मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्रीको राजीनामा माग, डा केसीको अनशन कायमै

प्रधानमन्त्रीको राजीनामा माग, डा केसीको अनशन कायमै


काठमाडौँ । पुस २५ गतेदेखि ६ बुँदे माग राख्दै आमरण अनशन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले सत्तारुढ पार्टीको सरकारले तीन करोड नागरिकको गुणस्तरीय र सर्वसुलभ सेवा पाउने अधिकारभन्दा पार्टीसँग साँठगाँठ भएका अमुक मेडिकल कलेजको स्वार्थलाई महत्व दिएको भन्दै आक्रोश पोखेका छन् । 
 
शुक्रबार प्रतिनिधिसभामा व्यापक विरोध र अवरोधका बीच चिकित्सा विधेयक पारित गरिएपछि पत्रकार सम्मेलन आयोजना गर्दै डा केसीले सरकारले विगतका सम्झौताविपरीत राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी गरेकाले सत्याग्रहलाई जारी राख्ने जनाएका छन् । 
 
उनले आफैँले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत भएका र आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । 
प्रधानमन्त्रीको निर्णय क्षमता उनको स्वास्थ्य अवस्था तथा उनले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मूल्य राष्ट्रले चुकाइरहन पर्नु दुर्भाग्यपूर्ण कुरा भएको स्पष्ट पार्दै अभियानमा सहभागी हुन सबै नागरिकहरुलाई खुला अपिल गरेका छन् । 
 
डा केसीले जारी गरेको प्रेस विज्ञप्ति : 
 
आदरणीय आमनागरिक, दाजुभाइ तथा दिदीबहिनीहरु, 
 
नेपालको स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको सुधार तथा सुशासनका लागि हामी निरन्तर संघर्षरत रहेकोमा हाम्रो विगत सात वर्षको संघर्षको प्रतिफलस्वरुप राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी हुने अवस्थामा पुगेको थियो । यसबीच, सरकार आफैंले गठन गरेको विज्ञहरुको उच्चस्तरीय कार्यदलको प्रतिवेदनका साथै यस अगाडिका सरकारले जारी गरेका अध्यादेशहरुसमेतबाट दीर्घकालीन सुधारका लागि कस्तो ऐन आउनुपर्छ भन्ने तय भइसकेको अवस्था थियो । त्यसै आधारमा यस अगाडि १५ औँ सत्याग्रह टुंग्याउने क्रममा नेपाल सरकारसँग बुँदागत सम्झौता भएको थियो । 
तर, उक्त विधेयक पारित गर्ने काम अन्तिम अवस्थामा आएपछि प्रतिनिधिसभामा सत्तारुढ दलले जालझेल र जबर्जस्तीमात्रै गरेन, प्रधानमन्त्री तथा संसदीय दलको नेताले गराएको सम्झौता प्रतिकूल हुने गरी विधेयक पारित गर्यो । यसले सरकार तीन करोड नागरिकको गुणस्तरीय र सर्वसुलभ सेवा पाउने अधिकारलाई भन्दा बढी महत्व पार्टीसँग साँठगाँठ भएका अमुक मेडिकल कलेजहरुको स्वार्थलाई दिएको पुष्टि भएको छ । त्यसले सम्पूर्ण नेपाली नागरिकहरुमाथि नै सुनियोजितरुपमा धोका भएको छ । त्यसैले हामीले पौष २५ गतेदेखि सुरु गरेको सत्याग्रहलाई जारी राख्ने जानकारी गराउँदै तथा चिकित्सा शिक्षा विधेयकका अतिरिक्त हामीले राखेको बाँकी छवटै मागहरु पूरा गर्न  स्मरण गर्छौं । 
आफैँले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत तथा आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्री केपी शर्मा ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ । प्रधानमन्त्रीको निर्णय क्षमता उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मूल्य राष्ट्रले चुकाइरहन पर्नु दुर्भाग्यपूर्ण कुरा हो । 
साथै, आज सत्याग्रहको पक्षमा प्रदर्शन गरिरहेका नागरिकहरुलाई धरपकड र गिरफ्तार गरिएकोमा तत्काल सकुशल रिहाइको माग गर्दै हाम्रो अभियानमा सहभागी हुन सबै नागरिकहरुलाई खुला अपिल गर्दर्छौँ । 
 
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
२०७५ माघ ११ गते