विचार / ब्लग

देशको अनुहार फेर्न हिँडेका यी महाबीर

410 पटक पढिएको

– नम्रता गुरागाइँ

8th Jan 2019, Tuesday | २०७५ पुष २४, मंगलवार ०७:२१
“६३ वर्षको युवा म ! किनकी मेरो आफ्नै उमेरका कोहि पनि साथीहरु छैनन् र म सँधै ३० वर्ष भन्दा कम उमेरका भाइबैनीहरुसँग काम गर्छु । अझ सामाजिक काम र प्रबिधिको विकास गर्न शुरु गरेको त २६ वर्षमात्र भयो । त्यो हिसाबले त म भर्खर २६ वर्षको मात्र भएँ नि !”
 
हाँस्दै माहाविर पुन भन्छन । न कसैलाइ गाली गरेका छन, न कसैको कुभलो चिताएका छन । एकनासले देशमा प्रविधीको विकास गर्न आवाज उठाउँछन । देशमा भएको साधन र श्रोतलाइ उपयोगमा ल्याउन अनुसन्धान मुलक काम गर्न अनुरोध गर्छन । दिनदिनै अरबका खाडीमा रोजगारका लागि जाने युवा जमातलाइ
 
रोकेर रोजगार दिने अवस्था नेपालमा नै सिर्जना गर्नु पर्छ भन्छन।
 
दिनदिनै उच्च शिक्षाको लागि बेलायत, अमेरिका र अष्ट्रेलिया जाने युवा जमातलाइ रोकेर गुणस्तरिय शिक्षा दिनका लागि सस्तो तर उच्च स्तरिय विश्वविद्यालय निर्माण गर्नुपर्छ भन्छन। देशलाइ आर्थिक समृद बनाउन विदेशमा हुने नेपालीहरुबाट बुद्धी, शीप र जाँगरको अपेक्षा गर्छन, अचम्म लाग्यो । राजनैतिक  पाटीको एउटा न एउटा बर्को ओढेका मान्छेहरुले एकले अर्कालाइ गाली गरेको सुन्दासुन्दा पाकेका कानमा कामका पवित्र कुरा पस्दा सुनिरहुँजस्तो लाग्नेरहेछ । फलेको वृक्ष भनेर मान्छेलाइ संज्ञा दिएको सितिमिति कहाँ हो रहेछ र ! महाविरको सरलता, सहजता र इमान्दारिता कानुनको कुन कसीले नाप्न सक्ला र ! उनले विकासका कुरा गर्दा हातमा हात मिलाउँजस्तो लाग्यो । साथमा साथ मिलाउँजस्तो लाग्यो ।
 
अहिलेपनि विकासको घाम सबैतिर लागिनसकेको हाम्रो देशमा ६३ वर्ष अगाडि म्याग्दी जिल्ला कस्तो थियो होला ? राजधानी बाहिरको विकट पहाडी जिल्ला अनुमान मात्र गर्न पनि कठिन नै हुन्छ । विकासले नहेरेको, राहतले नभेटेको र शिक्षाको ज्योती जानै नमानेको विकट म्याग्दीको नाङगीमा ६३ वर्ष अगाडि जन्मेर हुर्किएका महाविर पुनले कस्तो शिक्षा पाए होला त ? जबकि अाैपचारिक रुपमा खोलेका स्कूल एउटापनि थिएन रे । उनी भन्छन— “पाँच कक्षासम्म पढ्यो भने ब्रिटिश अथवा इण्डियन गोर्खा आर्मीमा भर्ति गराउन पाइन्छ भनेर बृटिश अथवा इण्डियन गोर्खाबाटै अवकास प्राप्त गाउँलेहरुले आफना छोराहरुलाई पढाउन गाउँमा एउटा सामुदायिक विद्यालय खोलेको थिए जहाँ पढ्नको लागी कुनै पाठ्यपुस्तकहरु थिएनन् र लेख्नको लागी कापी कलम थिएनन् ।
 
'काठको पाटीमा खरी ढुंगाले लेख्ने चलन थियो । स्कूलमा शिक्षकहरुले आफुले जानेका कुराहरु पढाउँथे र प्राय जसो दिनभरी खेलेर बेलुका घर फर्कन्थ्यौ । पाँच कक्षा पासको प्रमाणपत्र बनाउनका लागि मात्र खोलेको त्यो स्कूलमा सात कक्षा सम्म पढाउने व्यवस्था गाउँहरुले नै गरे ।
 
मैले ७ कक्षा सकेपछि मेरो बुवाको मनमा खै के कुरा आयो थाहा छैन तर छोरालाइ अझै पढाउनुपर्छ भनेर मलाई गाउँबाट ४ घण्टा टाढाको मल्लाज भन्ने गाउँमा लगेर आठ कक्षामा भर्ना गरि दिनुभयो । त्यति बेला नै मैले पहिलो पटक केहि पाठ्यपुस्तक पढ्ने मौका पाएको थिएँ । त्यस पछि मलाई नौ कक्षा पढाउनको लागी भनेर नै हामी सबैलाइ म्याग्दीबाट चितवन सार्नु भयो ।”
 
सात कक्षासम्म गाउँमा खेलेर मात्र बिताएका महाबीरले आठ कक्षाबाट साँच्चै किताबको शिक्षा गुरुहरुबाट शुरु गर्दा कति गाह्रो भयो होला अनुमान पनि गर्न सकिदैन तर आफनो गाउँको स्कूलबाट बाहिरको स्कूलमा आएर पढ्दा सँधै क्लासमा प्रथम भए अरे, तर कसरी ?  के कक्षमा प्रथम हुनु भनेको एउटा रमाइलो जोक हो र ? पाठयपुस्तकमा भएका कुराहरु पढन नआउँदा सायद उनिपनि बसिरहेको ठाउँबाट धेरैपल्ट लडेहोला तर उठनका लागि र लड्दालड्दै उठेँ होला, अगाडि बढनका लागि । आँटीले गरेरै छोडछ भने झैं उनले एस.एल.सी गरेरै छोडे । उनि भन्दै गए-   “त्यस पछि बुबाले मलाई काठमाडौ पठाउनु भयो र मैले दुख सुख गरेर अमृत साईन्स कलेज बाट १२ कक्षा सम्म पढें । १२ कक्षाभन्दा अगाढी घरको आर्थिक अबस्थाले पढ्न सकिन । आर्थिक अभाबको कारणले पढ्न नसक्ने भएपछि चितवनमा मास्टरी पेशा समाए र आफुभन्दा साना भाइबैनीहरुलाइ पढाउने जिम्मा लिएँ।”  विभिन्न स्कूलहरुमा गरेर १२ वर्ष सम्म चितवनमा पढाए, अहिलेका डा. महाबीर पुनले ।
 
मास्टरी पेसामै भइरहेकै बेला एक पटक महाबीरको जिल्लाको सिडियोसँग नराम्रो सँग ठाकठुक पर्यो । ठाकठुक भए पछि उनलाई सिडियोले सात दिन सम्म पुलिस चौकीमा थुने । त्यहि रिसको झोंकमा उनले आफुले खाइरहेको जागिर छोडिदिए । त्यही जागिर छोडनु नै महाबीरको जीवन परिवर्तन गर्ने बलियो कारण हुन पर्छ जसले गर्दा पछि उनलाइ नयाँ प्रविधिहरु सिक्ने मौका मिल्यो ।
 
जागिर छोडेपछि महाबीर काठमाडौं आए तर अब के गर्ने भन्ने कुरा उनलाई थाहा थिएन । आवेशमा दिएको जागिरको राजिनामाले कतै जिस्क्याउने त होइन  ?
 
काठमाडौ बसाइको दुखमा अलिअलि खिन्नताले उनलाइ छोए पनि उपाय केही निस्केला कि भनेर उनले काठमाडौका सम्भावनाका गल्लीहरु धेरै  छिरे । त्यहीबेला युवाहरुको बाहिर पढन र जागीर खान जाने चक्कर भर्खर भर्खर चलिरहेको थियो । मान्छेहरु अरब तिर र जापान तिर फाट्टफुट्ट जान थालेका थिए ।  उनले पनि त्यतै तिर जागीर खान जाने सोच बनाई रहेका थिए तर एक जना साथीले उनलाई अमेरिका पढ्न जाने सल्लाह दिए । त्यसै अनुरुप उनले पनि अमेरिकाको युनिभर्सिटीहरुमा हुलाक बाट दरखास्तहरु पठाउन थाले किन भने त्यति बेला इन्टरनेट थिएन । अठार महिना सम्म निरन्तर रुपमा त्यसैमा लागी रहे । धेरै दरखास्तहरु रदद भए पछि अन्त्यमा अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का भन्ने विश्वविद्यालयले छात्रवृति सहित पढन जाने अनुमती दियो । यसरी विदेशको बिश्वविद्यालयले उनको उच्चशिक्षाको चाहना बुझि दियो ।
 
कहिले पनि बाहिर नहिडेका पुनलाइ अमेरिका पढन आउन खोज्नु हाडे ओखर नभएको होइन होला तर आफनो उच्च शिक्षा हासिल गर्ने चाहनाले ओतप्रोत उनले विदेशका लागि पखेटा हाले । केही वर्ष पछिको मेहनतपछि उनले त्यहांबाट ब्याचलरको शिक्षा लिए । पढाइ सक्दा उनले विज्ञान र कम्प्युटर सम्बन्धि धेरै कुरा जाने । आफुले जानेको कुरालाइ कतै आफनै गाउंमा प्रयोग गर्न त सकिदैन ? उनि सोचमग्न हुन थाले । केही समयपछि गाउघर मै गएर आफना अनुभब बाडने सोच राखी आफनो युवा उत्साह बोकेर महाबीर घर फर्किए । उनि चितवन पुगे । चितवन पुगेपछि उनलाइ आफनै जन्मथलोमा गएर केही गर्ने उत्साह जाग्यो र चितवनबाट म्याग्दीको नाङगी गांउ हानिए । उनको गाउंमा २४ वर्ष पछाडि फर्कंदा पनि केही सुधार नभएकोले उनले त्यही बसेर विकासका काम गर्ने विचार गरे तर कसरी ?
 
कहाँबाट शुरु गर्ने ?
 
बाटो छैन,
 
विजुली छैन,
 
स्कुल छैन,
 
कलेज छैन,
 
मान्छेको आय आजर्न गर्ने स्रोत छैन,
 
विरामी पर्दा अस्पताल छैन,
 
एउटा मात्र गरेर हुदैन तर सबै थोकको विकास हुन उत्तिकै जरुरी छ । कहांबाट शुरु गर्ने त विकास ? उनि सोच्न थाले । 
 
विकासको पहिलो खुटकिलो नै शिक्षा हो जहाँ टेकेरमात्र माथि चढन सकिन्छ भन्ने विश्वास भएका महाबीरले गाउँलेहरुको सहयोगमा एउटा माध्यमिक विद्यालय बनाए र त्यहीं पढाउन शुरु गरे । पढाउँदा पढाउँदै अन्यत्र तिर पनि उनको आँखा गयो । गाउँमा भएकै साधन र श्रोतलाइ अलि ब्यबस्थित रुपले गर्न पाए हुन्थ्यो भन्ने लागेर गाउँलेहरुसँग छलफल गरे । गाउँलेहरुले खुशी भएर महाबीरको योजनालाइ अघि बढाउन सहमती जनाए । बिद्यालय संचालनको लागी चाहिने आर्थिक श्रोत जुटाउन चौरी पालन, च्याउ खेती, चीज बनाउने काम, हाते कागज बनाउने काम, जाम बनाउने काम, खरायो पालन, कपडा बुनाइ र पर्यटकको लागी लजहरु बनाउने कामहरु समयान्तरमा शुरु भए गाउंमा । गाउंलेहरु केही प्रयासहरुमा सफल भए तर केहीमा भएनन । सफल नभएका सामुदायिक कामले पनि उनीहरुलाइ केही न केही सिकाए जसले उनीहरुलाइ अर्को काम गर्न बल मिल्यो ।
 
गाउँको विद्यालयमा पढाइ रहे पनि उनी बेला बेलामा आफुले पढेकै विश्वविद्यालयमा छोटो समयको लागी थप अध्ययन र अनुसन्धान गर्न अनि गाउँको स्कूललाई अझै राम्रो बनाउन सकिने सम्भावनाहरुको खोजी गर्नको लागी जान्थे जसको लागी बिश्वविद्यालयले उनलाई पूर्ण रुपमा छात्रवृति सहित सहयोग गरेको थियो । उनले सन् १९९६ मा आफ्नो प्रोफेसरको सहयोग लिएर आफ्नो गाउँ र नेपालको बारेमा वेबसाईटको निर्माण  गरे जुन बेला नेपालको बारेमा बनाईएको वेबसाईटहरु थिएनन भने पनि हुन्छ । यसरी पटक पटक आउने जाने क्रममा उनले अमेरिकामा अरु धेरै साथीहरु पनि बनाए र सूचना प्रविधिको बारे अझै गहन अध्ययन गरे साथै एम. ए को डिग्री पनि लिए । उनि कस्ता र कति मेहनती थिए भन्ने प्रश्नको उत्तरमा उनिसगैं नेब्रास्कामा पढने आशिष भट्ट भन्छन- “अत्यन्त सहयोगी माहाविर दाइ पढाइमा उत्तिकै मेहनती हुनुहुन्थ्यो । पढाइ शुरु हुन पाको छैन, वहां त पढनु पर्ने कुरा पहिला नै सबै पढेर सिध्याउनुहुन्थ्यो र अरुलाइ सिकाउनुहुन्थ्यो । वहांले सिध्याएको देखेर हामी कतिबेला सक्ने भनेर अत्तिन्थ्यौ बेलाबेला ।”
 
मेहनती महाबीरले केही वर्षपछि आफनो अध्ययन सिध्याए पछि त्यहाँ सिकेको सुचना प्रबिधि सम्बन्धि शीप आफनै गाउंमा लगेर प्रयोग गर्ने चाहना बढेर आयो । साथी भाइ र आफुलाइ पढाएका गुरुहरुसंग सल्लाह मागे । सल्लाह मात्र मागेनन उनले पाए देखि पुराना कम्प्युटरहरु पनि आफनो गाउँमा लाने कुरा समेत सुनाए । सहयोग माग्दा के पाइने रहेनछ र ! खुशी भएर गुरुहरु र अरु शुभचिन्तकहरुले आफुसंग भएका पुराना कम्प्युटरहरु दिए जसलाई खोलेर उनले पार्ट पुर्जाहरु संकलन गरे। सुटकेस भरी कम्प्युटरका सामान बोकेर महाबीर देश फर्किए ।
 
म्याग्दीको विकास केही वर्षदेखि हराएको माहाविरलाइ खोजिरहेको थियो ।  उनि केही दिनमै म्याग्दीको नाङगी पुगे । आफुले बोकेर ल्याएका कम्प्युटरका पार्ट पुर्जाहरुलाइ जोडजाड गरेर चलाउने मिल्ने गरि काठको बाकसमा जडान गरे । कम्प्युटरलाइ चाहिने बिजुलीको लागि माइक्रो हाईड्रो र सोलरको सिस्टमको ब्यबस्था गरे ।  यसरी गाउँघरका केहि बिद्यालयहरुमा प्रति स्कूल दुई तिन ओटाको दरले कम्प्युटरहरु वितरण भयो ।
 
गाउँमा कम्प्युटर  जडान भयो । अब यसमा वाएरलेस जोडेर घर बसिबसि संसार कसरी चिहाउने होला ? माहाविर फेरी सोचमग्न भए । बोल्नेको पिठो विक्छ भनेझै महाविरले जिल्ला हुदै माथि धौलागिरी, अन्नपुर्णजस्ता संसारमा नाम चलेका ट्रेकिंग गर्न र हिमाल चढन आउने पर्यटकहरुलाइ आफनो चाहाना सुनाए ।  उनिहरुलाइ आइपरेका अप्ठयाराहरुपनि सुनाए । आउने जाने पर्यटकहरु बिभिन्न देशका भएकाले उनिहरुले फर्केर गएपछि कम्प्युटर प्रविधिको लागि चाहिने साधन र श्रोतहरु जुटाइदिन थाले । काठमाडौ, पोखरा र विराटनगरमा मात्र इन्टरनेट भएको त्यो बेला म्याग्दीमा इन्टरनेट लान सजिलो थिएन । साच्चै भन्दा असम्भब नै थियो । पोखराबाट ४० किमी मात्र टाढा रहेपनि म्याग्दीको नाङगी गाउं पुग्न एउटा ठुलो डांडो काटनु पर्ने भएकोले वाएरलेस जडान गर्न कुनै कोणबाट पनि सजिलो थिएन । तर जहां इच्छा त्यहां उपाय भनेझैं क्यालिफोर्निया, फिनल्याण्ड र  बेल्जियमका युनिभर्सिटीका स्वयमसेबक बिद्यार्थीहरुले ल्याईदिएको घरभित्र मात्र चल्ने राउटर अर्थात (इनडोर राउटर) लाइ लामो दुरीमा कसरी प्रयोग गर्ने भनेर ति बिद्यार्थीहरुसंगै माहाविर सोच्न थाले । धेरै प्रयोगहरु फेल भएपछि अन्त्यमा त्यो प्रयास सफल भयो अर्थात नाङगीमा वाएरलेस जोडिएरै छोडयो । अब नाङगीबासीहरु कम्प्युटरबाट संसार चिहाउन थाले । प्रविधिको एउटा टुक्रो सानो राउटरलाइ टेलिभिजनमा प्रयोग हुने एन्टेना जोडने तरिका जानेपछि उनले म्याग्दीलाइ मात्र इन्टरनेटले जोडेनन । नजिकका जिल्लाहरु पर्वत, कास्की, बाग्लुंग र अन्नपुर्ण हिमालको बेसक्याम्पसम्मलाइ समेत इन्टरनेटले जोडे । मान्छेहरु घरै बसीबसी टाढा टाढाका कुरा हरु थाहा पाउने भए । १५, २० दिन लगाएर समाचार  आउने र जाने तरिका छाेटिएर एकैछिन मा समाचार आउने जाने भयो । खान छैन घरमा, आय आर्जन गर्ने स्रोत छैन, विरामी पर्दा औसधी गर्न जाने ठाउं छैन । यि साह्रा समस्याले आक्रान्त म्याग्दीबासीहरुका कम्प्युटरमा वाएरलेस जोडेर के काम ? सतही सोच्दा । भोक लाग्दा अब त्यही कम्प्युटरको स्कृन खाने ? विरामी हुंदा त्यसैलाइ औषधी मानेर दल्ने ? सामान किनेपछि पैसा भनेर त्यसैलाइ पसलेलाइ दिने  ?
 
दुखले जेलेको ठाउंका मनमा उब्जिएका कुरा तर वाएरलेस जोडेकाले स्थानिय मान्छेहरुले देशविदेशका मान्छेले गरेको आय आर्जनका कुरा आंखैले देख्न पाए । पढने र पढाउने तरिका देख्न पाए । नभन्दै मान्छेहरु नयां कुरा गर्न उत्साहित हुदै गए । बाहिरका मान्छेसंग तुरुन्तै सम्पर्क गर्न सकिने भएकोले नयां कुरा तुरुन्तै थाहा हुन थाल्यो । गाउंको विकास गर्न गाउँकै पुर्वाधारहरु उपयुक्त भएकाले जे पाइन्छ त्यसैलाइ नयाँ ढंगले सिकाउन थालियो । महाबीरले गाउका युवाहरुलाइ कम्प्युटर सम्बन्धी तालिम दिन थाले ।
 
 महाबीरको मेहनत र इन्टरनेट प्रविधिले मान्छेलाइ शिक्षित बनाउदै लग्यो । यसरी उनलाई संसारले बिस्तारै चिन्न थाल्यो र रामोन म्यागसेसे पुरस्कारका साथै बिभिन्न अन्तराष्ट्रिय पुरस्कारहरु प्रदान पनि गर्यो । उनी पढेको विश्वविद्यालयले पनि उनको कार्यलाइ सराहाना गर्दै उनलाइ अनरेरी पी. एच. डी को उपाधी प्रदान गर्यो । उनको कामको देश बाहिर कदर भएको सुन्न पाउनु कति ठुलो कुरा भयो होला म्याग्दी जिल्लालाइ अनि सिंगो नेपाललाइ त्यतिबेला, वर्णन गर्दा ठेलीका ठेली पुस्तक बन्न सक्छन ।
 
महाबीरले म्याग्दीमा मात्र सामुदायिक काम गरेका होइनन । उनले बिगत दुई बर्ष देखि राष्ट्रिय आविष्कार केन्द्रको अभियान चालेका छन । जुन अभियानको मुख्य उद्येश्य नेपालको प्रतिभाशाली सन्ततिहरुको नवीन सोच र सृजनालाई प्रयोग गरेर देशको आर्थिक बिकास गर्नु हो ।
 
उनि जहां पुग्छन त्यहांका केही गर्न खोज्ने मान्छेहरुलाइ जम्मा गरेका आविस्कारका  कुरा गर्छन र विभिन्न सामुदायिक काम गर्न उत्साहित पारेर फर्कन्छन । जहां जे सजिलै पाइन्छ त्यसकै प्रयोग गरेर मान्छेहरुलाइ नयां ढंगले काम गर्न जगाएर फर्कन्छन । केही भइरहेका कामलाइ अझै गर्न उत्साहित बनाउंछन  र राष्ट्रिय आविष्कार केन्द्र मार्फत सहयोग उपलब्ध गराउँछन। कृषि तथा बन बिश्वबिद्यालय रामपुरका बिद्यार्थीहरु लाई झिंगा बाट कुखुराको दाना उत्पादन गर्ने अनुसन्धानको लागी प्रोत्साहित गरेका छन । काठमाडौ बिश्वविद्यालयका विद्यार्थिहरुलाई घाम बाट पानी तताउने प्रविधिको बिस्तार गर्न आविष्कार केन्द्र मार्फत सहयोग गरि रहेका छन्।
 
दुर्गम गाउँहरुमा औषधी पुर्याउनको लागी ड्रोन बनाउने प्रतिभाशाली युवाहरुलाई पनि सहयोग गरि रहेका छन् । अहिले राष्ट्रिय आविष्कार केन्द्रले १२ ओटा अनुसन्धानको कामहरुलाई सहयोग गरि रहेको छ र अरु धेरै प्रस्ताबहरु पनि आई रहेका छन् । यसरी नेपालीहरुको प्रतिभालाई नेपालमा नै बस्ने बाताबरण बनाएर सके सम्म बिदेशी सामानको आयात घटाउने र स्वदेशमा निर्मित बस्तुहरुको निर्यात बढाएर देशलाई आर्थिक रुपमा आत्म निर्भर बनाउने कामको जग बसाल्दै छन् महाबीर । उनको यो प्रयासलाई सारा नेपालीहरुले सकेसम्म सहयोग गरिरहेका छन् तर महाबीरले आर्थिक सहयोग मात्र खोजि रहेका छैनन् – बुद्धीको दान, सीपको दान, एक पटकको लागि मात्र आर्थिक दान र आविष्कार केन्द्रको प्रचार प्रसारको लागी समयको दान मागिरहेका छन ।
 
दुइ छोरीका बाउ उमेरले ६३ वर्षे महाविरले अमेरिकाबाट फर्केपछि जीवनमा जागिर कहिलेपनि खाएनन । पढाइपछिको आफनो साह्रा समय नेपालको दुर्गम जिल्लाहरुमा खर्च गरे, अझै गरिरहेका छन । उस्तै उमेरका मान्छेहरुले जागिरबाट अबकाश लिने बेलामा उनि अनुसन्धान कुरा गर्छन, आविस्कारका कुरा गर्छन । भजन र किर्तनमा आफनो साह्रा समय खर्च गर्न खोज्ने उमेरमा पर्यटकहरु आउने बाटोमा ट्रेकिंग रुट बनाइसकेको कुरा गर्छन । त्यो ट्रेकिंग रुटमा भएका होटलहरुमा बालिने ग्यास र दाउराको इन्धनले गर्दा उत्पन्न हुने कार्वनडाईअक्साइडलाई कम गर्नको लागी ५० किलोवाटको जलविद्युत परियोजना सम्पन्न गरेर विजुलीबाट नै खाना पकाउने, कोठा र पानी तताउने अनि बत्ति बाल्ने काम भैरहेको कुरा गर्छन । अचम्म लाग्यो माहाविर वातावरण जोगाउन पनि उत्तिकै लागेका छन ।
 
यति गर्दा नै माहाविर नेपालका लागि “विर” नै भैसके जहाँ सरकारले गर्न नसकेको काम एक्लैले आंटेर गरेका छन तर उनि यतिमा मात्र सन्तुष्ट लिएर बस्ने मान्छे होइन रहेछन । अहिले उनि देशको विकास गर्न सामुदायिक काममात्र नभएर दिर्घकालिन योजना र त्यसको विकासको लागि शीप र जांगर भएका मान्छे खोजि हिडेका छन । गाउँघरमा भएका साना स्वास्थ्य चौकीहरुलाई प्रबिधि मार्फत जोडेर तिनीहरुको केन्द्रमा एउटा सानो केन्द्रिय अस्पतालको विकास गर्ने   कुरा गर्छन । उनले केन्द्रबाट वरिपरीका गाउँहरुमा स्वास्थ्य सेवा दिने मोडेल तयार गरेर त्यसको संचालन पनि गरेका छन् । हाल देशमा भै रहेका सामाजिक कामहरु र बिभिन्न किसिमका सामुदायिक कामहरु दुखका बेला पाएको राहत मात्र हुने भएकाले अनुसन्धान तथा बिकासको माध्यमद्वारा मात्र देशको दिर्घकालिन आर्थिकबिकास गर्ने कामलाई निरन्तरता दिनको लागी सहयोग खोज्न हिडिरहेका छन।
 
उनि भन्छन—”आर्थिक बिकासको लागी ठुलो योजना शुरु गर्नु पर्छ ताकि त्यसले पैसा बनाउन सकोस र त्यो पैसा अन्य क्षेत्रमा लगाउन सकियोस । त्यसका लागि अनुसन्धान गर्ने मान्छेको खाँचो छ, कोही हुनुहुन्छ ?”  दुरदर्शी महाविर ज्ञान, शीप र बुद्दीको सहयोग माग्दै हिडिरहेछन यतिबेला ।
 
“सरकार पनि देश बिकासमा लागिरहेको छ तर काम गर्न सकिरहेको छैन” भनेर जनताको तर्फवाट सकारात्मक सोच राख्ने यि मात्र एक ब्यक्ति होलान जो सरकारलाइ सघाउन लागिपरेका छन । उनि भन्छन— “आर्थिक विकास हुन अनुसन्धानहरु हुनुपर्छ, त्यो पनि प्रविधिको क्षेत्रमा । सबै अनुसन्धानका कामहरु सफल हुन्छन  भन्ने छैन तर त्यस्ता अनुसन्धानहरु असफल भए पनि अनुसन्धानकर्ताहरुले केही नयाँ कुरा सिक्ने मौका पाउँछन् । जहाँसुकै बसेपनि र जोसुकै नेपालीहरुले पनि नवीन खोज र अनुसन्धान गर्न जांगर देखाउनुहुन्छ भने तपाइलाइ स्वागत छ नेपालमा !  कति खर्च लाग्छ सहयोग गर्न, राष्ट्रिय आविष्कार केन्द्र तयार छ” समेत भन्छन । यसो भन्दा पैसा कहाँबाट ल्याउने भनेर हाम्रो आङ नै जिरिंग हुन्छ तर उनी डराएका छैनन् किनभने उनका पछाडि धेरै सहयोगी हातहरु छन । केही वर्ष देखि सुन्नमा आएको राष्ट्रिय आविष्कार केन्द्रले केही नयां कुराको आविष्कार गरोस जसको फाइदा सबै नेपालीले लिन सकुन भन्ने सबै नेपालीको कामना छ ।
 
बिभिन्न कारणले देश आशूमा डुबेको बेला महाविर नेपाललाई सहयोग गर्न केही न केही काम गरिरहेको थिए । एकोहोरो किसिमले काम गरि रहने उनलाई देश विदेशबाट संघ संस्थाहरुले धेरै अवार्डहरु प्रदान गरेका छन् ।  २००४ मा Global Idea Bank बाट  Social Innovation Award, २००७ मा एशियाकै नोबल प्राइज मानिने Ramon Magsaysay Award ले  सम्मानित भएका छन भने २००७ मा नै वायरलेस प्रविधिको विकासमा उनले गरेको कामको कदर गर्दै उनी आफैले अध्ययन गरेको विश्व विद्दालय  University of Nebraska बाट Honorary Degree, Doctor of Humane Letters  ले सम्मानित भएका छन । नेपाल सरकारले उनलाई राष्ट्र दीप नामक उच्च पदक पनि प्रदान गरेको छ । यसको साथै उनी अमेरिकामा उनलाई Internet Hall of Fame बाट पनि सम्मानित गरिएको छ ।  उनलाई २०१४ मा अमेरिका स्थित Internet Society ले Jonathan B. Postel Service Award पनि प्रदान गरेको छ ।
 
देश विकासको लागी राष्ट्रिय आविष्कार केन्द्रलाई चाहिने पैसामा थपथाप उनले आफुले पाएका पदकहरु बेचिदिन्छु भन्नपनि पछि परेका छैनन माहाविर अचेल । ति पदकहरूलाई अमेरिकाको स्यान्फ्रान्सिस्को शहर मा online लिलाममा खेकापनि छन् रे । देशकाे अनुहार फेर्ने हातले त्यसो भनिरहँदा कता कता भाबुक बनायो यो पंत्तीकारलाइपनि र आफैलाई मनमनै भनें - “माहाविर  दाइ, तपाइले ति पदकहरु
 
बेच्नु हुदैन ! ती तपाइका गहना हुन । तपाइले लगाएको गहना देशले लगाएको हो । हामी तपाइलाइ सहयोग गर्न तयार छौ । विदेशमा बसेपनि हामी सबै नेपालीले आधा मन उतै छोडिआएका छौं । त्यही मन दुख्छ बेलाबेलै र भक्कानिन्छौ बेलाबेलै।”