विचार / ब्लग

सन्दर्भ: एनआरएन चुनाव: यो भ्रम कहिलेसम्म ? यो लहैलहै कहिलेसम्म ?

1347 पटक पढिएको

- डा मुरली अधिकारी

27th Jan 2019, Sunday | २०७५ माघ १३, आईतवार ०८:५८
मलाई एउटा एनआरएनको सदस्य र शुभचिन्तक भएको नाताले लेखेर अर्थ छैन भन्दाभन्दै र बुझ्दाबुझ्दै पनि मनमा लागेका कुराहरु लेख्नुपर्दछ भनेर अन्तर्मनले नै भनेकोले यो लेख लेख्न मन लाग्यो । यो लेख कुनै व्यक्ति नभई सग्रम एनआरएनको माध्यमबाट अमेरिकी नेपाली समाजमा समाजसेवाको नाममा विकास भइरहेको गलत प्रवृति र गैरजिम्मेवारीपनप्रति लक्षित छ । 
 
अब चुनावतिरै जाऊँ, यतिबेला अमेरिकामा एनआरएनको चुनावी सरगर्मी सुरु भएको छ अनि यो एनआरएनको चुनावका लागि सदस्यता बिस्तारमा  आज ती साथीहरु नै सक्रिय हुनुहुन्छ, जो वर्तमान कार्यसमितिमा पनि कुनै न कुनै पदमा आसिन हुनुहुन्छ । चुनावमा उठ्नु मानवीय स्वभाव हो । चुनावमा  कोही उठ्न खोज्न कसैलाई कुनै दोष दिन मिल्दैन । 
 
तर, प्रश्न उठछ : प्रश्न किन उठ्छ भने यही कार्यसमितिका साथीहरुले अमेरिकाको नेपाली समाजलाई, हामीहरुलाई, करिव दुई वर्षअगाडि एउटा फेररिस्तरुपी चुनावी घोषणापत्र नै थमाएर हामीले चुनावमा जित्यौँ भने यो यो सामाजिक कार्यहरु सम्पन्न गरी अमेरिकाको नेपाली समाजका लागि माथि उठाउने छौँ भनेर वाचा संकल्प गर्नुभएको थियो । अहिले त्यो घोषणापत्र कहाँ छ ? के त्यो घोषणापत्रमा लेखिएका कुराहरु पूरा भए ? के यो घोषणापत्रमाथि समीक्षा भयो ? किन भएन ? के आत्ममूल्यांकन भयो ? आत्मसमीक्षा भयो ? आत्मालोचना भयो ? 
 
यदि भएन भने, के यो अमेरिका नेपाली समाजका सदस्यहरुमाथि छरिएको भ्रममात्र थियो ? के यो अमेरिका नेपाली समाजका सदस्यहरु कुनै सचेत नागरिक होइनन् ? यिनीहरुलाई जे भनिदिए पनि हुन्छ भन्ने मानसिक सोचको उपज हो यो ? 
 
अझ महत्वपूर्ण प्रश्न यो छ कि, वर्तमान कार्यसमितिमा रहनुभएका साथीहरु जो यो चुनावका आकांक्षी पनि हुनुहुन्छ, यो स्वयम्ले लेखेको घोषणापत्रप्रति स्वयम् कति इमान्दार र जिम्मेवारी बन्नुभयो ? यदि यो घोषणापत्रप्रति इमान्दारिता अनि जिम्मेवारी केही पूरा गर्नु भएको छैन भने पुनः चुनावमा उठ्ने अनि पुनः अर्को घोषणापत्र छर्ने नैतिक अधिकार उहाँहरूलाई छ कि छैन ? यो कुराप्रति उहाँहरुको बोध र धारणा के हो ?  
 
मेरो विचारमा आगामी एनआरएन चुनावको मुख्य बहस, मुख्य प्रस्थानबिन्दु यही घोषणापत्र र इमान्दारिताको प्रश्नमा केन्द्रित हुनुपर्दछ । अहिले जसरी विगतलाई बिस्मृतझैँ गरी, मात्र सदस्यता विस्तार नै एनआरएनको एकल लक्ष्य हो जस्तोगरी अनि धेरैभन्दा धेरै सदस्य बनाएर नेपाली समाज उठ्छ भन्ने सोच राखेझैँ गरी जुन चहलपहल देखिएको छ, जुन दौडधूप देखिएको छ, यो नै गलत छ । यो भ्रामक छ, यो बेइमानीपूर्ण छ, आफ्ना वचन र प्रतिबद्धताप्रति इमान्दार पनि नरहने, आत्ममूल्यांकन पनि गर्न नसक्ने तर चुनावको मुखमा आएर पुनः अमेरिकाको नेपाली समाजलाई भ्रम छर्ने यो प्रयास नै गलत छ ।  
 
अमेरिकी नेपाली समाजको शुभेक्षा चिताउने साथीहरु, मुख्यतः सञ्चारकर्मी मित्रहरुले यो नैतिक इमान्दारिताको प्रश्नलाई नै यो चुनावको केन्द्रीय मुद्दाको रुपमा जोरदाररुपमा उठाउनु पर्दछ । नत्र एनआरएन चुनाव पूर्वचुनावझैँ अर्थहीन, उपलब्धिको नाममा हात्ती आयो फुस्सा, अनि समाजसेवाको पवित्र मर्ममाथि हाँसो अनि ठट्टा मजाक हुनेछ । जानी नजानी यसको भागीदार हामी पनि हुनेछौँ । विगतका कमीकमजोरीमाथि आत्ममूल्यांकन नगरी गरिने यस्ता चुनावहरु मात्र समयको बर्बादी अनि लहैलहैको यात्राजस्तै हुनेछ । यसले अमेरिकी नेपाली समाजलाई कहिल्यै टेवा पुर्याउने छैन । विगतमा जे जस्ता नाटक मञ्चन भयो त्यही हुनेछ, त्यही नाटक, त्यही प्रहसन, त्यही विभाजन हुनेछ । यो कुनै गहिरो समाजसेवा अनि अमेरिकी नेपाली समाजको उत्थान नभईकन यो चुनावमा रमाउने, जित्यो भने के के नै गरेँ भनेर आत्मरत्तिमा रमाउने एक मिथ्या प्रयासमात्र हुनेछ । 
 
त्यसैले अलिकति पनि समाजलाई माया गर्ने, विवेकशील साथीहरु यो मिथ्या प्रयासप्रति सजक रहनु आवश्यक देखिन्छ । बोल्नु आवश्यक छ ।  बहसलाई सही दिशा दिन आवश्यक छ । कसैले नमस्ते गर्यो वा राम्रो मान्छे भन्यो रे भन्दैमा फुर्किने अनि कोही रिसाएर केही घाटा पर्छ कि भनी डराउने सोचबाट हामी पनि जोगिनु पर्दछ । कोही खुसी हुन् वा कोही दुखी, हामीलाई के फरक पर्दछ ? सत्य समाजसेवामा हाम्रो कहिल्यै विरोध छैन । त्यसैले सत्यलाई सत्य र असत्यलाई असत्य भन्ने विवेक हामीमा पनि आउनु जरुरी छ । नत्र अमेरिकी समाजमा चुनावको नाममा विकास भइरहेको गलत प्रवृत्ति रोकिने छैन । समाजको उत्थान पनि हुने छैन अनि हाम्रा नानीहरुले पनि समाजसेवा भनेको त कुनै सार्थक सामाजिक कार्य गर्नुभन्दा चुनाव जित्नु, सदस्यता बिस्तार गर्नु र फेसबुकमा देखाउनु नै रहेछ भन्ने बुझ्नेछन् । यो हाम्रोतर्फबाट पनि महाभूल हुनेछ । 
 
म स्वयंसँग को यो वर्तमान कार्यसमितिसँग तीतो अनुभव छ । एनआरएन अमेरिकाको भन्ने र गर्ने समाजसेवामा कति पृथकता छ त्यसको अनुभवी म स्वयं छु । मलाई यो कार्यसमितिबाट नेपालबाहिर हुर्किरहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा लेख्न र बोल्न सिकाउन नेपाली भाषाका किताबहरु लेखिदिन अधिकारिक पत्र प्राप्त भएको थियो । मलाई के भनिएको थियो भने यी पुस्तकहरु तयार भएपछि एनआरएन अमेरिकाको अधिकारिक वेभसाइटमा राखिनेछ अनि यो संसारभरका नेपालीहरुलाई निःशुल्क उपलब्ध हुनेछ । यतिबेला नेपालबाहिर हुर्किरहेका हजारौँ नेपाली बालबालिकाहरु नेपाली भाषा लेख्न, बोल्न जान्दैनन् । 
 
यो कति दुखद छ कि, अभिभावकहरुले चाहेर पनि यसरी विदेशमा हुर्किरहेका बालबालिकालाई लक्ष्य गरी लेखिएका पुस्तक प्राप्त गर्न सक्दैनन् । मैले धेरै दुःख गरेर, रातिराति नेपाल फोन गरेर, धेरै समय खर्चिएर भाग १ देखि ६ सम्मका ६ वटा पुस्तकहरु वर्तमान कार्यसमितिलाई दिएको थिएँ । यी पुस्तकहरु म स्वयंको डल्लास नेपाली स्कुलको धेरै वर्षको अनुभव अनि नेपाली भाषाका विज्ञहरुबाट तयार पारिएको थियो । यदि यी पुस्तकहरु एनआरएन अधिकारिक वेभसाइटमा राखिएको भए हजारौँ नेपाली बालबालिकाहरुले नेपाली भाषा लेख्ने, बोल्ने अवसर पाउने थिए, यो कति लाभदायक हुने थियो । 
 
तर, यी पुस्तकहरुलाई केन्द्रीय सभापति भवन भट्टद्वारा क्यालिफोर्नियामा विमोचन गराइयो, फेसबुकमा टाँसियो अनि रद्दीको टोकरीमा फालियो । रद्दीको टोकरीमा फालियो किनभने यो अधिकारिक वेभसाइटमा आएको छैन । यो कस्तो समाजसेवा हो ? यो हाम्रा बालबालिकाप्रति कस्तो शून्य समवेदना हो ? यो कस्तो मजाक अनि नैतिकता हो ? तपाईंहरुलाई यी हाम्रा बालबालिकाहरुले नेपाली भाषा नबोलेको देख्दा अलिकति पनि दुःख लाग्दैन ? तपाईंहरुलाई यी कुराहरुको महत्वबोध हुँदैन ? मलाई लाग्दछ, मलाई यी सम्पूर्ण प्रश्नहरु सोध्ने अधिकार छ । यी पुस्तकहरु आज वेभसाइटमा राखिएको भए एनआरएन अमेरिकाले कति बालबालिकाहरुको जीवनलाई स्पर्श गथ्र्यो होला ? कति बालबालिका अनि अभिभावकहरु लाभान्वित हुनुहुन्थ्यो होला ? समाजसेवाको नाममा अरुले बनाइदिएको पुस्तकहरुलाई वेभसाइटमा राख्नेसम्म जाँगर नहुने यो प्रवृतिबाट तपाईंहरुले पुनः आगामी चुनावमा जिते पनि अमेरिकी नेपाली समाजलाई यो यो गर्छुभन्दा अमेरिकी नेपाली समाजका सदस्यहरुले कसरी विश्वास गर्ने ? 
 
के एनआरएनको चुनाव भनेको व्यक्तित्व निर्माण गर्ने अवसरमात्र हो, हाहुँ गर्ने हो, चुनाव जित्ने हो, गुटबन्दी गर्ने हो, जसले जे लेखे पनि हामीमा राजनीतिक हुल्याहा प्रवृत्ति छँदैछ, अलिअलि खर्च गरेपछि पछि लाग्ने छँदैछन्, समाजसेवा भनेको त्यस्तै हो भन्ने तपाईंको भित्रि सोच हो भने के त्यो एक भ्रम होइन ? के तपाईं स्वयंको चरित्रलाई त नष्ट गरिरहनु भएको छैन ? कतै समय बर्बाद त गरिरहनु भएको छैन ? के कुनै व्यक्तिको व्यक्तित्व कर्म र चरित्रले निर्माण हुने होइन ? मात्र चुनाव जितेर कोही समाजको प्रतिष्ठित व्यक्तित्व बन्ने भए एनआरएनमा चुनाव जितेकै कारण को कति सम्मानित छ ? 
 
यो कति दुःखद छ कि आज एनआरएनको सदस्यता बनिदिनुस् भनेर घरघर ढोकाढोकामा गएर अनुरोध गर्नुपर्ने स्थिति आएको छ । यस्तो अवस्था किन आयो ? किन अमेरिकाका नेपालीहरुलाई एनआरएनको साधारण सदस्यतासम्म पनि लिन मन मरेको होला ? हामी कहाँ चुक्यौँ ? आदि प्रश्नहरुको जवाफ, बहस अनि कार्यसमितिमा छलफल गर्नु त कता हो कता घरघर पुगी आफन्त, साथीभाइ, र नातागोतासँग अनुरोध गरी-गरी ससाना समूहमा हाँसेको फोटो के के नै उपलब्धि गरेझैँ फेसबुकमा राखेर हामी कति सतही र मिथ्या प्रदर्शन र समाजसेवामा हामी विश्वास हामी गर्दछौ भनि देखाई रहेका छौ |
 
के यही हो हाम्रो समाजसेवा ? के एनआरएनमा धेरै सदस्य बनाएर हामी सफल हुन्छौँ ? कि एनआरएन अर्थपूर्ण, वास्तविक, दीर्घकालीन समाजसेवाका कार्यक्रम ल्याएर सफल हुन्छ ? म तपाईंहरुसँग बहस गर्न चाहन्छु ।
 
समाजसेवामा मात्र दुई शब्द छन्— समाज अनि सेवा । समाजसेवा भन्नेबित्तिकै त्यहाँमात्र ‘सेवा’ हुन्छ । त्यहाँ कुनै प्रदर्शन, अर्थहीन ठूलोमान्छे भएँ भन्ने दम्भ, कुनै छलकपट हुनै सक्दैन । त्यहाँ व्यक्ति र समाजको सँगसँगै रुपान्तर हुन्छ, आज अमेरिकी नेपाली समाजका कैयन चुनौती, अवसर र सम्भावना छन्, अमेरिकाभरि फैलिएको एनआरएन स्वयंमा महत्वपूर्ण संस्था हो । यो हाम्रो संस्था हो । यो संस्थाबाट समाजको लागि धेरै काम गर्न सकिन्छ, गरिनुपर्दछ । तर, बिनासमीक्षा, बिनाआत्ममूल्यांकन, बिनाअर्थपूर्ण सामाजिक कार्यक्रम, बिनाबहस, मात्र सस्ता चुनावी चहलपहल, अनि मात्र सदस्यता बिस्तारबाट यो लक्ष्य पूरा हुन सक्दैन । यदि मुख्य विषयबाट पन्छिएर यस्तै आत्मरतिमा रमाइरहने हो भने यो भ्रम कहिलेसम्म ? यो लहैलहै कहिलेसम्म ? अनि यो समयको बर्बादी कहिलेसम्म ?
 
—पूर्वमुख्य संयोजक, ड्यालस पशुपति बुद्ध मन्दिर (२००७ - २०१४)