विचार / ब्लग

अमेरिकामा नेपालीहरुको प्रमुख समस्या-जेनेरेसन ग्याप

1013 पटक पढिएको

– विजयराज भट्टराई

12th Feb 2019, Tuesday | २०७५ माघ २९, मंगलवार ०९:४५
आज भन्दा ३० बर्ष अघि म कलेज पढ्न गाउँबाट काठमाण्डौ छिरेको थिएँ । त्यस समय म जस्ताको लागि डेरा खोज्नु, बसको रुट थाहा पाउनु, बाटोघाटो चिन्नु नै चुनौती थियो। काठमाण्डौ ठूलो शहर भएपनि मरेको आत्मीयताले निसास्सिएको महसुस हुन्थ्यो तथापी उज्वल भविष्यको सपनाका सामु ती असहजताहरु गौण बन्थे।
 
सुरूवाती बर्षहरु त्यस्तै असहज छ अमेरिकामा। भाषागत ज्ञानको अभाव, कानूनी ज्ञानको अभाव, बढ्दो प्रविधिको उपभोगमा कठिनाई स्वाभाविकै भए पनि यी नजानेको कुरालाई जानेको छैन भनेर स्वीकार्ने शक्ति अभावका कारण अमेरिका पहिलो पुस्ताको निमित्त झन असहज बन्दैछ ।
 
अमेरिका अवसरै अवसरको देश हो। छोरा-छोरीको भविष्यको नाममा पहिलो पुस्ताले ठूलै त्याग गरे पनि दोश्रो पुस्ताको भावना बुझ्न नसक्दा यो दोश्रो पुस्ताको हुर्काइसँगै पहिलो पुस्ताको निमित्त चुनौति बढेको छ। 
 
के हो पहिलो र दोश्रो पुस्ता?
नेपालमै जन्मे, हुर्के र पढेर अमेरिका आई यतै बसोबास गरेका नेपालीहरुलाई पहिलो पुस्ता भनिन्छ भने पहिलो पुस्ताका नेपालीहरुबाट अमेरिकामै जन्मेका वा नेपालमै जन्मे पनि बाल्यावस्था मै आएकाहरुलाई दोश्रो पुस्ता भनेर चिनिन्छ।
 
पहिलो पुस्ता अमेरिकी नागरिकतै लिए पनि अमेरिका भन्दा बढी नेपाललाई माया गर्छ। छोराछोरीको पढाइलेखाई सकेर, बिहेदान गरेर नेपाल फर्किने योजना सुनाउँछ। नेपाली समाचारमै रमाउछ, नेपाली राजनीतिमै चासो राख्दछ। 
दोश्रो पुस्ता अाैसत १०/१२ घण्टा अमेरिकन वा दोश्रो पुस्तासँग बिताउदछन। अमेरिकन भाषा, साहित्य, संस्कृति, रितिरिवाजमा हुर्कन्छ अनि स्वाभिमान र स्वतन्त्रता मा विश्वास राख्दछ, हरेक कामको इज्जत, नियम–कानूनको पालना गर्दछ। अंग्रेजीलाई मातृभाषा ठान्दछ। 
 
साधारण रहनसहनका कुरामा पनि पहिलो पुस्ता सभ्यताको कुरा गर्छ भने दोश्रो पुस्ता सहजता मन पराउँछ। अमेरिकामा नेपालीहरुको दोश्रो पुस्ता चलिरहेको छ, तर पहिलो पुस्ता स्थापित र अगुवा छ।   
 
धर्म, संस्कृति, रीतिरिवाजले बढाएको दूरी:
पहिलो पुस्ता चाहन्छ दोश्रो पुस्ताले हाम्रो धर्म, संस्कृति, रीतिरिवाजलाई हुबहु अंगालोस। दोश्रो पुस्ता चाहन्छ पहिलो पुस्ताले हाम्रो भाषा सिकोस, भावना बुझोस् र अमेरिकन संस्कृति, रीतिरिवाजलाई सहज स्वीकार गरोस। यही सोचाइ बीचको भिन्नताको शीत युद्ध नै घरघर भित्रको चुनौती बनेको छ।
 
अमेरिकन चाडपर्वको सार्वजनिक बिदा पछि स्कूल फर्कदा नेपाली बालबालिकासँग उत्साहित भएर सुनाउने कथा कम हुन्छन । घरमा नेपाली चाडपर्व झैँ उत्साह पूर्वक अमेरिकन चाडपर्व मनाइदैन र मनाउने वातावरण नै बनाइदैन। यसले केटाकेटीहरुलाई अभिभावक बाट अप्रत्यक्ष रुपमा टाढा बनाउदै लाग्छ।
 
अमेरिकी पारिवारिक कानूनको जानकारीको अभाव :
अमेरिकी कानूनका धेरै सामान्य घरायसी कानूनहरु छन्। १३ बर्ष भन्दा कम उमेरका बच्चाहरुलाई घरमा एक्लै छोड्न पाइदैन, पति–पत्नी झगडा गर्न पाइदैन, सिंगल बेड अपार्टमेन्टमा तीन जना भन्दा बढी बस्न पाइदैन, ९ बर्ष भन्दा बढी उमेरका छोराछोरीलाई एउटै कोठामा राख्न पाइदैन, छरछिमेकीलाई असर पर्ने गरि हल्ला गर्न पाइदैन, हात हालेर कसैसंग झगडा गर्नु हुँदैन इत्यादि। 
 
बिशेष गरेर केटाकेटीको हकमा सामान्य कुराको अबहेलनालाई पनि ठूलो गल्तीको रुपमा अमेरिकी कानूनले व्याख्या गरेको छ। आफ्नै हुन् भनेको मानेनन भनेर पिट्न पाइदैन। तपाईको बच्चाले घरमा बाबुआमाले आफूलाई पिटेको कुरा स्कूलमा शिक्षक वा साथीहरु संग भन्यो पनि उनीहरुले सीपीएस (चाइल्ड प्रोटेक्सन सर्भिस) लाई खबर गर्दिन्छन। 
 
यस्तो अवस्थामा सीपीयसले तपाईको बच्चालाई लिएर जान्छ र तपाई माथि अनुसन्धान शुरु गर्छ। अभिभाबको बच्चाप्रतिको ब्यबहार अनुसार २४ घण्टा देखि १६ बर्षको नहुन्जेल सम्मको निमित्त उसैले हुर्काउने गरि लिएर जान्छ। यी कानूनको जानकारी नपाएर अथवा अवहेलना गरेर सन् २०१६ मा मात्र २,७६५ बच्चाहरु सीपीएस को संरक्षणमा पुगेका थिए जसमा नेपाली बच्चाहरु पनि रहेको तथ्याङ्क छ। 
 
अभिभावकको बाध्यता र अनविज्ञताः  
शैक्षिक प्रणालीको बारेमा अज्ञानता, भाषागत ज्ञानको अभावका कारण धेरै अभिभावकहरु आफूलाई कमजोर महसुस गर्दछन र बच्चाहरुको स्कूल जान, शिक्षकहरुसँग भेटघाट गर्न असहज ठान्दछन। छोराछोरीको हमवर्क, स्कूल वर्कका बारेमा चासो राख्न अप्ठ्यारो मान्दछन। यी कुराहरु आफूले प्रत्यक्ष चासो राख्न नसके कोही सहयोगीका साथ (ट्यूटर वा अन्य) भएपनि केटाकेटीको पढाईमा प्रत्यक्ष सहभागी हुनुपर्दछ अन्यथा सम्बन्धको बिचलन मात्र हैन अमेरिका बसाइको उद्देश्यमै प्रभाव पर्दछ।    
 
त्यसैगरि यी आवश्यकता पूरा गर्न कतिपय अभिबाकहरु धेरै घण्टा काम गर्न, स्कूल जाने बच्चा भएका अभिभावकहरू छुट्टाछुट्टै समयमा काम गर्न पनि बाध्य हुन्छन। यसरी बच्चासँग एउटा प्यारेन्ट्स मात्र हुँदा प्यारेन्ट्सको बच्चा प्रतिको जिम्मेवारी झन् कमी रहने मेरो अध्ययन छ। यस्तो अवस्थामा प्यारेन्ट्सहरु बढी आफ्ना लागी रमाइला गतिविधिमा (फोन, सामाजिक संजाल, सिनेमा, सिरियल इत्यादी) संलग्न रहने र बच्चालाई इलेक्ट्रोनिक्समा भुल्याउने देखिन्छ।
 
यस्ता सामान्य कुराहरुले पारिवारिक भलाकुसारी कम हुने हुँदा अभिबाकहरु र केटाकेटीहरु बिचको आत्मीयतामा कमी आएको मानोविश्लेषकहरुको भनाइ समेत छ।
 
नेपाली परिवारमा आर्थिक अभावका कारण संकट परेको घट्ना अपवाद बाहेक नगण्य छन। बरु धेरै पैसा कमाउन धेरै काम गर्ने, सधैँ काम गर्ने कारणले बालबच्चाहरुले सही गाइडेन्स नपाएर बिग्रिएका भने प्रसस्त घट्नाहरु पाइन्छ।  
 
परिवर्तनको आत्मसाथको दूरी भिन्नता :
बिशेष गरेर प्रबिधि क्षेत्रको बिकासको गति अति नै तीब्र छ। दोश्रो पुस्ता प्रबिधिसँगै आफूलाई अघि बढाइरहेको छ। पहिलो पुस्ता यसमा निकै पछि छ। तर दुखको कुरा के छ भने पहिलो पुस्ता न त आफ्नो कमजोरी महसुस गर्न सक्छ न त अघि बढ्दो प्रविधिलाई पछ्याउन। नजानेको कुरा जान्दिन भन्नु र सिक्न खोज्नुको साटो झन लुकाउन खोज्नुले पहिलो पुस्ता र दोश्रो पुस्ता बिचको दूरी झन् बढ्दो छ।
हातमा आइफोन एक्स म्याक्स र ग्यालेक्सी ९ बोकेको प्यारेन्ट्सले फेसबुक, म्यासेन्जर, भाइबर र टक गर्न मात्र प्रयोग देखेपछि छोराछोरीले आदर्श र ब्यबहार बिचको भिन्नता सहजै बुझ्दछन र यी सामान्य कुराहरुले बाबुआमालाई टेर्न छोडछन।
 
दोश्रो पुस्ताका धेरै नेपाली केटाकेटीहरु यूनिभर्सिटी जाने, बिबाह गर्ने उमेरका भैसके। यो अर्को नयाँ चुनौती बन्दै गएको छ नेपालीहरु माझ। दोश्रो पुस्ता आफ्नो करियर, अध्ययनको बिषय, यूनिभर्सिटीको छनौट आफै गर्न चाहन्छ । तर पहिलो पुस्ता आफ्ना छोराछोरीले आफ्नो रोजाई अनुसार गरुन भन्ने चाहना राख्दछन। यो समस्या धेरै घरहरुमा पाइन्छ।
 
अर्को अत्यास लाग्दो समस्या त 'डेटिङ्ग तथा स्पाउस सेलेक्सन' हो।  यो अमेरिकाको प्रमुख संस्कृति हो, आफ्नो जीवन साथी आफैँ खोज्ने। अमेरिकाको स्कूले जीवनकै सवैभन्दा ठूलो इभेन्ट्स नै प्रोम हो। यो कक्षा १२ को अन्तमा आयोजना गरिन्छ। हरेक केटाले केटी साथी र केटीले केटा साथी लिएर मात्र यस इभेन्ट्समा सहभागी हुन् पाउछन।
 
दोश्रो पुस्ताको यो प्रमुख इभेन्ट्समा पहिलो पुस्ताले चासो पनि राख्दैन वा राखेपनि सहज स्वीकार्दैन। अझ छोरीका बाबुआमाले त यो इभेन्टस्लाई वाहियात नै मान्दछन। अझ छोरीहरुको सन्दर्भमा त नेपालमा भन्दा कम स्वतन्त्रा रहेको गुनासो गर्दछन। यी र यस्तै कारणले दोश्रो पुस्ता दोहोरो चपेटामा परेको छ। 
 
दोश्रो पुस्ताको आकाँक्षा :
दोश्रो पुस्ता चाहन्छ घरमा उनीहरुको मूल्य, मान्यताले उचित स्थान पाउनु पर्दछ। समय संगै बद्लिएको प्रबिधि र त्यससंगै बद्लिएको परिस्थितिलाई पहिलो पुस्ताले सहज स्वीकार्नु पर्दछ। छोराछोरीहरुले उनीहरुका अमेरिकन वा अन्य बिदेशी साथीहरु लिएर घर आउदा वेलकमिङ बातावरण हुनुपर्दछ। छोराछोरीका बीच लैङ्गिक भेदभाव सकेसम्म हुनुहुदैन। 
 
हाइस्कूल, कलेज पढ्ने छोराछोरीलाई नियन्त्रण गर्ने भन्दा पनि सम्झाउने बुझाउने मात्र गर्नु पर्दछ। एउटा बच्चालाई अर्कोसँग तुलना गर्दा आफ्नो बच्चाले हेपिएको महसुस गर्दछ। त्यस्तो गर्न दिनु हुदैन।
 
अन्तमा, उम्रदैका तीनपात भनेझैँ दोश्रो पुस्ता पहिलो पुस्ता भन्दा निकै अघि देखिए पनि, अवसरै अवसरमा हुर्किए पनि उनीहरुको आफ्नै पुस्तासँगको प्रतिस्पर्धात्मक चुनौती निकै छन्। तसर्थ उनीहरुको मूल्य, मान्यतालाई दवाएर हैन, नमिलेको भए सच्याएर अघि बढ्न प्रेरित गर्नु पर्दछ। बाबुआमाले पूरा गर्न नसकेको सपना साकार पार्ने माध्यम बनाइनु हुँदैन छोराछोरीलाई। उनीहरुकै चाहना, सपना साकारको सहयोगी बन्नु पर्दछ।
 
(लेखक एशोसिएसन  अफ नेप्लिज इन द अमेरिकाजको महासचिव हुनुहुन्छ)