मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जिपी अस्पताललाई प्रतिष्ठान बनाउन नेता पौडेलको आग्रह

जिपी अस्पताललाई प्रतिष्ठान बनाउन नेता पौडेलको आग्रह


दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सरकार समक्ष आग्रह गरेका छन् । 
 
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित उपचार केन्द्रको आज अवलोकन गर्दै वरिष्ठ नेता पौडेलले यसअघिको सरकारले प्रतिष्ठान बनाउने निर्णय गरिसकेकाले उक्त निर्णय कार्यान्वयन गर्न माग गरे । 
 
उनले भने, “तत्कालिन देउवा नेतृत्वको मन्त्रिपरिषद्बाट नाममा सुधार गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने निर्णय भएको छ । वर्तमान सरकारले उक्त निर्णयलाई कार्यान्वयन गरोस् ।” 
 
नेता पौडेलले तत्कालीन समयमा सम्बन्धित मन्त्रीले चासो नदिएकाले पनि निर्णय कार्यान्वयन हुन नसकेको बताए । नेपाली काङ्ग्रेसको आन्दोलनका कारण उपचार केन्द्र सङ्घीय सरकार मातहत रहन सफल भएको पौडेलले बताए । 
 
अस्पताल भनेको सबैको साझा भएकोले यसलाई सुधार गरेर प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । सो अवसरमा नेता पौडेलले उपचार केन्द्रको नाममा रहेको जग्गाको अवलोकन गरे । 
 
काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले अस्पतालको नामको विषयमा अब अल्झिनुभन्दा जनतालाई सर्वसुलभ सेवा दिनुपर्नेमा जोड दिए । उपचार केन्द्रका निवर्तमान सदस्य शेषमणि आचार्यले नामकरणको विषयमा कुनै मदभेद नरहेको स्पष्ट पार्दै अस्पतालमा भएको समस्या केन्द्रीयस्तरमा बसेर टुङ्ग्याउन वरिष्ठ नेता पौडेलसँग आग्रह गरे । 
 
अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले एक हप्ताभित्र अस्पताललाई ५० शय्याको बनाउन लागिएको जानकारी दिए ।