मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसको मन्दिरमा एकैदिन १२ कार्यक्रम

ड्यालसको मन्दिरमा एकैदिन १२ कार्यक्रम


ड्यालस (अमेरिका) – आइतबार ड्यालसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा एकै दिन १२ वटा कार्यक्रमहरु सञ्चालन भए । 
 
उसैपनि ड्यालसमा हरेक दिनजसो नेपाली समुदायका कुनै न कुनै कार्यक्रमहरु हुन्छन् । त्यसमाथि सप्ताहप्त (शनिबार र आइतबार) बढीमात्रामा कार्यक्रहरु हुँदै आएका छन् । यसपटक जनवरी २० तारिक आइतबार त मन्दिरमा असाध्यै भीड भयो । 
 
मन्दिरमा हरेक आइतबार ३/४ वटा कार्यक्रमहरु हुँदै आएकोमा यसपटक १२ वटा कार्यक्रमहरु भएको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेलले बताए । मन्दिरको गाडी पार्किङगर्ने लटमा पटक पटक सवारीजाम भएपछि पोखरेल आफैं माइकिङ गरेर गाडीलाई मन्दिर पछाडी रहेको खाली चौरमा लैजान अनुरोध गर्नमा व्यस्त थिए ।
 
उनका अनुसार आइतबार बिहान ८ देखि साँझ ५ बजेसम्म कुनै हल खाली भएनन् । बिहान नियमित योगअभ्यासबाट सुरु भएकोमा साँझ स्काउटको कार्यक्रम थियो ।
 
अधिकार संस्थाले एनएसटीसँगको सहकार्यमा टिपिएस खारेजीपछि त्यो स्टाटसमा रहेका नेपाली समुदायका सदस्यहरुका लागि विकल्पका विषयमा छलफल कार्यक्रम राखेको थियो । त्यस्तै लायन्स क्लबले डायबिटिजका विरामीहरुका लागि चेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो । लायन्सले मधुमेहका विरामीहरुका लागि घरमै जाँच्न मिल्ने मेसिन समेत निशुल्क वितरण गरेको थियो ।
 
त्यस्तै ड्यालस एभरेष्ट लायन्स क्लब र बिडिए अमेरिकाले मन्दिर प्राङगणमै रक्तदान कार्यक्रम आयोजना गरेका थिए । 
 
मन्दिरमा बिहान ११:३० बाट बनारस हिन्दू विश्वविद्यालयबाट आचार्य गर्नुभएका स्वामी चक्रधराचार्य महाराजले एक घण्टा पूर्विय दर्शनका बारेमा प्रवचन दिएका थिए । 
 
त्यस्तै मन्दिरमा दिउँसो १ बजेबाट बालबालिकाको कक्षा पनि सञ्चालन भएको थियो । यी बाहेक अन्य नियमित कार्यक्रमहरु समेत भएका थिए । कोठैपिच्छे बिभिन्न संस्थाहरुका बैठक, छलफल पनि थिए । 
 
‘हामीलाई मन्दिरको पूर्वाधार निकै साँघुरो महसुस भैसकेको छ । अब नयाँ र भव्य मन्दिर बनाउन सबै जनाले होस्टेमा हैँसे गरेर अघि बढ्नुको विकल्प छैन,’ अध्यक्ष पोखरेलले भने । युलेसमा पशुपतिनाथ र बुद्धको अलग अलग संरचना सहितको मन्दिर बनाउने तयारीमा एनसिएससी अघि बढिसकेको छ । जहाँ प्रशस्त पार्किङ, एकै पटक धेरै कार्यक्रमहरु सञ्चालन गर्न मिल्ने हलहरु, क्याफ्टेरिया, पार्क समेत रहनेछन्।