मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

टी-२० मा यूएईमाथि नेपालको ४ विकेटको जीत

टी-२० मा यूएईमाथि नेपालको ४ विकेटको जीत


काठमाडौँ । यूएईविरुद्धको दोस्रो टी–२० मा नेपाल ४ विकेटले विजयी भएको छ । योसँगै नेपालले सिरिजमा १—१को बराबरी गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । 
 
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ४१ बलमा ४७ रन बनाएपछि जीत सहज भएको थियो । जसमा पवन सर्राफको साझेदारी महत्वपूर्ण रह्यो । पवन १८ रन बनाए आउट भए । यूएईको मैदानमा टस जित्दै ब्याटिङ रोजेको यूएईले १९.४ ओभरमा अलआउट हुँदै १०७ रन बनाएको थियो । 
 
नेपाली बलर सोमपाल कामीले पहिलो ओभरमै अस्फाक अहमदको विकेट लिएका थिए । त्यसैगरी, कामीले आफ्नो दोस्रो ओभरमा गुलाम सब्बीरको विकेट लिएपछि यूएई दबाबमा परेको थियो ।
 
युएईका लागि ओपनर सीपी रिजवानले ४३ बलमा ४४ रन बनाए भने साइमन अनवरले ११ बलमा एक छक्का र एक चौकासहित १४ रन बनाएका थिए । त्यस्तै, महमद बोटाले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।
 
नेपालका लागि अविनाश बोहोराले तीन, सोमपाल कामीले दुई, सन्दीप लामिछानेले दुई र करन केसीले दुई विकेट लिन सफल भएका थिए । युएईका सुल्तान अहमदलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए । 
 
खराब सुरुआत गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै पारस खड्कालाई गुमाएको थियो । टिमको खातामा ९ रन भएका बेला अर्का ओपनर प्रदीप ऐरी ८ रन बनाएर आउट भए । तेस्रो विकेटका लागि करन केसी र ज्ञानेन्द्र मल्लले २६ रनको साझेदारी गरे । ३५ रनमा तेस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ल आउट भए ।
 
पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरीले चार चौका र एक छक्काको मद्दतमा ४१ बलमा ४७ रन बनाए । पहिलो म्याचमा अर्धशतक प्रहार गर्ने सुनदीप जोरा एक रनमा पेभेलियन फर्किए भने करन केसी २३ बलमा दुई चौका र एक छक्का प्रहार गरी २० रनमा आउट भए । छैटौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले ५५ रनको साझेदारी गरेपछि नेपाल जिततर्फ उन्मुख भएको थियो ।
 
अन्तिम ओभरमा नेपाललाई जितका लागि छ बलमा सात रन चाहिएको अवस्थामा पहिलो बलमा पवन सर्राफ आउट हुन पुगे । सोही ओभरको दोस्रो र तेस्रो बलमा दीपेन्द्रले छक्का र चौका प्रहार गरेपछि तीन बलअगाडि नै नेपाल विजयी भएको थियो ।
 
युएईका लागि सुल्तान अहमदले दुई, महमद नाभेद, अमिर हायत, इमरान हैदर र जाहुर खानले १–१ विकेट लिन सफल भए ।  नेपालका दीपेन्द्र ऐरी प्लेयर अफ दी म्याच चुनिए ।