गत माघ २८ गते पदबाट राजीनामा दिएका थिए र सोही दिन उनको राजीनामा स्वीकृत भएको थियो । 
 
बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा पार्टीको महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव सुझावसहित परिमार्जन गरी पेश गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
कांग्रेसको महासमिति बैठक गत मंसिर २८ पुस ८ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो । साथै भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घ र शुभेच्छुक संस्था प्रजातान्त्रिक वन प्राविधिक सङ्घ–नेपालद्वारा स्वीकृतिका लागि पठाइएको विधान छलफलका लागि बैठकमा पेश भएको छ । 
 
बैठकमा आज केन्द्रीय सदस्य बालकृष्ण खाण, रमेश रिजाल, महेन्द्र यादव, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, बहादुर सिंह (लामा) तामाङ, लक्ष्मी परियार, अमृत अर्याल र अतहर कमाल मुसलमानले आ–आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही फागुन ९ गते दिउँसो १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।