विचार / ब्लग

पहाडको खोजी गर्दै फ्लोरिडातिर – रामचन्द्र भट्ट

199 पटक पढिएको

– रामचन्द्र भट्ट

28th Jan 2019, Monday | २०७५ माघ १४, सोमबार ०७:३०
‘छिटो निस्कौँ न हो । यिनका बाउ–छोराले नै ढिला गर्छन क्या,’ पत्नी लक्ष्मी मोबाइल चलाउँदै होटलको कोठामा बोल्दै छिन् । छोरा वाथरुम पसेको छ । म कफी पिउँदै छु । उनको चिन्ता छ–‘अझै ६ सय माइल छ ओरल्याण्डो पुग्न । समयमा निस्किएन भने भरे मध्यरातमा पनि पुग्न गाह्रो हुन्छ ।’
 
डिसेम्बर २२ तारिक बिहान ९ बजे हामीले अलाबामाको मोबिलबाट यात्रालाई फेरि निरन्तरता दिन सुरु गर्याै । हिजो साँझ हामी ड्यालसदेखि मोबिलसम्म आइपुगेका थियौँ ।
 
मोबिलबाट वेष्टबण्ड आइ–१० लिइयो भने मिसिसिपी पुगिन्छ । तर हामी फ्लोरिडा जाने भएकोले हाम्रो गाडीलाई इष्टबण्ड आइ–१० तिर मोड्यौँ ।
 
अब हामी मोबिलको डाउनटाउनलाई देब्रेतिर पारेर पूर्बतिर अघि बढेका छौँ । डाउनटाउन पार हुनै लाग्दा गाडी जर्ज वालेस सुरुङभित्र पस्यो । एक्कासी सुरुङ आइपुगेपछि डर पनि लाग्यो । तर रोमाञ्चक लाग्यो । म मोबाइल निकालेर भिडियो खिच्नेतिर लागेँ ।
 
सुरूङको इष्टबण्डमा दुई लेन र वेष्टबण्डमा दुई लेन रहेछन् । चाखलाग्दो विषय यो थियो कि सुरुङ मोबिल नदीभन्दा तल रहेछ । सुरुङ माथि खोला बगिरहेको थियो । पानीजहाजलाई ओहोर–दोहोर गर्न सजिलो होस् भनेर नदीको सतहभन्दा तलबाट यो सामुद्रिक सुरुङ बनेको रहेछ । पानी मुनिको सतहभन्दा १२ मिटर तलबाट सुरुङ बनाएको रहेछ ।
 
 
 
झण्डै एक किलोमिटर लामो यो सुरुङ सन् १९६९ मा निर्माण सुरु गरेर १९७३ मा खुलेको रहेछ । तत्कालिन अवस्थामा ५ करोड डलरको लागतमा बनेको थियो सुरुङ ।
 
अमेरिका प्रविधिमा निकै अगाढी छ । आधा शताव्दी अघिनै पानीजहाजलाई ओहोर–दोहोर गर्न सहज होस् भनेर यस्तो सुरुङ बन्नुले अमेरिका विकासमा स्याचुरेसनमा यसै पुगेको होइन रहेछ भन्ने तथ्यलाई पुष्टी गरेको छ ।
 
पानीमुनिको सुरुङलाई पार गरेपछि हाम्रो यात्रा अब लामो पुलमा भयो । ‘ओहो, कति लामो पुल रहेछ,’ पत्नीले भन्छिन्–‘त्यो महासागर होला होइन ?’ हामी ‘मोबिल–बे’ माथि खडा भएको हाइवे–१० को पुलबाट अघि बढ्दैछौ ।
 
त्यो महासागर थिएन । गल्फ अफ मोबिल अर्थात मोबिलको खाडी थियो । गल्फ अफ मेक्सिकोको सानो भाग हो मोबिलको खाडी । यही खाडी माथिको पुल हुँदै हामी पूर्बतिर जाँदैछौँ ।
 
‘होइन, यो पहाड भन्ने चिज देखिँदै देखिदैन त,’ पत्नीको अर्को जिज्ञासा थियो ।
 
हिजो शुक्रबार ड्यालसदेखि सुरु गरेको यात्राको क्रममा यतिखेर हामी फ्लोरिडा राज्य प्रवेश गरिसकेका छौँ । अलाबामालाई १० मिनेट अघि बाइबाइ गरेर केही बेर हामीले भिजिटर सेन्टरमा ब्रेक लियौँ । हिजोदेखि आजसम्म कहिँ कतै पहाडको थुम्को समेत देखिएको छैन । जता हेर्यो उतै मैदान जस्तो । उता जंगलले पर क्षितिजसम्म आँखा पुर्याउन पनि दिँदैन ।
 
टेक्ससमा कहिँ कतै पहाड देखिँदैन । पहाडमात्र होइन अलिकति अग्लो जमिन पनि छैन । अग्लो ठाउँ छन् त केवल आकासेपुलहरुमात्र । गाडीका लागि बनेका ती पुलको माथिल्लो भागमा पुग्दा पहाडमै छु जस्तो भान हुन्छ ।
 
टेक्ससमा आँखाले देखुन्जेलसम्म समथर देखिन्छ । पर क्षितिजसम्मै समथर जमिन छ । टेक्ससमात्र होइन हामी पहिले बसेको ओक्लाहोमामा पनि समथर छ । कतै अग्लो पहाड छैनन् । पहाडको नाममा ओक्लाहोमामा टर्नर्स फल्स छ । त्यही फल्स हेर्न टेक्ससबाट धेरै मानिसहरु पुग्छन् ।
 
यो यात्राको क्रममा कहिँकतै पहाड त होला भन्ने मेरो पनि अपेक्षा थियो । चार राज्यहरु (टेक्सस, लुजियाना, मिसिसिपी र अलाबामा) पार गर्दा हामीले ६ सय ६५ माइलको यात्रा गरिसकेका छौँ ।
 
म पहाडमा जन्मिएको । नाममात्र पहाड हो हुनलाई । समथर बेसी थियो मेरो गाउँ । तर चारैतिरबाट अग्ला डाँडाले घेरिएको । स्कुल जान पनि डाँडाकाडा हिड्नु पर्दैनथ्यो ।
 
मोबिलबाट ६३ माइल यात्रा गरिसकेपछि हामी फ्लोरिडा राज्य प्रवेश गरेका थियौँ । फ्लोरिडालाई अमेरिकामा सूयोदयको राज्य (सनसाइन स्टेट) का नामले चिनिन्छ । अमेरिकाको सबैभन्दा पूर्बमा रहेको यही राज्यमा पहिलोपटक घाम लाग्छ र अन्य राज्यहरुमा क्रमशः लाग्छ भन्ने विश्वास छ ।
 
फ्लोरिडा प्रवेशसँगै अलिकति थुम्का जस्तो देखिए । तर त्यो पनि बास्तविक थुम्का थिएनन् । जंगल छेउछाउका थोरै ढिस्कामात्र थिए ती पनि ।
 
 
 
हाइवे–१० बाट दक्षिणतिर पहाड नदेखेपछि उत्तरतिर परैसम्म आँखा पुर्याउँछु म । फ्लोरिडाको उत्तरतर्फ रहेको जर्जिया राज्यको पहाड देखिन्छ कि भन्ने मेरो आश हुन्छ । तर के को देखिन्थ्यो र ? हाइवे छेउछाउका ढिस्काहरुलाई हेर्दै, रुखहरुलाई पछितिर पार्दै हामी निरन्तर पूर्बतिर हानिइरहेका छौँ । आजको हाम्रो गन्तव्य ओरल्याण्डो छ । त्यहाँ मेरी पत्नीको बहिनी छिन् । भोली ओरल्याण्डोबाट मायामी जाने प्लान तय भैसकेको छ ।
 
ओरल्याण्डोसम्म पुग्दा पनि हाम्रो पहाड हेर्ने धोको पुरा भएन । ओरल्याण्डोमात्र होइन भोलीपल्ट मायामी पुग्यौँ हामी । ओरल्याण्डोबाट अढाईसय माइल दक्षिण मायामी पुग्दा त हामीले समथर भूमी र पानीको धाप भन्दा केही भेटेनौ । किनकी जति जति दक्षिण गयो, उति उति समथर भूमि भेटिँदै थियो ।
 
मायामीसम्म मात्र होइन । त्यहाँबाट हामीले अमेरिकाकै सबैभन्दा दक्षिणीभाग कि–वेस्टसम्म पुग्दा पनि पहाड भेटेनौँ । मायामीदेखि कि–वेस्टसम्मको एकसय ६६ माइलको यात्रा त जीवनकै सबैभन्दा रोमाञ्चक रह्यो । यसअर्थमा रोमाञ्चक रह्यो कि अधिकांश समय समुद्रमाथि बनेका र टापुदेखि अर्को टापुलाई जोड्ने पुलमा यात्रा गरियो ।
 
मायामीदेखि आन्ध्र महासागरको बीचमा रहेको कि–वेस्टसम्म पुग्ने क्रममा अमेरिकाकै आठौ लामो पुल पार गर्नुपर्छ । झण्डै सात माइल लामो यो पुल पार गर्ने क्रममा दायाँबायाँ देखिने सामुद्रिक दृश्य अतिनै मोहक छ ।
 
कि–वेस्टको यात्राको रोमाञ्चक वर्णन, त्यो सानो टापु शहरको रमाइलो पक्षका बारेमा अर्को श्रृङखलामा लेख्ने छु । यसपटक भने पहाड र थुम्काको मृगतृष्णामै ड्यालसदेखि कि–वेस्टसम्मको यात्रा केन्द्रित छ ।
 
पेन्साकोलाबाट पूर्ब लागेपछि हाइवेका दायाँबायाँ असाध्यै मनोरम दृश्यहरु देखिन्छन । हरियाली, पारिलो घाम, लहरै रुखहरु, सिधा हाइेले यात्रा निकै रोमाञ्चक बनाएको छ । बीचबीचमा ग्याँस स्टेशनहरुमा रोकिँदै, कफी रिफिल गर्दै हाम्रो यात्रा निरन्तर छ । फ्लोरिडाको हावापानी सधैंभरि लगभग एकनासको, गर्मी हुने भएकोले अमेरिकाका अरु राज्यहरुको तुलनामा हरियाली बढ्तानै थियो । ड्यालसको कठाङ्ग्रिदो चिसोमा रुखहरु पुरै सुकेका र जिङ्ग्रिङ्ग छन् । तर फ्लोरिडा प्रवेश गरेर अघि जति जति अघि बढ्दै गयो उतिनै हरियाली बढ्दो थियो ।
 
छोरी आकृति मोबाइलमा मुभी हेर्नमै व्यस्त छिन् । म भने फोटोहरु खिच्दै, फेसबुकमा अपलोड गरिरहेको छु ।
 
एक महिना अघि फ्लोरिडको पश्चिमी भागमा पनि ठूलो आँधी आएको रहेछ । सडक छेउका रुखहरु लडेर अलपत्र परेका, कोही बीचबाट भाँचिएर सोत्तर भएका र कति त जरैसम्म उखेलिएका थिए । हाइवे छेउसम्मै आइपुगेका थिए ढलेका रुखहरु । रुख ढलेको देखेर आँधी निकै भयानक हुने अनुमान मेरो रह्यो । विशेषगरि अमेरिकाको इष्टकोष्टमा रहेका फ्लोरिडा, साउन क्यारोलाइना, नर्थ क्यारोलाइना, भर्जिनिया लगायतका राज्यहरुमा आन्ध्र महासागरबाट मडारिएर आउने आँधीले ठूलै संहार गर्दै आएको छ ।
 
डोरी तन्काएर नापजाँच गरेर बनाएको जस्तो छ हाइवे–१० । गाडीको स्टेरिङलाई छुन पनि पर्दैन । अटोक्रुजमा लगाएपछि गाडी एकनासको स्पिडमा अघि बढिरहेको हुन्छ । कतैकतै स्टेट ट्रुपरले पक्डिएका गाडी चालकहरु छेउमा हुन्छन् । शायद ओभरस्पिड गरेर होला । कतै ७० त कतै ७५ माइल प्रतिघण्टाको स्पिड लिमिट तोकिएको छ ।
 
अमेरिकाको पूर्बी राज्य फ्लोरिडाबाट सुरु भएको हाइवे–१० पश्चिमी राज्य क्यालिफोर्नियासम्म पुगेको छ । पूर्बी आन्ध्र महासागर नजिकबाट सुरु भएको यो हाइवेले पश्चिमको प्रशान्त महासागरलाई छोएको छ ।
 
दुईहजार चारसय ६० माइल (तीनहजार ९ सय ६० किलोमिटर) दुरीको यो हाइवेले अमेरिकाका दक्षिणका ८ वटा राज्यलाई छोएको छ । फ्लोरिडा, अलाबामा, मिसिसिपी, लुनियाना, टेक्सस, न्यू मेक्सिको, एरिजोना र क्यालिफोर्निया राज्यलाई यो हाइवेले जोडेको छ । ज्याकसनभिलबाट सुरु भएको यो हाइवेले क्यालिफोर्नियाको सान्टामोनिका पुगेर अन्त्य हुन्छ । दक्षिणीभेगको लाइफलाइनका रुपमा यो हाइवे परिचित छ ।
 
यो हाइवेको एक तिहाई भाग भने टेक्ससमा पर्छ । अर्थात ८ सय ८१ माइल टेक्ससमा पर्छ ।
 
हाम्रो गाडीको नेभिगेसनले साँझ ६ः३० मा ओरल्याण्डो पुगिन्छ भनेर देखाइरहेको छ । मलाई यात्रा गर्दा कहिल्यै पनि ओभरस्पिड गर्न मन लाग्दैन । ओभरस्पिडले दुईवटा जोखिम हुन्छन् । पहिलो त जुनसुकै बेला पनि पुलिसले टिकट दिनसक्छ । अर्को जोखिम भनेको गाडीको आयु समेत कम हुन्छ । ठिक्क स्पिडमा हिँडाउँदा गाडीलाई समेत प्रेसर पर्दैन । अनि मैले सानैदेखि जानेको ट्रक सायरी पनि छ–‘छिटो गए भन्न सकिँदैन, ढिला गए अवश्य पुगिन्छ ।’
 
तर, सोचे जस्तो कहाँ हुन्छ र ? हाइवे–१० मा पर्ने वेनफिल्ड आउनु अघिनै हामीले एक्जिट लिएर हाइवे–७५ साउथ लिनुपर्ने थियो । तर नेभिगेसनले त्यो हाइवेमा दुर्घटना भएको संकेत ग¥यो । नेभिगेसनले दुर्घटनाको संकेतमात्र गरेन कि हाइवे–१० बाटै सिधा पूर्ब ज्याकसनभिल गएर हाइवे–९५ लिँदा एक घण्टा छिटो हुन्छ भनेर सुझाव पनि दियो ।
 
दुर्घटनाका कारण डेढ घण्टा ढिला हुने भनेर नेभिगेसनले देखाइसकेको हुँदा अब हामीले ज्याकसनभिलकै बाटो समात्यौँ र सिधै पूर्बतिर लाग्यौँ । ज्याकसनभिलबाट ओरल्याण्डो पुग्न आन्ध्र महासागरको नजिकैबाट पार गरेको हाइवे–९५ लिनुपर्छ ।