मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

समृद्धिको सपना पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहन : प्रचण्ड

समृद्धिको सपना पूरा गर्न निजी क्षेत्रलाई प्रोत्साहन : प्रचण्ड


भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेमात्र समृद्धिको सपना पूरा गर्न सकिने बताएका छन् । 
 
बिहीबार १२औँ संस्करणको चितवन महोत्सवको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई सकारात्मक ढङ्गले प्रोत्साहित गर्नुपर्ने उल्लेख गरे । मुलुकमा विकास हुनका लागि जनताको जीवनस्तर उठ्नुपर्ने र जनता समृद्ध भएमात्रै समग्र समृद्धिको सपना पूरा हुने जिकिर गरे । पूर्वाधार र विकासका दृष्टिले निजी र सार्वजनिक क्षेत्रका बीचमा नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने उनको भनाइ थियो । जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम र विकासलाई गति दिने चुनौती र समस्या रहेको उनले बताए । 
 
चितवन विकास पूर्वाधारका हिसाबले नमुना बन्ने बाटो रहेकाले यहाँको नक्कल गरेर अरु जिल्लाले पनि आफूलाई चितवनजस्तै बनाउन कोसिस गर्नुपर्नेमा उनले जोड दिए । 
 
उनले विकासको नेतृत्व गर्न नसकेमा हालको कम्युनिस्ट सरकारको पनि कुनै अर्थ नहुने उनले बताए । विकास गर्न सकेमात्र कम्युनिस्ट पार्टीको उद्देश्य सिद्ध हुने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई पनि बिरालो सेतो वा कालो हो, त्यससँग मतलब छैन, केवल विकास भए पुग्छ ।’ 
 
कार्यक्रममा प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाल, प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, किशोर प्रधान, प्रजिअ जितेन्द्र बस्नेत, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी लगायतले विकास र समृद्धिको बाटोमा सहयोग आवश्यक भएको बताए । 
 
स्मारिका विमोचन 
 
कार्यक्रमका अवसरमा महोत्सवको सन्दर्भमा प्रकाशित स्मारिका र चितवन जिल्ला पर्यटन निर्देशिकाको अध्यक्ष दाहालले विमोचन गरेका थिए । सो अवसरमा नेपाली र अंग्रेजी दुवै भाषामा रहेको पर्यटक गाइड बुक पनि विमोचन गरिएको थियो । महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ । 
 
महोत्सवमा ५७० व्यापारिक कक्ष रहेका छन् । उद्योग वाणिज्य सङ्घ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा महोत्सव गरिएको हो । 
 
गणेशस्थान निर्माण स्थलको निरीक्षण 
 
यसैबीच, पूर्वप्रधानमन्त्री दाहालले भरतपुरको गणेशस्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने बताएका छन् । सो स्थलको स्थलगत निरीक्षणपछि उनले राम्रो पर्यटकीयस्थल बन्न सक्ने उल्लेख गरेका हुन् गणेशधाम निर्माणका लागि गुरुयोजना र विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । धाम निर्माणका लागि करीब रु ८० करोड लाग्ने अनुमान गरिएको छ । 
 
हालै मात्रै महायज्ञ आयोजना गरी रु ११ करोड सङ्कलन गरिएको थियो । सो ठाउँमा तलाउ, पार्क, मन्दिर, गणेशको मूर्ति लगायतका संरचना निर्माण गर्ने योजना रहेको छ ।