मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चितवन निकुञ्जमा ८८ हजार पुगे पर्यटक, १५ करोड राजश्व उठ्यो

चितवन निकुञ्जमा ८८ हजार पुगे पर्यटक, १५ करोड राजश्व उठ्यो


चितवन – चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको शुरु छ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका छन् ।
 
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ हजार १५१ पर्यटकले निकुञ्ज घुमेका छन् । जसमध्ये १८ हजार ७३४ नेपाली, १० हजार ३३८ सार्क मुलुकका र ५९ हजार ७९ सार्कबाहेकको देशका रहेका छन् । गत वर्षको पुस मसान्तसम्ममा ६७ हजार १२३ पर्यटकले निकुञ्ज घुमेका थिए ।
 
घिमिरेका अनुसार चालु आवमा शुरु छ महीनामा रु १५ करोड एक लाख १५ हजार ७८३ राजश्व सङ्कलन भएको छ । गत आव भरमा रु २३ करोड ७३ लाख ६३ हजार ९६३ राजश्व सङ्कलन भएको थियो । गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए ।
 
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पर्यटक बढेसँगै राजश्व पनि बढेको बताए । भूकम्प र नाकाबन्दीपछि ओरालो लागेको पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
 
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले नारायणगढ मुग्लिन सडक खण्ड राम्रो भएसँगै पर्यटकको आगमन उत्साहजनक देखिएको बताए ।
 
यस आर्थिक वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको भन्दै उनले पर्यटकीय गन्तव्य थप गर्ने विषयमा सरोकारवालाहरू लागि रहेको बताए । निकुञ्जमा दुर्लभ एक सिंगे गैँडा, पाटेबाघ, गोही जस्ता जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् ।
 
यसैबीच निकुञ्जले सौराहामा सङ्कलन हुने राजश्व सोही ठाउँमा रहेको कृषि विकास बैंकको सौराहा शाखामा सङ्कलन शुरु गरेको छ । प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार कुल सङ्कलन हुने राजश्वमध्ये ८० प्रतिशत सौराहामा सङ्कलन हुँदैआएको छ ।