मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

‘खुला आकाशमुनि कोही मर्नु नपरोस्’

‘खुला आकाशमुनि कोही मर्नु नपरोस्’


काठमाडौँ । काठमाडौँमा चिसो बढेसँगै सडक, मन्दिर, प्रतिक्षालयलगायत विभिन्न स्थानमा बेवारिसे मानिसको मृत्युका घटना बढे । प्रहरीको नियन्त्रण कक्षमा रहेको १०० नम्बरमा फोन गरी स्थानीयले बेवारिसे व्यक्ति सडकमा फेला प¥यो भनेर पटकपटक जानकारी दिन थाले । 
 
चिकित्सा सेवा नपाएर चिसोका कारण खुला आकाशमुनि बस्ने वृद्धवृद्धा बढी मृत्युको सिकार हुने गरेका घटना छन् । पटकपटक यस्ता जानकारी आउन थालेपछि प्रहरीले विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर उनीहरुलाई सडकबाट उठाउने अभियान थालेको प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्त लामाले बताए । 
 
“चिसो र समयमै उपचार नपाएर कसैले पनि मृत्युवरण गर्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो”, लामाले भन्नुभयो, “अशक्त वृद्धवृद्धालाई सडकबाट उठाएर विभिन्न आश्रममा आश्रय दिन थालिएको छ ।” 
 
काठमाडौँमा तापक्रम कतिपय बेला शून्य डिग्री तल झर्ने गरेको छ । विभिन्न क्षेत्रमा हिमपात पनि जारी छ । चिसोका कारण खुला आकाशमुनि मानिसको ज्यान जानेक्रम बढेपछि सडकमा कष्टकर जीवन गुजार्ने अवस्थाको अन्त्यका लागि चलाएको खोजी अभियानअन्तर्गत एक साताको अन्तरालमा १३४ जनालाई सडकबाट उठाएको प्रहरी परिसर काठमाडौँले जनाएको छ । 
 
उनीहरुमध्ये सबैभन्दा बढी मानवसेवा आश्रम काठमाडौँमा राखिएको छ भने केहीलाई हिमालयन आश्रम र केहीलाई ज्येष्ठ नागरिक समाजद्वारा सञ्चालित आश्रममा राखिएको छ । “रातिमा अभियान चलाउनेको उद्देश्य एउटै हो, खुला आकाशमुनि कोही पनि मर्नु नपरोस्”, परिसरका प्रवक्ता होविन्द्र बोगटीले भने । 
 
नेपाल प्रहरीले काठमाडौँका हरेक प्रहरी युनिटलाई सूचना जारी गरी मृत्यु भएपछि भेट्टाउनुभन्दा मृत्यु हुनुअघि नै यस्ता व्यक्तिको अवस्था बुझ्न निर्देशन दिएको उनले बताए । उद्धार गरिएकाको हकमा नेपाल प्रहरी अस्पतालबाट स्वास्थ्य जाँचलाई समेत सँगसँगै अभियान अगाडि बढाएको उनले बताए । 
 
चलाएको खोजी अभियानका क्रममा रोगले ग्रस्त भएका बिरामी सडकमा यत्रतत्र फेला परेका छन् । मानवसेवा आश्रम प्रदेश नं ३ का संयोजक सुमन वर्तौलाले सामूहिक सहकार्यमा भएको खोजी अभियानमा उद्धार गरिएका व्यक्तिले अहिले आश्रम भरिएको बताए । कतिपयको स्वास्थ्य नाजुक रहेकाले उपचारका लागि अस्पतालसमेत लगिएको छ । 
 
आश्रममा आएकामध्ये धेरै काम गरेर खान सक्ने भएकाले अशक्तलाई संरक्षण गरी अन्यलाई परिवारमा पठाउने काम भइरहेको वर्तौलले बताए । आश्रमसहित पशुपति क्षेत्र विकास कोष, काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीले अभियान जारी राखेका छन् । 
 
उद्धार गरिएका धेरै आश्रममा बन्नुपर्ने अवस्थाका छैनन् । काम गर्न सक्ने स्वस्थ पनि छन् । कतिपयको परिवार पनि भएको फेला परेको छ । “दिनभरि भारी बोक्ने अनि राति सडकमा सुत्ने पनि भेटिए”, परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले भने, “उनीहरुलाई सडकमा बस्न निरुत्साहित गर्नुपर्छ ।” 
 
मदिरा पिउने अनि सजिलोका लागि सडकमा सुत्ने र माग्ने गरेको पाइएको भन्दै पोखरेलले मदिराको लतमा लागेपछि कसैले नपत्याउने र सडकमा निस्कनुपर्ने अवस्था रहेको पाइएको बताए । 
 
काठमाडौँमा खुला आकाशमुनि कति जना छन् भन्ने यकिन विवरण छैन । प्रहरीले करीब २०० को विवरण सङ्कलन गरेको थियो । तर सडकमै सुत्नेको सङ्ख्या भने त्योभन्दा निकै बढी रहेको यसै क्षेत्रका काम गर्ने सङ्घसंस्थाको भनाइ छ । अझै दिनभरि सडकमा माग्न लगाउने र राति घर लैजानेसमेत रहेको भन्दै प्रहरीले यस्ता व्यक्तिलाई खोजेर कारवाहीको दायरामा ल्याउने जनाएको छ ।