विचार / ब्लग

गुरुजीले लगाएको साइड र हाइवेका रेस्ट एरिया

286 पटक पढिएको

– रामचन्द्र भट्ट

संस्मरण | 1st Feb 2019, Friday | २०७५ माघ १८, शुक्रबार ०९:५९
‘अर्को रेस्ट एरिया ४५ माइल अगाडी’ अंग्रेजीमा लेखिएका यस्ता संकेतहरु हाइवेका बीचबीचमा धेरै भेटिए । अर्थात कुनै हाइवेमा ३५ माइलको अन्तरमा त, कुनैमा ४५ माइलको अन्तरमा रेस्ट एरिया थिए  । हामी सपरिवार टेक्ससबाट फ्लोरिडाको मायामीसम्मको यात्रामा निस्किएका थियौँ । 
 
रेस्ट एरियामा शौचालयका अतिरिक्त हल्का खानेकुराहरु किन्न मिल्ने भेण्डिङ मेसिन (कतिपय ठाउँमा त पसल पनि) थिए । अमेरिकामा ठूला, साना इन्टरस्टेट ९एउटा राज्यबाट अर्कोमा जाने० हाइवेका छेउमा रेस्ट एरियाहरु हुन्छन् । जसले गर्दा यात्रा गर्नेहरुले कुनै पनि प्रकासको सकसहरु व्यहोर्नु पर्दैन । 
 
यसपटक ड्यालसबाट ओरल्याण्डो, मायामी र कि–वेस्टसम्मको यात्राका क्रममा यस्ता सार्वजनिक शौचालयका बारेमा निकै राम्रो छाप बोकेर आइयो । ड्यालसबाट यात्रा सुरु गर्दा हामीले पेय पदार्थ गाडीमा चाहिने जति बोकेका थियौँ । मैले अरु भन्दा पनि कफी ज्यादा पिएँ । जसले गर्दा हरेक दुई घण्टाको अन्तरमा शौचालय अनिवार्य जस्तो भयो ।
 
नेपालमा सडक यात्राका क्रममा सबैभन्दा तितो अनुभवनै शौचालयको रहन्थ्यो । ‘ल है पिशाब लाग्नेहरु गाडीबाट झर्नुस्,’ नुवाकोटबाट काठमाडौं जाँदा होस् या ससुराली चितवन जाँदा होस्, बस चालकहरुले छेउ लगाएर गाडी रोक्थे र उर्दी जारी गर्थे । कतिपय अवस्थामा चाँही सहनै नसक्नेगरि पिशाब लागेपछि भन्नैपर्थ्यो–‘लौ न गुरुजी, यसो गाडी साइड लगाउनु पर्यो ।’ यति भनेपछि गुरुजीले कुरा बुझिहाल्थे । अलि वस्ती नभएको सडक लगेर गाडी रोक्थे । 
 
पुरुषलाई त सजिलै हुन्छ जहाँ गाडी रोके पनि । यसो सडकको छेउ–कुनातिरका झाडी, खोचतिर पसेर शरिर हल्का गर्नका लागि । तर महिलाहरुका निम्ति भने निकै अप्ठेरो पर्छ । तैपनि विकल्प केही हुँदैनथ्यो । कुनाकाप्चातिर लुकेर शरिर हल्का गर्थे । 
 
सडक छेउका साना होटलहरुका शौचालय प्रयोग गर्नका लागि त्यहाँ केही किनेर केही खानैपथ्र्यो । नत्र होटलवालाले शौचालयमा ताल्चा मारेका हुन्थे । 
 
मेरो मात्र भोगाई होइन यो । नेपालमा हुर्किएर आएका, सडकयात्रा गरेका हरकोहीले भोगेको यथार्थता यही हो । यात्राको क्रममा सबैभन्दा पीडादायीनै हुन्थ्यो शौचालयको प्रयोग । अझै रात्रीबसमा यात्रा गर्दा हुने सकस त वर्णन गरिसाध्यनै हुदैन ।
 
एक दशक अघि म न्यूयोर्कबाट बसमा वासिङटन डिसी जाँदै थिएँ । हाइवे–९५ मा बस चालकले रेस्ट एरियामा लगेर रोकेका थिए । उनले त्यतिखेर रेस्टरुम प्रयोग गर्ने, खाना खानका लागि भनेर १५ मिनेट समय दिएका थिए । त्यहाँ म्याकडोनाल्ड पनि थियो । मलाई लागेको थियो–म्याकडोनाल्डकै शौचालय होला भन्ने । तर त्यहाँ त रेस्ट एरियाको संरक्षण गर्ने र भाडा समेत तिर्नेगरि स्थानीय काउन्टीले म्याकडोनाल्डलाई भाडामा लगाएको रहेछ । 
 
यसपटक लभभग तीनहजार चारसय माइल यात्राका क्रममा भेटिएका र प्रयोग गरिएका रेस्ट एरिया अर्थात सार्वजनिक शौचालयहरु कुनै स्तरीय तारे होटलका भन्दा कम्ता थिएनन् । भुई पुछेर टिलिक्क टल्काइएको हुन्थ्यो भने साबुन, पानी, ह्याण्ड सेनिटाइजर, पेपर–टावेल कुनै ठाउँमा पनि अभाव देख्न पाइएन । रेस्ट एरियाका कर्मचारीहरु भुई पुछिरहेका हुन्थे । 
 
तीन वर्ष अघि, जतिखेर म ओक्लाहोमा राज्यमा बस्थेँ । त्यहाँबाट ड्यालस घुम्न आउँदा पहिलो पटक रेस्ट एरिया देखेको थिएँ । हाइवे–३५ हुँदै ड्यालस आउँदा हरेक ३५ माइलमा रेस्ट एरियाहरु देखेको थिएँ । सुरुमा रेष्ट एरिया भन्नाले पार्क वा आराम गर्ने ठाउँ होला भन्ने लागेको थियो । तर त्यहाँ त पार्कसँगै शौचालय र किनमेल गर्ने ठाउँ पनि हुने रहेछन् । 
 
अमेरिकाको संघीय नीति अनुसार हाइवेमा हरेक आधा घण्टाको यात्राको क्रममा रेस्ट एरिया अनिवार्य गरिएको हुन्छ । सन् १९५६ मा तयार भएको हाइवे ऐन अनुसार राजमार्गहरुमा रेस्ट एरिया अनिवार्य गरिएको छ । 
 
अधिकांश स्थानहरुमा हाइवेका दुबै साइडमा यस्ता रेस्ट एरियाहरु हुन्छन् । एकतर्फी हाइवेमा अर्को साइडमा सडक पार गरेर जानसक्ने अवस्थानै हुँदैछ । त्यसैले कतिपय स्थानमा वारिपारी जस्तो भएपनि धेरै स्थानमा अलग ठाउँमा यस्ता रेस्ट एरियाहरु देखिन्छन् । 
 
रेस्ट एरियामा दर्जनौ गाडीहरु (ट्रक समेत) पार्किङ गर्न मिल्नेगरि व्यबस्था गरिएको हुन्छ । लामो यात्राका क्रममा ट्रक चालकहरु त्यही रेस्ट एरियाका फास्टफुडमा केही खाएर आराम गरिरहेका पनि भेटिन्थे । 
 
आफ्नो मातृभूमिको बदख्वाई गरेको होइन मैले । सत्य कुरा बोल्न र लेख्न गाह्रो नमान्ने हो भने नेपालको सडकयात्रा असाध्यै कष्टप्रद छ । एनजिओ र दाताका बजेट तान्नका लागि ‘खुल्ला दिशा–पिशाबमुक्त’ भन्ने अभियानले तिब्रता पाएको समाचार पढ्न पाइन्छ । तर तिनै खुल्ला दिशा–पिशाबमुक्त लेखिएका बोर्ड छेउमा आड लागेर लघुशंका गरिरहेका तस्विरहरु सामाजीक सञ्जालमा देख्न पाइन्छ । 
 
२०४५ र ४६ तिर हुनुपर्छ । विदुर भरखरै नगरपालिका भएको थियो । मेरो गाउँमा पर्ने पासाङल्हामु मार्गमा नगरपालिकाले सार्वजनिक शौचालय बनायो । शौचालय त बनायो, तर व्यक्तिको जग्गामा । शौचालय बनिसकेपछि जग्गाधनीले जग्गाको क्षतीपूर्ति नपाएसम्म प्रयोग गर्न नदिने भन्दै ताल्चा लगाइदिए । त्यो शौचालयको नत नगरपालिकाले क्षतीपूर्ति दियो, नत यात्रुले प्रयोग गर्न पाए, नत जग्गाधनीले नै प्रयोगमा ल्याए । मकैको ढोड गर्ने स्टोर बन्यो । कालान्तरमा प्रयोगमै नआई त्यो शौचालय भत्कियो । 
 
अमेरिकाको हाइवेहरुमा भएका रेस्ट एरिया, शौचालय देख्दा झण्डै तीन दशक पुरानो त्यो घटना याद आयो । काठमाडौंमा भएका सार्वजनिक शौचालयको अवस्था अमेरिकामा रहेका सबैले भोगेरै आएका हौँ । के भनौँ र खोइ रु नेपालका सरकारी उच्च अधिकारीहरु, राजनेताहरुले बुझेकै छन् ।