विचार / ब्लग

'पेट'

1034 पटक पढिएको

-किशोर सापकोटा

2nd Feb 2019, Saturday | २०७५ माघ १९, शनिबार ०५:२२
 
घरमा नयाँ सदस्य फ्याट्ट थपियो । नयाँ सदस्यलाई लिएर घर आउँदा विवेक र छोराछोरीकोे खुट्टा खुसीले भुईमा थिएनन् । थपिएको नयाँ सदस्य कुकुर थियो । छोराछोरीको भाषामा उनीहरुको पेट । जात मोर्की । उमेर पुगनपुग दुइ महिना ।
 
खुसी धेरैबेर टिकेन । स्वीमिङ गएका पति र छोराछोरी कुकुर बोकेर आएको देख्नासाथै शान्तिकोे रिसको पारो चढ्यो । विवेक छोराछोरीको रहर देखाएर पन्छिन खोज्यो । छोराछोरी बाबाले नै रोज्नु भएको हो भनेर उम्किए । घानमा तीनै जना परेका थिए । शान्तिका अगाडि कोहीपनि धेरैबेर टिक्न सकेनन् ।
 
तुरुन्त कुकुर फिर्ता गर्नु – शान्तिको आदेश थियो ।
 
शान्ति अशान्त भएपछि मनाउन सकिंदैन – तीनैजनाले वुझेका थिए ।
 
विवेकले कुकुरको पूर्वमालिक (व्रिडर)लाई फोन लगायो । आफ्नी पत्नी रिसाएको एकै श्वासमा सुनायो । नरम भएर कुकुर फर्काइदिन आग्रह गर्यो ।
 
आफ्नी पत्नीलाई त नियन्त्रणमा राख्न सकेका रहेनछौ, के कुकुरलाई नियन्त्रणमा राखौला र ? –पूर्वमालिकले रुखोपन देखायो ।
 
विवेकले व्रिडरलाई रिसाएको कुकुरसँग तुलना गर्यो मनमनै ।
 
लोग्ने मानिस हौ तिमी,  एउटा निर्णय लिने हैसियतमा पनि छैनौ भने सधै दास भएर बस – जीवनमा पहिलोपटक भेटेको नाथे कुकुरको पूर्वमालिकले भन्यो – एकपटक वेचिसकेको कुकुर हामी फिर्ता लिदैनौ, जवर्जस्ती फिर्ता गर्यौ भने पनि पैसा फर्काउंदैनौ ।
 
कुकुरलाई महंगो पैसा तिरेको थियो । सित्तैमा फर्काउने कुरा भएन । सबै चुपचाप लाग्नुको विकल्प भएन । केहीबेर आपसमा वोलेनन् । पैसा फिर्ता नहुने थाहा पाएपछि शान्ति पनि चुप लागिन ।
 
केहीवेर पछि विवेकको दौडादौड सुरु भयो । कुकुरलाई थुन्ने खोर । सानो जातका कुकुरको खाद्यान्न । राती सुत्ने न्यायो पेट वेड । वाहिर लैजादा घाँटीमा बाँध्ने डोरी । घरभित्र सुसु नगरोस भनेर लगाइदिने धुन मिल्ने डाइपर । दिशा पिसाव गराउन तालिम दिने प्याट्टी प्याड सवै एकैसाथ चाहिए । विवेकले छोराछोरीलाई पनि इन्टरनेटमा सर्च गर्न गर्न अह्रायो । के चिज कहाँ पाउँछ । कुनको मूल्य कति पर्छ । सवै जोडजाड गर्दा कुकुर र उसलाई चाहिने चिजबीजमा एकलाख रुपिया जति स्वाहा भएछ ।
 
विगतमा कुकुर पाल्ने विषयको वार्ता घरमा विना सहमति टुंगिने गरेको थियो । छोराछोरी हामीलाई पनि पेट चाहियो भनेर प्रस्ताव ल्याइरहन्थे । छोराछोरीको मागमा विवेक सहमत थियोे तर शान्तिले कुरा अगाडि बढ्न दिदैनथिन् । छोराछोरीले साथीहरुको के के पेट छन् भनेर सधै सुनाउँथे । सुनाइसकेपछि अन्तिममा गुनासो गर्थेे –हामीहरुले चाही एउटा पनि पेट पाएनौ ।  
 
आज स्वीमिङ जाँदा छोराले विवेकलाई सोध्यो – बाबा, तपाइहरु हाम्रो खुसीलाई कति महत्व दिनुहुन्छ ?
 
हामीहरु जे गरिरहेका छौ, त्यो तिमीहरुको खुसीका लागि त हो नि – विवेकले एक सेकेण्ड पनि ढिला नगरी भन्यो ।
 
तर म तपाइको भनाइ पत्याउन सक्दिन, हाम्रो खुसीको लागि एउटा कुकुर किनिदिनु हुन्न, कसरी पत्याउने ? – छोराले अध्यारो अनुहार लगाएर भन्यो – हामी पनि त हाम्रो बाल्यकालका केही गुड मेमोरिजहरु हुन् भन्ने चाहन्छौ नि, किन हाम्रा खुसीहरुको वास्ता गर्नुहुन्न ?
 
छोराछोरीले सुनको दरवार मागेका होइनन् नि, नाथे कुकुर त हो – विवेकले मनमनै भन्यो ।
 
आफ्नै वाल्यकाल सम्झियो । स्कुल छेउको घरमा कुकुरका रहर लाग्दा छाउराहरु थिए । टिफिन टायममा ऊ हरेक दिन ती छाउराहरुलाई हेर्न जान्थ्यो । कुकुरका छाउराहरु उसको पछिपछि दौडन्थे । कुकुरसँग खेल्न खुब मन पराउँथ्यो ।
 
ए बाबु, कुकुरको छाउरो लाने हो ? – एकदिन कुकुरको मालिकले भन्यो ।
 
विवेकको खुसीको सीमानै रहेन । एक मिनेट पनि ढिला नगरी सहमतिमा टाउको हल्लायो ।
 
छाउरो वोकेर घरतिर दौडदा ऊ संसारको सवैभन्दा खुसी वालक जस्तो भएको थियो । तर छाउरो घर लैजादा वावुआमा भने खुस भएनन् ।
 
त्यो रात माऊवाट छुटेको छाउरो जाडोले थरथरी काम्यो । एक्लै भएर आत्तियो । वुवुमाम पनि खाएन । कङग्ल्याङ कङग्ल्याङ गरेर रोइरह्यो ।
 
विवेकले सवै सुतिसकेपछि कुकुरलाई आफ्नै ओछेनमा सुताएर तातो वनाएको थियो । यो क्रम निकै लामो समयसम्म चल्यो । दिन वित्दै जाँदा कुकुर रहर लाग्दो भएर हुर्कियो । सवैको प्यारो भयो । नाम राख्यो – वुर्ले ।
 
वुर्ले घाँस दाऊरा, पानी पंधेरो गर्न जाँदा आमाको पछि लागेर जान्थ्यो । छरछिमेक देखि वजार जादासम्म पनि बाबुको पछि लाग्थ्यो । हुँदाहुँदा यस्ता दिन पनि आएकि बाबुआमा सँगसँगै जस्तो वाहिर निस्कनु पर्यो भने कुकुर कसको साथमा लैजाने भन्ने प्रतिश्पर्धा नै हुन्थ्यो । यस्तोमा कुकुरले नै कसलाई पछ्याउने भन्ने निर्णय लिन्थ्यो । वालवालिकासँग त झन् रमाइलो मानेर खेल्थ्यो, एउटा टिमको खेलाडीझै । विवेक र भाइवैनी स्कुल जाँदा स्कुलसम्म पु¥याउन जान्थ्यो र फर्कन्थ्यो ।
 
तर एकदिन बाबुसँग बजार गएको वुर्ले फर्किएन । त्यो दिन घर पुरै शोकमा डुवेको थियो । धेरैपछि वुर्ले फेला पर्यो । अर्काको घरमा । उनीहरुले फिर्ता दिन मानेनन् । अर्कैको घरमा भएपनि आफ्नो कुकुर राम्ररी बसेको देख्दा उनीहरुलाई आनन्द लागेको थियो । त्यो खुसी पनि धेरै दिन टिकेन, एकदिन उनीहरुले सुने – वुर्लेलाई बाघले खायो ।
 
विवेकलाई अझै पनि वुर्लेको याद आउँथ्यो । त्यसको याद मेटाउन पनि उसलाई अर्को कुकुर ल्याउन मन लागेको थियो । आज छोराले प्रश्न गरेपछि पत्नीलाई जसरी पनि सम्झाउँला नि भनेर कुकुर किन्ने आँट गरेको थियो ।
 
कुकुर किन्नु अघि स्वीमिङ पुलको छेऊमा वसेर निकै छलफल गरे । व्रिडको वारेमा । छोरा गोल्डन रिट्रिभर चाहन्थ्यो । छोरी भने पोमी वियर वा पोमोरेनियन् । इन्टरनेटमा ती कुकुरहरुको वारेमा रिभ्युज पढे । गोल्डन रिट्रिभरमा सबै सहमत त भए तर रिभ्युजले फेरी अन्योल वनाइदियो ।  गोल्डन रिट्रिभरमा बढी स्वास्थ समस्या । बीमा पनि अत्यन्त महंगो । पोमेरेनियन र टेडी वियर छोरालाई मन परेन । अन्तत उपचारमा खासै खर्च नहुने मोर्की ल्याउने सहमति जुट्यो । माल्टीज र योर्कीको क्रस व्रिड मोर्की अलि कम विरामी हुने कुकुरमा पर्छ । वीमा पनि गरिरहनु नपर्ने । क्रस व्रिड भएकोले चकचक भने बढीनै गर्ने ।
 
साँझमा कुकुरको छाउरो छोराछोरीसँग खेल्यो । नामाकरण गरे – मार्च । विवेक खुसी भएर हे¥यो । शान्तिको परीक्षा आउन लागेको थियो । डिस्टर्व भएर उनी पढ्न अर्को कोठापट्टी लागिन ।
 
खेल्दाखेल्दै मार्चले वैठक कोठामानै आच्ची गरिदियो ।
 
शान्तिले थाहा नपाउन भनेर तीनैजना भएर हतार हतार सफा गरे ।
 
गन्ध हटाउने स्प्रे र पुछ्ने वाइप्स ल्याउन बिर्सिएका रहेछन् । मार्चलाई खोरमा थुनेर विवेक हतार हतार फेरी बजारतर्फ दौडियो । बजार जांदाजांदै कुकुरलाई दिने ट्रिट र नुहाउन चाहिने सेम्पु पनि सम्झियो । पेट स्टोरमा पुगेपछि कुकुरले चवाउने मिल्की वोन पनि देख्यो । ती सबै गर्दा अर्को ३ हजार रुपिँया जति सकियो ।
 
यो पेट पाल्ने शोखले आफ्नै पेट पो खाली हुन्छ कि के हो ? –घर फर्कदै गर्दा मनमनै भन्यो । तर मन भने खुसी थियो – जे भएपनि मेरो घरमा पनि पेट छ ।
 
घरमा पुग्दा खोरमा थुनिनु पर्दा मार्च कराइ रहेको थियो । निकालेर बोक्यो । वाहिर लगेर डुलायो । अलि चुप लाग्यो । छाउरोले वेलुका खासै खाएन । विवेकले छाउरोलाई काखमा राख्यो । डग फुड खुवायो । अलिअलि खायोे । अलिअलि खाइदिंदा पनि विवेक आफ्नै छोराछोरीले खाएझै खुसी भयो ।
 
राती भएपछि कुकुरको खोरभित्रको ओछेन तातो बनाएर हालिदियो ।
 
कुकुर एकछिन एकछिन निधाउने र एकछिनमा चुइकिने गरिरह्यो । हरेक पटक चुइकिएपछि विवेक उठेर जान्थ्यो । कहिले सुसु गरेको हुन्थ्यो । कहिले आच्चि गरेको हुन्थ्यो । सफा गर्यो ।
 
विवेक, मलाइ विहानै कलेज जानु छ, दिउसो अफिस पनि छ – शान्तिले भनिन् – तिमी पटक पटक उठिरहँदा मलाई डिस्टर्व भयो ।  अर्को कोठामा गएर सुतन ।
 
छोराछोरी आफ्नो कोठामा मस्त निद्रामा थिए । ऊ चुपचाप अर्को कोठामा गयो । सुत्न त राम्ररी पाएन, रातभरी मार्चको सेवामा लागिरह्यो ।
 
भोलीपल्ट विहानै ५ वजे नै छाउरो करायो । अलार्म भन्दा चर्को स्वरमा ।
 
सधै ७ वजेसम्म सुत्ने ऊ ५ बजेनै उठ्यो । छाउरोलाई सुसु गराउन वाहिर लग्यो । ल्याएर खानेकुरा दियो । खुवाइसकेपछि फेरी बाहिर लग्यो । कुकुरले फोहोर गरेका कपडाहरु धोयो । कुकुरसँग समय विताउँदा छोराछोरीलाई स्कुलका लागि तयार गर्न ढिला हुन लागिसकेको थियो । छाउरोलाई एकैछिन घरवाहिर वांधिदिनु पर्यो भनेर घांटीमा डोरी लगाउन खोज्दा छाउरोकोे दाँतले अलिकति हातमा खोस्यायो । अलिअलि रगत पनि आयो ।
 
छोराछोरीलाई स्कुल पठाएपछि डाक्टरसँग परामर्श गर्न दौडियो । डाक्टरले कुकुर कहिले ल्याएको भनेर सोध्यो ।
 
हिजोमात्रै ।
 
डाक्टरले सोध्यो – कुकुरलाई व्रिडरले केके सुइ लगाएको रेकर्ड छ ?
 
छैन ।
 
त्यसो हो भने एउटा इम्युन ग्लोवुलिन र चौध दिनको अन्तरालमा चारवटा रेविज भ्याक्सिन हान्नुपर्छ – डाक्टरले चस्मा मिलाउंदै भन्यो – कुकुरलाई पनि भेट डाक्टरकोमा लगिहाल्नु ।
 
विवेक फेरी वजार हुइकियो । मोटो पञ्जा किन्यो ।
 
अव त त्यसको दाँत छालासम्म पुग्दैन – मनमनै भन्यो ।
 
कुकुरलाई वन्दोबस्त गरेर जादा काममा पनि अलि ढिला पुग्यो ।
 
कामवाटै पशु डाक्टरकोमा फोन लगायो । मिठो स्वर भएकी केटीले स्वागत गरी । आफ्नो कुकुरको लागि निजी चिकित्सक चाहिएको भन्दै विवेकले अप्वाइन्टमेन्टको लागि आग्रह गर्यो । उसले पाँच दिन पछिको समय दिइ ।
 
ती पाँचदिन कसरी विते भन्ने विवेकलाई मात्रै थाहा छ ।
 
पाँचौ दिन भेट डाक्टरकोमा कुकुर सहित गयो ।
 
फ्रन्ट डेस्कमा भएकी केटीले छाउरोलाई न्यायो स्वागत गरी । वर्षौ विछडिएको आफ्नो प्रेमीलाई भेटेझै गरी । छाउरोलाई सुम्सुम्याइ । मुख जोडेर किस गरी । नाम सोधेर एउटा उसको नामको कार्ड पनि बनाइ ।
 
केटीले छाउरोलाई गरेको व्यवहार देखेर विवेकले मनमनै भन्यो – मैले राम्रै पेट किनेको रहेछु ।
 
केटीले कुकुरको बारेमा इन्फरमेशन मागी ।
 
छैन– विवेकले भन्यो ।
 
केटीले व्रिडरको वेव पेज खोली । त्यहाँ छाऊरोको नाम र फोटो सहित विवरण रहेछ । कुकुरले फष्ट वेवी सट मात्रै पाएको रहेछ । कुकुरको सुचना प्रिन्ट गरेर डाक्टरको तर्फ पठाइ ।
 
व्रिडरले अरु तीनवटा सट लिनुपर्ने लेखेको भएपनि भेट डाक्टरले डेढ महिनाभित्र अरु चारवटा सट लिनुपर्ने बतायो ।
 
कुकुरको तापक्रम नाप्यो । तौल नाप्यो । जुका परे नपरेको जाँच गर्न ल्यावमा पठायो । कोठालाई अध्यारो पारेर टर्चको उज्यालोमा आँखा जाँच्यो । कानमा पनि के के छिराएर हेर्योे । नंग्रा काटिदियो । उपिँया जुम्रा नपरुन भनेर घाँटीको माथिल्लो भागमा औषधी हालिदियो ।
 
अन्तमा छाउरोलाई सुम्सुम्यायो र भन्यो – हेल्दी पप्पी ।
 
डाक्टर र विवेक कुरा गर्दागर्दैै छाउरोले भुइमा आच्चि गर्न भ्याइसकेछ ।
 
विवेक सफा गर्न अगाडि मात्रै अगाडि के वढेको थियो, डाक्टरले रोकिहाल्यो ।
 
चिन्ता नगर्नुहोस्, यो हाम्रो काम हो ।
 
डाक्टरले एउटा टावल पेपर च्यातेर ल्यायो र टपक्क टिप्यो ।
 
ओहो, घिनाउनु पर्ने केही रहेनछ – विवेकले मनमनै भन्यो ।
 
अन्तमा फ्रन्ट डेस्कमा केटीले छाउरोसंग विदाइ भेट गरी । विवेकलाई तिर्नुपर्ने रकमको वील थमाइ । विवेकले नेपालीमा हिसाब गर्यो – ९ हजार गएछ ।
 
मार्च घरमा रम्दै गयो । विवेक र छोराछोरी पनि रमाए । तर छाउरोको चकचक भने बढ्दै गयो । विस्तारै खोरमा नअडिने भयो । खोरमा थुन्यो कि कराएर आतंक मच्चाउने । छाउरो कराएपछि शान्तिलाई पढाइमा डिस्टर्व हुन्थ्यो । शान्ति कराउँंथिन् – यो छाउरोलाई घरवाट निकाल ।
 
विवेक सकेसम्म छाउरोलाई कराउने मौका दिदैनथ्यो । वरु डुलाउन वाहिर लैजान्थ्यो । छाउरोलाई समय दिन थालेपछि उसका अरु काम भने पेण्डिङ हुन्थे, ती काम सिध्याउन राती अवेरसम्म वस्नुपर्ने ।
 
कुकुर र छोराछोरी घरमा दौडन्थे, जसले शान्तिलाई नै डिस्टर्व हुन्थ्यो । शान्ति ढोका थुनेर पढाइमा केन्द्रित हुन चाहन्थिन तर छाउरो ढोका ढकढकाउन पुग्थ्यो । छाउरो ल्याएपछि छुट्टिएको ओछेन अझैसम्म पनि जोडिन सकेको थिएन ।
 
मार्च अलि हुर्किएला र वुद्धि आउला, अनि शान्तिसंग पनि यसको सुमधुर सम्वन्ध होला – विवेक यस्तै सोच्थ्यो ।
 
त्यो दिन आएन । शान्तिलाई पढाइ र अफिसको कामले गर्दा फुर्सद थिएन । छाउरोलाई माया गर्न उनको नजर पुग्दैनथ्यो । घरमा विगार गरेको कुरामा मात्रै उनको ध्यान पुग्थ्यो । मार्च पनि झन्झन् चकचके वन्यो । ऊ घरभित्र म्याराथुन दौड दौडन्थ्यो । कहिले जुत्ता चप्पल, कहिले छोराछोरीको स्कुल व्याग, त कहिले काउच । जे भेट्थ्यो टोकीहाल्थ्यो । घरमा कोही नभएको बेला छाड्दा त झन् आतंक मच्चाउने । शान्तिको तुलसीको मोठ अगाडि खुट्टा उचाल्न भ्याइसकेको थियो । पुजाको थालीमा मुख गाडिसकेको थियो । घर्राहरुवाट भित्री वस्त्र निकालेर मुखमा च्यापेर घर घुम्न वानी परिसकेको थियो ।
 
शान्तिले वेवास्ता गरेको थाहा पाएर नै होला, ऊ पटक पटक उनको ध्यान आफुपट्टी तान्न चकचक गथ्र्यो । एकदिन शान्ति काउचमा वसेर पढ्दै थिइन, उफ्रिएर काखमा वस्न पुगेछ ।
 
ओ हो, यसलाई नुहाइदिने गरेको छैन, कस्तो गन्हाएको ? – कुकुर पन्छाउंदै शान्ति कराइन ।
 
विवेकले छाउरोलाई घरमानै नुहाइदिने गरेको थियो । भोलीपल्टै राम्रो गरी नुहाइदिन्छन्कि भनेर गु्रमिङ सेन्टर लग्यो । गु्रमिङ सेन्टरका कर्मचारीले अलिकति रौं पनि काटिदिए कुकुर अझ आकर्षक देखिने बताए ।
 
हुन्छ – सहमति जनायो ।
 
ध्यान दिएर कपाल काटिदिए । नुहाइदिए । कर्मचारीहरु कुकुरसँग खेले । कुकुरलाई चुम्मा गरे ।
 
कुकुरलाई यसरी पो माया गर्नुपर्छ त, शान्ति भने जहिले पनि कुकुरलाई घृणा मात्रै गरिरहन्छिन – विवेकले मनमनै भन्यो ।
 
कपाल काटेर नुहाएको कुकुर विवेकको काखमा आएर वस्यो । विवेकले पनि कर्मचारीले जस्तै पहिलोपल्ट कुकुरलाइ चुम्मा गर्यो । कुकुर निकै खुसी भएको महसुस भयो ।
 
कर्मचारीले वील थमाए ।
 
दश हजार गएछ – विवेकले नेपाली रुपिँयामा हिसाव गर्यो । यहीवीचमा भेट डाक्टरकोमा चारवटा एप्वाइन्टमेन्ट कटीसकेका थिए । त्यसको झण्डै छत्तिस हजार रुपियाँ ।
 
बरु यो पैसा नेपालमा वाऊआमालाई पठाइदिएको भए औषधि र फलफुल खान त पुग्थ्यो – विवेक कहिलेकाँही आफ्नै निर्णयसँग पछुताउँथ्यो । फेरी चित्त वुझाउँथ्यो – हुर्कदा छोराछोरीको पनि चित्त वुझाउनै पर्यो ।
 
मार्च हुर्कदो थियो । उमेरसंगै चकचक पनि वढ्दै थियो । कुकुरको चकचक विवेक र छोराछोरीका लागि रमाइलो हुन्थ्यो भने शान्तिका लागि दिग्दारी । हुन पनि घरमा कुनै यस्ता सग्ला चिज थिएनन् जसमा कुकुरले दांत नगाडेको होस् । घरमा कुनै यस्तो ठाऊ थिएन, जहां कुकुरको कुनै न कुनै सामान नपुगेको होस् । घरमा कुनै यस्तो ठाऊ थिएन, जहां कुकुरको शरिरको गन्ध नआओस् । विवेकले साथीभाइसंगको जमघट पुरै कटौति गर्यो र आफुलाई घरमा नै केन्द्रित गर्यो । उसको सधै एउटै ध्यान हुन्थ्यो – छाउरोले शान्तिको शान्ति चांहि भंग नगरोस् ।
 
दिनहरु अलि फरक फरक लाग्ने खालका आउंदै गए । विवेक घरमा त हुन्थ्यो तर शान्तिसंग हुदैनथ्यो । ऊ शान्तिको नजरवाट सधै भागिरहेको हुन्थ्यो किनकी शान्तिले कुकुरको वारेमा गुनासो गर्न नपाउन् । कुकुर ल्याएदेखि ऊसले शान्तिलाई समय दिन पाएको थिएन । केवल औपचारिक सम्वन्ध मात्रै वांचिरहेका थिए ।
 
एकदिन विवेकले छोराछोरीलाई व्यस्तताको कारण देखाउंदै कुकुर विक्री गरिदिऊ भनेर प्रस्ताव गर्यो ।
 
छोरीले तपाइलाई गाह्रो भएको छ भने वेचिदिनु भनेर सहमति जनाइन ।
 
छोराले भन्यो – सरी वावा, हामीले रहरले गर्दा तपाइलाई भएको हैरानी देखेको छु । दिनको चारपांच पटक कुकुरको डाइपर धुनु परेको छ, घरभित्र फोहोर गरेको सफा गर्नु परेको छ, खानेकुरा किन्न दौडिनु परेको छ, अस्पतालमा खर्च गर्नु परेको छ । यी सवै देख्दा वेचिदिए पनि हुन्थ्यो जस्तो लाग्छ तर आजकल यो कुकुर हाम्रो परिवार भएको छ । अलिकति दुख भयो भनेर परिवारको सदस्य कसरी वेचौ भन्नु र ?
 
केहीवेर वोलेन । विवेकलाई, कुकुरलाई र दिदीलाई हेर्यो ।
 
जेसुकै होस् वावा, वेचिदिनु – छोरोले निश्कर्ष सुनायो ।
 
कुकुर वेचिदिंदा तिमी रुदैनौ ? – विवेकले फेरी सोध्यो ।
 
रुन्छु मनमनै – छोराले भन्यो – म देखाएर रुन्न । म मेरो रहरको कारण अव तपाइलाई वढी दुख दिन चाहन्न ।
 
मनमनै किन रुन्छौत ? – विवेकले फेरी सोध्यो ।
 
कुकुरले हामीलाई धेरै मिश गर्छ होला जस्तो लाग्छ – आंशु भरिएका आंखाहरुलाई विवेकवाट लुकाउंदै छोराले भन्यो – उसको वारेमा सवै कुरा हामीलाई थाहा छ, उसले के खान मन पराउंछ, के खेल्न मन पराउंछ, कति वेला वाहिर जान मन पराउंछ, ती सवै हामीलाई थाहा छ । ऊ नयां ठाऊमा गएपछि ती सवै कुरा पाउंदैन र हामीलाइ मिश गर्छ होला जस्तो लाग्छ ।
 
छोरो केही नभनी उठेर गयो ।
 
विवेकले निश्चय गर्यो – यो सांच्चैनै परिवार भइसकेको छ, वरु दुख खप्छु, कांही पठाउंदिन ।
 
त्यही सांझमा शान्तिले विवेकलाई एउटा लिष्ट थमाइन ।
 
मलाइ कलेजलाई अलिकति सामान चाहिएको छ, अहिले नै अनलाइन अर्डर गरिदेऊत ।
 
कम्प्युटर खोलेर हेर्यो । चाहिएका सामानहरु कार्टमा हाल्यो ।
 
एकाउन्टमा भएको पैसाले यति सामान किन्न नपुग्ने रहेछ, तत्कालै नकिन्दा हुने सामान पनि छन् कि ? – चेकआउट गर्ने क्रममा विवेकले सोध्यो ।
 
शान्तिले कम्प्युटर तानेर हेरिन् । उनको रिसको पारो चढ्यो ।
 
कुकुरको लागि यत्रो खर्च ? – शान्ति चिच्याइन ।
 
विवेक र छोराछोरी कोही वोल्ने शाहस गरेनन् । कुकुरका लागि हुने दिनदिनैको खर्च उनीहरुले शान्तिलाई जानकारी गराएका थिएनन् ।
 
कुनै चित्त वुझ्दो जवाफ नपाएपछि शान्तिले भनिन् – जे भयो भइगयो, आजै यो कुकुरलाई घरवाट वाहिर निकाल्नु नत्र म डिभोर्स गर्छु ।
 
विवेक वोलेन । छोराछोरी पनि टाउको निहुराएर अर्कोपट्टी फर्किए ।
 
एउटा कुकुरमा अल्झिएर सवै घरवार अस्तव्यस्त वनाउने केवल औपचारिक लोग्ने मलाइ चाहिंदैन – शान्ति रिसाइन – म सिरियस्ली भनिरहेकी छु, यो कुकुरलाई तुरुन्तै घरवाट हटाएनौ भने म घरमा हुन्न ।  
 
विवेकलाई पनि झोक चल्यो ।
 
हुन्छ, डिभोर्स गरे हुन्छ – यति वोल्यो ।
 
उसले गम्भीर भएर भनेको होइन । केवल झोक देखाएको थियो ।
 
कुकुर डोहो¥याएर घरवाट निस्कियो । केही क्षण वाहिर टहलियो । अव त शान्तिको रिस पनि शान्त भयो होला भन्ने अनुमान गरेर घरमा घरमा फर्कियो । घरको ढोकामा ताल्चा लगाएको थियो । गोजी छामछुम गर्यो । धन्य चावी रहेछ ।
 
घरभित्र पस्यो । सिटिङ रुमको टेवलमा शान्तिले लेखेको एउटा टिपोट थियो ।
 
डिभोर्स प्रक्रियाको लागि भोली ११ वजे फ्यामिली कोर्टमा आउनु ।
 
टिपोट देखेर आफैमा स्तव्ध भयो ।
 
शान्तिको नम्वरमा फोन डायल ग¥यो । फोन अफ थियो ।
 
सोफामा वस्यो । दुवै हातले टाउकोलाई अड्यायो ।  
 
अव के गर्ने ? सोच्न खोज्यो । सकेन ।
 
कुकुर काखमा लुटपुटिन आयो । जो घरमा आएको आँधीको बारेमा बेखबर थियो ।
 
तँ परिवार होस् जस्तो लाग्थ्यो, होइन रहेछ – कुकुरलाई सुम्सुम्याउंदै विवेकले भन्यो – घरमा यति धेरै भइसक्यो, तँलाई केही मतलव छैन ।
 
भोलीपल्ट विवेक समयमानै अदालतमा पुग्यो । शान्ति र छोराछोरी अगाडि नै पुगिसकेका थिए ।
 
बाबालाई देख्नासाथ छोराछोरी झ्याम्मिए । तर केही बोल्न सकेनन् । शान्ति प्रतिक्रियाविहिन रुपमा प्रस्तुत भइन ।
 
इजलासमा छिर्दै गर्दा छोराले वावाको औंला समाएर भन्यो – बाबा, म मामुसँगै बस्छु ल । तपाइ त समझदार हुनुहुन्छ तर मामु इमोशनल हुनुहुन्छ, यस्तो बेला मामुको साथ छाड्नुहुन्न ।
 
मामुको राम्रो ख्याल गर, खुसी राख – विवेक त्यहाँभन्दा केही बोल्न सकेन ।
 
विवेकले हरेक कागजमा सही गरिदियो । कुनै प्रश्न गरेन । साथमा नभएपनि शान्तिका दिलमा ऊ रहिरहन चाहन्थ्यो ।
 
अदालतवाट निस्कदै गर्दा विवेकले शान्तिलाई भन्यो – आफ्नो ख्याल गर्नु । पढाइ राम्ररी पुरा गर्नु ।
 
तिमी पनि आफ्नो ख्याल गर्नु – छोराछोरीलाई डोहो¥याएर जांदै शान्तिले भनिन् ।
 
ठेगाना दिन्नौ ? – विवेकले भन्यो – कहिलेकाँही छोराछोरी भेट्न आउँथे ।
 
उनीहरुले चाहेभने म आफै ल्याइदिऊला ।
 
शान्ति फटाफट गइन । छोराछोरी पनि सँगै गए ।
 
केही दिन विते । छोराछोरीहरु भेट्न पनि आएनन् ।
 
विवेक र कुकुर मात्रै घरमा रहे ।
 
विवेकले कहिले सोच्थ्यो – आफन्तहरु भन्दा त कुकुर जाति रहेछ, कमसेकम निहु खोजेर त जांदैन । फेरी अर्को कोणवाट सोच्थ्यो – दुख पर्दा संगै नरुने, सुखमा संगै नहांस्ने केवल जनावर साथमा भएर पनि के पो हुन्छर ?
 
समय वित्यो । विवेकलाई एक्लै बाँच्ने आदत भयो । घरखर्च धान्न झन्झन् कठिन भयो । पहिला दुइजनाको कमाइले खर्च धान्न सजिलो थियो तर अबत एक्लो कमाइले त मोट्गेज र इन्सुरेन्स तिर्न नै गाह्रो हुन लाग्यो । क्रेडिट कार्डहरुको वील वढ्दै थियो । पानी र वत्तीको वील पनि तिरिहाल्नु थियो । कुकुरको खर्च अर्कोतिर ।
 
अव म तँलाई पाल्न सक्दिन – एकदिन विवेकले कुकुरलाई निश्कर्ष सुनायो । कुकुरले कुनै प्रतिक्रिया जनाएन ।
 
उसैलाई घरवाट निकाल्ने कुरा गर्दा त प्रतिक्रिया जनाउंदैन, यसका लागि परिवार त्यागे – विवेकले मनमनै आफैलाई सराप्यो ।
 
कुकुरको विवरण सहित रिहोमिङका लागि क्रेग लिष्टमा हाल्यो । क्रेग लिष्टमा कुकुर बिक्री गर्न पाइदैन । न्युनतम रिहोमिङ शुल्क मात्रै लिन पाइन्छ । सम्पर्क गर्नका लागि आफ्नो मोवाइल नम्वर पनि दियो ।
 
आधाघण्टा नबित्दै म्यासेज आयो – तपाइको कुकुर म लिन चाहन्छु, मैले दिएको ठेगानामा ल्याइदिनुहोला ।
 
तर म क्रेगलिष्टमा उल्लेख गरेको रिहोमिङ चार्जमा मात्रै कुकुर दिन सक्दिन, मलाइ अहिले संकट परेर मात्रै वेच्न लागेको हुँ – विवेकले टेक्स्टको जवाफ लेख्यो ।
 
टेक्स्ट आदानप्रदानमा विवेकले भनेको पैसा तिर्न लिनेवाला सहमत भयो । विवेकले भनिएको ठेगानामा कुकुर पु¥याइदियो । घरमा कोही थिएनन् । खुल्ला ढोकाभित्र हुलिदियो । मेलवक्समा नै भनेअनुसार पैसा छाडिएको रहेछ । लिएर फर्कियो ।
 
अव ऊसँग परिवार पनि थिएन । कुकुर पनि थिएन । रात पर्दै गएपछि परिवार सम्झिएर रोयो । बेचेको कुकुर सम्झिएर रोयो । नरोऊ भन्ने पनि त कोही थिएन । धेरै वर्षपछि दिल फुकाएर रोयो ।
 
एक्लो जीवन केही महिना बाँच्यो । परिवारको जति याद आउँथ्यो, कुकुरको पनि त्यो भन्दा कम याद आउंदैनथ्यो ।
 
एकदिन सपनामा कुकुर र छोराछोरीसंग खेलीरहेको देख्यो । विऊझिदा उज्यालो भइसकेको रहेछ । ऊ अझैसम्म पनि एकदमै खुसी भएको थियो । छोराछोरी र कुकुरको फोटो हेर्न मोवाइल खोल्यो । फेसवुकमा धेरै नोटिफिकेशनहरु रहेछन् ।
 
हेर्यो । आज त उसको जन्मदिन रहेछ । धेरै मान्छेहरुले जन्मदिनको शुभकामना पठाएका थिए तर शान्तिको शुभकामना थिएन जो हरेक वर्ष सवैभन्दा पहिला जन्मदिनको शुभकामना दिने गर्थिन ।
 
तत्कालै ढोका ढकढक गर्यो । शीशाको ढोकामा विवेकले भित्रैवाट देख्यो । वाहिर उसको कुकुर थियो ।
 
ढोका खोली नसक्दै कुकुर भित्र पसेर लुटपुटिन आइपुग्यो । कुकुरलाई समाएर म्वाइ खायो । उसले घाँटीमा झुण्डिएको कार्डमा आँखा पु¥यायो ।
 
दुवैलाई जन्मदिनको शुभकामना – कार्डमा लेखिएको थियो । जहाँ शान्ति र छोराछोरीको हस्ताक्षर थियो । उसलाई दुइवटा कुरा एकैसाथ महसुस भयो – पहिलो, कुकुर उसले आफ्नै छोराछोरीलाई वेचेको रहेछ । दोश्रो, कुकुरको र उसको जन्मदिन एकैदिन परेको रहेछ । विवेकले कार्डलाई चुम्यो । कुकुरलाई चुम्यो – ह्याप्पी वर्थ डे ।
 
बाहिर आँखा लगायो । शान्ति र छोराछोरी छन् कि भनेर तर कोही थिएन ।
 
कुकुरलाई काखमा राखेर फेरी कार्डलाई हातमा लियो । कार्डको अन्तिम पातोमा छोराले चिठी लेखेको थियो –
 
बाबा,
कुकुरलाई रिहोमिङको लागि क्रेग लिष्टमा राखेको देखेपछि मन थाम्नै सकिन । तपाइले कुकुर पैसाको संकटले मात्रै वेच्नुभएको हो भन्ने मैले बुझेको छु । मामुलाई केवल तीन महिनाको लागि कुकुर साथमा राख्न मनाए । मेरो आंशुको सामु मामु हार्नुभयो । जब कुकुरलाई हामीसँग छाडेर तपाइ जानुभयो, तपाइले दिन कसरी काट्नुभयो होला भनेर हरपल तड्पिए । तपाइले दिने जत्तिको त स्याहार मैले गर्न सकिन तर उसलाई सकेसम्म खुसी बनाउन प्रयास गरे । यो वीचमा मैले केही कुरा राम्ररी वुझे । त्यो सेयर गर्न चाहन्छु ।
 
पहिलो त, हाम्रो खुसीको हठमा हामीले हाम्रो परिवार तहसनहस गर्यौ । हामीले मामुको भावना वुझ्नुपथ्र्यो । हाम्रा लागि पाल्तु जनावरभन्दा पनि मामुको खुसी ठुलो हुनुपथ्र्यो । पेट त परिवारका सवैको सहमतिमा बनाउनु पर्ने रहेछ । हामी त वच्चा हौं, तपाइले त कमसेकम हाम्रो लहैलहैमा लाग्नुभन्दा पनि आफ्नो पत्नीलाई वुझ्नुपथ्र्यो । मामुलाई मनै नपर्ने पेट ल्याएर हामीले यो स्थिति निम्त्यायौ ।
 
दोश्रो, यो तपाइको पेट हो । हामीले हाम्रो पेट भनेपनि पेट त्यसको हुंदो रहेछ, जसले ऊसको सम्पूर्ण रुपमा ख्याल गर्छ । मसँग हुँदा यो कुकुरले हरेक दिन तपाइलाई खोजीरह्यो । विहान उठ्नासाथ, उसको खाने समयमा, वाहिर जाने समयमा हरेक समय घरभरि तपाइलाई खोज्थ्यो । हामीले पेट एडप्ट गर्नुभन्दा पहिला नै धेरै सोच्नुपर्ने रहेछ । मन लाग्दा ल्यायो र मन नलाग्ने वित्तिकै घरवाट निकाल्ने गर्नुहुंदैन । पशु भएपनि उसको भावना हुन्छ । यो कुकुर हाम्रो परिवारको सदस्य भइसकेको छ, यसलाई रिहोमिङ नगर्नुहोला । जव जव यो तपाइको वरीपरी खेल्नेछ, त्यो वेला सोच्नु, मेरा छोराछोरी वरीपरी छन् ।
 
तेश्रो कुरा, मामु इमोशनल हुनुहुन्छ, काँही न काँही फेरी तपाइको आवश्यकता महसुस गर्नुहुन्छ, त्यो बेलासम्म प्रतिक्षा गर्नुहोला ।
 
तपाइलाई माया गर्ने छोरा ।
 
पढिसकेपछि विवेकले चिठीलाई छातीमा टाँस्यो । कुकुर पनि आएर छातीमा टांसियो । विवेकलाई आफ्ना छोराछोरी छातीमा टांसिएको महसुस भयो ।
 
(लुइभेल, अमेरिका)