मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले जनचाहना पूरा गर्न सकेन : नेता नेपाल

सरकारले जनचाहना पूरा गर्न सकेन : नेता नेपाल


हेटौँडा । नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाइको सरकार रहेको परिस्थितिमा सरकारबाट कमजोरी हुन नहुने र भएकालाई सुधार गर्नुपर्ने बताएका छन् । 
 
न्यूज क्लब हेटौँडाको आयोजनामा आज भएको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले कार्यदलको सुझाव र पृष्ठपोषणलाई पालना गरेको खण्डमा सरकारले उपलब्धि हात पार्ने बताए । उनले भने, “पक्कै पनि सरकारले जनचाहना पूरा गर्न सकेको छैन, कमीकमजोरीलाई सुधारेर जानुको विकल्प छैन ।”
 
नेकपा एकीकरणको सन्दर्भमा बोल्दै नेता नेपालले छिट्टै नै पार्टीको एकीकरण कार्य सकिने बताउँदै गोजीबाट निकालेको व्यक्तिले एकीकृत सङ्गठनको नेतृत्व नपाउने धारणा राखे । दुवै पार्टीका वरिष्ठले प्राथमिकता पाउने र कनिष्ठले कम प्राथमिकता पाउने उनको भनाइ थियो । नेपालले अबको केही समयभित्र नेकपाको सबै तहमा एकीकरण हुने कुरामा ढुक्क हुन अनुरोध गरे । 
 
सङ्गठनको निर्माण ढिला हुँदा काममा समस्या भएको भन्दै पूर्वप्रधानमन्त्री नेपालले सबै तहको सङ्गठनलाई चुस्तदुरुस्त बनाउनु आजको आवश्यकता भएको बताए । तिनै तहको सरकारमा नेकपाको बहुमत रहेकाले जन चाहनाअनुसार काम गर्न जनप्रतिनिधिलाई अनुरोध गर्ने गरेको भन्दै नेता नेपालले जनता के चाहन्छन् त्यसको ख्याल गर्नुपर्ने बताए । 
 
“जनता सार्वभौम सम्पन्न छन् उनीहरुको चाहना पूरा हुनुपर्छ”, उनले भने । पछिल्लो समय नेकपाका नेताबीचमा खटपट आएको हो भन्ने प्रश्नमा नेता नेपालले केही समस्या भए पनि मिडियामा आएजस्तो गम्भीर मतभेद र समस्या नरहेको बताए ।