मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्छ : डा भट्टराई

संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्छ : डा भट्टराई


गोरखा । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताका प्रतिनिधिले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् । 
 
गोरखाको पालुङटारमा आज स्थानीय जनप्रतिनिधिसँगको छलफलमा डा भट्टराईले जनताले मत दिएर जिताएकाले उनीहरुको भावना बुझ्न नसके देशको समृद्धि हुन नसक्ने बताए । 
 
पूर्वपश्चिम जागरण अभियानका क्रममा गोरखा आइपुग्नुभएका उहाँले नेपाली जनताको चाहना विकास र समृद्धि भएकाले सबैले इमान्दारिता साथ आफूले गरेको प्रतिबद्धताअनुसार काम गर्नुपर्नेमा जोड दिए । “सुशासन र विकास निर्माणका लागि सबै प्रतिबद्ध भए देशको विकास गर्न गाह्रो छैन,” डा भट्टराईले भने, “यहाँ सबैमा इमन्दारिताको खाँचो छ ।” 
 
नेपाली जनताको त्याग र बलिदानबाट नेपालमा गणतन्त्र आएकाले शहीदले देखाएको बाटो भुल्न नहुने उनको भनाइ थियो । तत्कालीन नेकपा माओवादीले शुरु गरेको १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट अहिलेको परिवर्तन सम्भव रहेको डा भट्टराईले बताए । 
 
जनयुद्धको राजनीतिक नेतृत्व गर्ने अवसर पाएकामा आफूलाई गर्व लागेको र त्यही आन्दोलनका कारण नेपालमा राजतन्त्रको अन्त्य सम्भव भएको उनले बताए । जनताको भावना र चाहना बुझ्न मध्यपहाडी लोकमार्ग जागरण अभियानमा हिँडेको डा भट्टराईले बताए ।