मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर सुरु

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर सुरु


चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)लाई आइतबार यहाँ स्वागत गरिएको छ । 
 
भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी ¥यालीका साथ निर्माणस्थल रामपुर पु¥याइएको थियो । रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष सीतारामले जिल्लामा बन्ने रङ्गशाला नेपालको गौरव हुने बताए । 
 
उनले चितवन र समग्र नेपाललाई नै विश्वसामु चिनाउन रङ्गशाला महत्वपूर्ण हुने बताए । उनले तोकेकै समयमा रङ्गशाला निर्माण सम्पन्न गरिने जानकारी गराए । फाउण्डेशनका उपाध्यक्ष कुञ्जनाले सबैको साथ र सहयोगका लागि आह्वान गरे । सरकारले यो महान् अभियानमा आफूहरूलाई सहभागी गराएको भन्दै उहाँले सबैको साथ र सहयोगबाट रङ्गशाला बन्ने बताए । 
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायण दाहालले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न जिल्लाका राजनीतिक दल सक्रियताका साथ लाग्ने बताए । उनले देशमा विकास निर्माणको युग शुरु भएको भन्दै त्यसमा हातेमालो गर्न सबैलाई आह्वान गरे ।
 
नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले रङ्गशाला निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले काङ्ग्रेस प्रतिपक्ष दल भए पनि विकास निर्माणमा सधैँ हातेमालो गर्दै जाने बताए ।
 
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनसँग सम्झौता भएपछि उत्साहित भएको बताए । उनले रङ्गशाला निर्माणका लागि सरकारी तवरबाट हुने सबै काम महानगरले गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा विभिन्न दाताहरूले रु एक करोडभन्दा बढी सहयोगको घोषणा गरेको महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताए । 
 
स्थानीयवासीले घरअगाडिका सडक किनारामा घडा राखेर र ठाउँठाउँमा स्वागतद्वारसहित स्वागत गरेका थिए । आजैदेखि रङ्गशालाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माणको काम सुरु भएको घोषणा गरिएको छ । 
 
दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न तीन अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । रङ्गशालामा क्रिकेटका अतिरिक्त अन्य खेलहरू खेल्न सकिनेछ । रङ्गशालालाई एकेडेमीका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । भरतपुर महानगरपालिका–१५ मा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिगाहा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो ।