मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अबको निर्वाचनमा कांग्रेसको बहुमत : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको बहुमत : महामन्त्री कोइराला


चितवन । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् । 
 
नेपाली कांग्रेस रत्ननगर नगर समितिले शनिबार टिकौली चौरमा आयोजना गरेको कार्यकर्ता भेटघाट, सम्मान तथा वनभोज कार्यक्रममा बोल्दै उनले पार्टीभित्र भिन्नता रहेका कारण गएका तीनवटै निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेको बताए । 
 
‘पार्टी एकढिक्का भए कांग्रेसलाई कसैले हल्लाउन सक्दैन’, महामन्त्री कोइरालले भने, ‘मिलेर काम गर्ने हो भने अर्को निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ ।’ 
 
गुट/उपगुटले पार्टी ध्वस्त भएको भन्दै महामन्त्री कोइरालाले व्यक्तिगत स्वार्थबाट माथि उठेर जनताको हितमा कांग्रेसले काम गर्ने बेला आएको बताए । उनले नेपाली कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्ने बताए । 
 
‘सभापति देउवासँग मेरो कुनै आग्रह तथा पूर्वाग्रह होइन’, उनले भने, ‘तर अब नेतृत्व परिवर्तन गर्न जरूरी छ ।’
 
कार्यक्रममा केन्द्रीय सदस्य महेश आचार्यले वर्तमान सरकारले विधिको शासन बिर्सिएको बताए । ‘सरकार नियन्त्रणबाहिर गएको छ’, उनले भने, ‘सरकारलाई नियन्त्रण गर्ने नेपाली कांग्रेसको भूमिका गतिलो भएन ।’ 
 
अर्का केन्द्रीय सदस्य धनराज गुरूङले जहाज खरिद प्रकरणमा संसदीय उपसमितिले कारबाहीको सिफारिस गरेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई जोगाउन सरकारले न्यायिक समिति गठन गरेको आरोप लगाए । 
 
रत्ननगर नगर समितिका सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, रत्ननगर नगर समितिका कोषाध्यक्ष शिव बराललगायतले मन्तव्य राखेका थिए । 
 
कार्यक्रममा बीपी चौधरीसहित ज्येष्ठ सदस्य र समाजका एक दर्जन बढी अगुवाहरुलाई सम्मान गरिएको थियो ।