मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आन्द्रा र रक्त क्यान्सरका बिरामी दाताको भरमा

आन्द्रा र रक्त क्यान्सरका बिरामी दाताको भरमा


चितवन । एउटा सामाजिक संस्थाले देशका ६३१ जना बिरामीको जीवन बचाइरहेको छ । धेरैलाई त्रास दिलाउने क्यान्सर रोगबाट ग्रसित बिरामीलाई निकै महङ्गो औषधि निःशुल्क दिएर ‘म्याक्स फाउण्डेसन’ नामक बिदेशी संस्थाले उनीहरुको जीवन बचाइरहेको हो । 
 
सन् २००४ बाट सो संस्थाले यहाँको क्यान्सर अस्पतालसँग सहकार्य गरेर औषधि वितरण गरिरहेको छ । सन् २०१८ मा मात्रै रु एक अर्ब ३६ करोड ४७ लाख ५० हजार ५९८ बराबरको औषधि निःशुल्क उपलब्ध गराएको हो । रक्त क्यान्सर र आन्द्रको क्यान्सर भएका एक हजार २२ जनालाई सो औषधि खुवाइसकिएको छ । उनीहरुमध्ये हाल सम्पर्कमा रहेका ६३१ जनाले अहिले औषधि खाइरहेका छन् । 
 
अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार ती बिरामीलाई इमाटिलिब, निलोटिनिब र डासाटिनिब नामक औषधि दुईदुई महीनामा निःशुल्क दिइँदै आएको छ । आचार्यका अनुसार शुरुको दिनदेखि नियमित औषधि खाइरहेका पाँच जनाले अहिले पनि नियमित औषधि खाइरहेका छन् । 
 
निकै महङ्गो औषधि हुने भएकाले आफैँले खरीद गरेर खाने अवस्था अधिकांशको छैन । एक जनाले एक महीनाका लागि यो औषधि खान रु सात लाख खर्च हुने गर्दछ । सोही औषधि निःशुल्क पाएर क्रियाशील जीवन बिताइ रहेका उपसचिव विष्णुप्रसाद पौडेल सामाजिक संस्थाले आफ्नो जीवन बचाइरहेको बताउँछन् । 
 
भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुर निवासी पौडेल डिभिजन वन कार्यालय चितवनको प्रमुख हुन् । नियमित काममा लागिरहने पौडेल विगत १६ वर्षदेखि सोही औषधि सेवन गरिरहेका छन् ।
 
शुरुमा उनी उपचारका लागि भारतको मुम्बइमा रहेको टाटा अस्पतालसम्म पुगे । त्यहाँको उपचारपछि नेपाल फर्केर उनले म्याक्स फाउण्डेसनले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि अहिलेसम्म पनि खाइरहेका छन् ।
 
सो औषधि नियमित खानुपर्ने हुन्छ । एक महीनाका लागि औषधि किन्दा करीब रु सातदेखि १० लाखसम्म खर्च हुने उनले बताए । आफूले यो औषधि सन् २००२ बाट खान शुरु गरेको बताउँदै पौडेलले जीवनमा हरेस नखाने र आत्मविश्वास बढाउने हो भने बाँच्न सकिने बताए । 
 
झापाका २९ वर्षीय दीपक कार्कीलाई पनि रक्त क्यान्सर देखिएको छ । आजभन्दा करीब १२ वर्षअघि उहाँमा यो रोग देखाप¥यो । उनले पनि नियमित औषधि सेवन गरेर नै रोगको निराकरण गर्दै आएका छन् ।
 
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज आयोजना गरेको रक्त क्यान्सर तथा आन्द्राको क्यान्सरका बिरामीबीचको मिलन कार्यक्रममा सहभागी हुन आएका कार्की अहिले आफूले अन्यले सरह काम गर्नसक्ने अवस्थामा पुगेको बताए ।
 
आफूलाई अहिले गाउँ समाजले हेर्ने दृष्टिकोणमा पनि केही परिवर्तन भएको उनको भनाइ छ । दैनिक चार चक्की औषधि सेवन गर्ने गरेको बताउँदै उनले शुरुआती समयमा औषधिले केही समस्या देखाए पनि अहिले त्यस्तो केही नभएको बताए । निःशुल्क औषधिकै कारण आफू बाँचिरहेको उनको भनाइ छ । 
 
क्यान्सर रोग लाग्नेबित्तिकै आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै उनले सामान्य ज्वरो आउने र रोकिने प्रक्रिया जारी रहेमा अस्पतालमा आएर उपचार गर्नसमेत सबैलाई आग्रह गरे । धरानका भरत ताम्राकार आफ्नी श्रीमतीले १७ वर्षदेखि औषधि खाँदै आएको बताउँदै अहिले समस्या नरहेको बताउँछन् ।
 
उनले भने, “औषधि पनि खाइराखेका छौँ र नियमित परीक्षणमा पनि आइराखेका छौँ । खै त्यस्तो समस्या आएको छैन ।” औषधिले रोगसँग लड्ने क्षमतामा वृद्धि गरेको उनको भनाइ छ । 
 
औषधि नियमित खाने र दुई महीनामा एकपटक परीक्षणका लागि अस्पताल आउने गरेको उनले बताए । शुरुआती समयमा नै रोग देखिएमा निकोसमेत हुने उनको भनाइ थियो । भरतपुर महानगरपालिका वडा नं २७ दिव्यनगरकी १२ वर्षीया निस्मा महतोले आफूलाई रोग लागेको छ भन्ने जस्तो नलाग्ने बताए । आफूलाई १० वर्षको उमेरमा रक्तक्यान्सर देखिएको भए पनि औषधि खाँदै आएको उनले बताए । 
 
उनले भने, “नियमित परीक्षण र औषधि लिन आउने क्रममा मात्र आफूलाई क्यान्सर भएको हो भन्ने लाग्छ ।” सबैले निःशुल्क औषधि पाएकै कारण जीवन जिउन पाएको बताएका छन् । क्यान्सर अस्पताललाई म्याक्स फाउण्डेशन मुम्बइले यो औषधि निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ । 
 
सो अवसरमा फाउण्डेसनको दक्षिण एशिया प्रमुख विजी बेङ्कटेसले क्यान्सरसँग लडिरहेका बिरामीलाई एक्लो महसुस नगर्न र आफूहरु पनि साथमा रहेको बताए । कार्यक्रममा म्याक्स फाउण्डेसन नेपाल प्रतिनिधि स्वेता अग्रवाल, अस्पतालका कार्यकारी निर्देशक आचार्य, डा जया श्रेष्ठलगायतले बोलेका थिए । यहाँको क्यान्सर अस्पतालमा नेपाल र भारतका विभिन्न क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् । रासस