मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्रीमतीपीडित पुरुष सम्बन्धविच्छेदका लागि अदालत धाउँदै

श्रीमतीपीडित पुरुष सम्बन्धविच्छेदका लागि अदालत धाउँदै


पाल्पा । श्रीमान्बाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमतीपीडित पुरुषहरू पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् ।
 
श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन् । विविध कारण देखाउँदै पुरुष स्वयं जिल्ला अदालतमा न्यायका लागि जान थालेका हुन् । 
 
विशेषगरी वैदेशिक रोजगारमा रहेका श्रीमान् श्रीमतीपीडित भएको भन्दै न्यायको उन्मुक्तिको बाटो खोज्दै अदालतमा पुगेका छन् । वैदेशिक रोजगारीका क्रममा श्रीमती परपुरुषसँग सम्बन्ध स्थापित गर्नु, वैदेशिक रोजगारीमा कमाएको धन हिनामिना गर्नुजस्ता कारण देखाउँदै पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको पाइन्छ ।
 
चालु आर्थिक वर्षको छ महीनाको अवधिमा जिल्लामा सम्बन्धविच्छेदका १२२ मुद्दा दर्ता भएकोमध्ये ८७ महिला र ३५ पुरुषले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत पाल्पामा पुगेर मुद्दा दर्ता गराएका छन् । हुन त यो तथ्याङ्कले पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर बढी देखिन्छ । तर जिल्लामा हिजोको अवस्था र अहिलेको अवस्थालाई हेर्दा सम्बन्धविच्छेदका लागि पुरुषको सङ्ख्या धेरै बढ्दो छ । 
 
नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका मुद्दा लिएर पुरुष जिल्ला अदालत धाउन थालेका हुन् । भदौ १ गतेबाट नयाँ मुलुकी संहितासम्बन्धी ऐन प्रचलनमा आएपछि पुरुषले पनि अदालतमा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउन पाइने व्यवस्था छ । सोहीअनुसार सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउन जाने गरेका छन् ।
 
पुस मसान्तसम्म दर्ता भएका १२२ मुद्दामध्ये ५९ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालत पाल्पाका तहसीलदार भेषराज खनालले जानकारी दिनुभयो । दर्ता भएका मुद्दामध्ये ६३ फछ्र्यौट हुन बाँकी छ । गतवर्ष जिल्लामा १३३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो । महिलाहरू मानसिक यातना, घरेलु हिंसा, अपहेलनाजस्ता समस्या लिएर मुद्दा दर्ता गराउन पुग्ने गरेको कार्यालयले जनाएको छ ।