मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

अनुत्तरित मन – रन्जु मार्ग

अनुत्तरित मन – रन्जु मार्ग


नौलो देश, नौलो परिवेश,
नौलो भाषा, नौलो भेष,
नौला अनुहारहरू, नौला चालचलनहरू,
बुझेर पनि बुझ्नै गाह्रो, चिनेर पनि चिन्नै गाह्रो,
केही बुझेजस्तो, केही नबुझेजस्तो,
म अद्भूत अनुभवमा मडारिरहेछु।
 
*********
मेरा विगत बल्झाउने पलहरू,
विस्मृतीमा लुप्त सम्झनाहरू,
मानसपटल नै विस्फोट गराउने उद्दीप्त तरङ्गहरू
सधैँ सधैँ, 
मुक्तिको यो वैयक्तिक अर्थहीन पौठेजोरीको खेलमा
मेरो आफ्नै परिचय मागिरहेका छन्।
 
ढोका ढक्ढक्याएर,
निद्रा ब्युझाएर,
तन्द्रा छट्पटाएर
सोधिरहेछन् मेरो अस्तित्व
अनि, मेरो आदी, माझ र अन्त्य।
 
*********
यसपल,
मेरो परिवेश वा भनौँ महत्त्वाकांक्षाले
उडाएर धर्तीको अर्को कुनामा पछारिदियो,
म नाजवाफ छु,
विभाजित मनको अर्धनिद्रामा
प्राणहिन जीवनको चिसो कल्पनामा
आफ्नै मनको घात-प्रतिघातमा रन्थनिएर
म, मैलाई खोजिरहेछु,
उपेक्षित आफ्नै छायाँ
मैसँग डराएर भागिरहेझैँ लाग्छ।
 
*********
यतिखेर म,
मानव मूल्यहीन कालखण्डको भुतभुते खरानीमा,
मान्छे हुनुको अर्थ खोजिरहेछु,
मान्छेलाई मान्छेसँग छुट्याउने आकाशमुनि
न्यानो स्नेहको लेपन खोजिरहेछु
मनै छिया-छिया पार्ने कटु बचनहरूको विचमा
बरफिलो हिमालको शीतल छायाँ खोजिरहेछु। 
भावनाहिन छुद्रताको तीखो वाणमा
आप्रवासी नामको झण्डा ठड्याउन खोजिरहेछु।
सपनाको थुप्रोभित्र के छानौं, के नछानौं,
अतृप्त मृगतृष्णाको अनुरागभित्र के समेटौ, के नसमेटौ,
आज आफ्नै मनसँग सोधिरहेछु,
 
परदेश- आशिष हो वा अवसाद ?
एक अनुत्तरित मन दोधारमा प्रतीक्षा गरिरहेछ !