यो कथा होइन

दृष्टिविहीन हुनु मेरोलागि आशीर्वाद हो

378 पटक पढिएको

हिमालयखबर | 4th Jan 2019, Friday | २०७५ पुष २०, शुक्रबार १३:५०
नीलो आकाश, रातो गुलाफ, यो हरियाली अनि रङ्गीबिरङ्गी दुनियाँ हेर्ने मन कहिल्यै लागेको छ तपाईँलाई ?
 
दृष्टिविहीनहरूको रोजगारीको हक अधिकारको लागि संघर्षरत बुना दाहाल - जो जन्मदेखि नै दृष्टिविहीन हुनुहुन्छ, उहाँलाई मैले यो प्रश्न गर्नु जायज थियो की थिएन थाहा छैन | तर अंतर्मनले जितेर उहाँसँग मैले राखेको यो प्रश्नको उत्तर यस्तो छ -
" हो म नाङ्गो आँखाले देख्दिन तर मनको आँखाले रातो गुलाफको अङ्गप्रत्यङ्ग देख्छु | तपाईँले दिलको प्रश्न गर्नुभयो, म खुसी छु | नीलो आकाश देख्ने भन्दा त्यसलाई छाम्ने र छुने प्रक्रियामा छु | म समाजलाई स्वावलम्बि बनाउने प्रक्रियामा छु | एक नेत्रहीन महिलाको जीवनमा परिवर्तन ल्याउन सकिन्छ भने संसार परिवर्तन गर्न सकिन्छ | म एकान्तमा हरिया घास देख्न सक्दिन भनेर सोच्दिन | सबैको जीवनमा कसरी उज्यालो ल्याउन सकिन्छ, मैले समाजलाई के दिन सक्छु भनेर सोच्दछु | "
सन १९७१ जनवरी १४ विराटनगरमा जन्मनु भएकी बुना दाहालले नेतृत्व विकास र व्यवस्थापनमा कोलोराडोको Regis Unversity बाट डबल मास्टर गर्नु भएको छ |
 
बुनाले कोलम्बिया कलेज शिकागोबाट पत्रकारितामा व्याचलर गर्नु भएको छ |
 
केही गर्छु भन्ने प्रबल इच्छा शक्तिले गर्दा आफ्नो सुरक्षित जागिर छोडेर २००७ मा "डाइनामिक बुना" नामको आफ्नै संस्था खोल्नु भएको छ |
 
विश्वव्यापी रूपमा जोडिएर रहेको यो संस्थाले नेतृत्व विकास र रोजगार प्रवर्धन (Leadership and Empolyment Development) को काम गर्छ | विभिन्न देशमा कार्यक्रमहरू लगेर तालिम दिने गर्छ | यसै सिलसिलामा हालै मात्र मलेशियामा तालिम कार्यक्रम सकेर बुना सियाटल फर्कनु भएको छ |
 
यतिखेर नेपालमा स्तन क्यान्सर टेस्ट मेशिन लाने अभियानमा हुनुन्छ बुना | त्यसै गरी दृष्टिविहीनको लागि सचेतना कार्यक्रमहरू लैजाने प्रयासमा हुनुहुन्छ |
 
फिलाडेलफियाको Over Brook School for the Blind बाट नेपालमा छात्रवृत्ति पाएर एकवर्षको लागि कम्प्युटर टेक्नोलोजी र अङ्ग्रेजी पढ्न एसएलसी सकिए लगत्तै सन १९९० मा उहाँ अमेरिका आउनु भएको हो |
 
त्यसपछि कलेज पढ्न छात्रवृत्ति निवेदन दिएर उहाँले पढाई सुरु गर्नु भएको थियो | Colorado center for Blind बाट उहाँलाई जागिरको पहिलो प्रस्ताव आयो | यसैले ग्रिन कार्ड समेत दिलायो |
मार्च २००९ मा बुना अमेरिकन नागरिक टमी पावेलसँग वैवाहिक जीवनमा गाँसिनु भयो | आफ्नो वैवाहिक जीवनदेखि निकै खुसी बुना भन्नुहुन्छ - "मैले माया र इज्जत दुवै पाएकी छु | हाम्रो मित्रता प्रगाढ छ |"
 
अमेरिकामा आफ्नो धेरै समय नेत्रहीनहरूको रोजगारीको निम्ति खर्चिनु भएको छ उहाँले | नेत्रहीनहरूको क्षमता के हो र उनीहरू स्वावलम्बि भएर कसरी समाजको विकास गर्न सक्छन् भनेर लागि परिरहनु भएको छ | आफ्ना कार्यक्रमहरू मार्फत अमेरिकामा व्यवस्थापक र नेत्रहीन दुवैलाई सचेत गरिरहनु भएको छ |
 
अमेरिकाभर रहेका नेत्रहीनहरूमा ७० प्रतिशत बेरोजगार थिए पहिले | नेतृत्व र सचेतनाका कार्यक्रमहरूपछि फलस्वरूप ९५ प्रतिशत नेत्रहीनहरू रोजगार भएको सफलताको कुरा बताउनु भयो बुनाले | यो सफलता पश्चात् अमेरिकाको समाज कल्याण विभागले हरेक स्टेटमा उहाँलाई तालीम दिन बोलायो |
 
मिलनसार, प्रस्ट वक्ता बुना आफ्ना दैनिक जीवनका ९८ प्रतिशत काम आफै गर्नुहुन्छ | आफू सकेसम्म अरूको भर पर्न नपरोस भन्ने कुरा उहाँको हरेक क्रियाकलापले दर्शाइरहेको मैले पाएँ |
 
आफ्नो संसार असाध्यै सुन्दर मान्नुहुन्छ बुना | त्यही सुन्दर संसारको एउटा निजी घटना उहाँले "यो कथा होइन" स्तम्भ मार्फत हिमालय खबरलाई बाँड्नु भयो -
 
" सानो छँदा विराटनगरमा दिदी, दाइ र भाइ स्कुल गएको थाहा पाउँदा मलाई नि असाध्यै स्कुल जान मन लाग्थ्यो | टिफिन च्यापी स्कुलको ड्रेसमा झोला बोकेर उनीहरू स्कुल जाने म चाहिँ घरमा बस्नु पर्दा सारै खिन्न हुन्थेँ |
 
उनीहरूसँगै स्कुलको ड्रेस लगाएर, झोला बोकेर तयार हुन्थेँ म | मेरोलागि स्कुल जाने ड्रेस पनि तयार गरिएको थियो | आमालाई टीफिन पनि तयार गर्न लगाउँथे स्कुल लाने भनेर | तर म जस्ता नेत्रहीनको लागि कुनै स्कुल खुलेको थिएन | मेरो निम्ति पनि त केही होला नि भनेर आमाबाबुलाई सधैँ घच्घच्याई रहन्थेँ | रातो दिनको मेरो जिद्दी, पहल र करबलले गर्दा बाबुआमालाई स्कुल खोज्न कर लाग्यो आखिर | म दृष्टिविहीनहरूको स्कुलमा भर्ना भएँ | मैले पढ्न पाउनु नै मेरो जिन्दगीको उज्यालो ढोका खुल्नु थियो | त्यसपछिको मेरो यो जीवन भित्री प्रकाशले प्रज्वलित छ |
दृष्टिविहीन हुनु मेरोलागि आशीर्वाद हो | मेरो भित्री आँखा खुलेको छ | विश्वमाझ मिसिन पुगेकी छु म | मलाई नेत्रहीन हुनुको कुनै दुःख छैन | म आफूलाई भाग्यमानी ठान्छु | दृष्टिविहीन उसैमाथि अझ छोरी भएर जन्मनु नेपाल मात्र नभई अमेरिकी समाजमा पनि हेयको दृष्टिकोणले हेरिन्छ | घर खान सक्दैनन् भन्ने धारणालाई तोडेकी छु | काम पनि गर्छु र घरबार पनि गरेकी छु | "
 
जीवनका मोडमा हामीसँग तीतामीठा कति घटनाहरू हुन्छन् | जुन कति भन्न सकिन्छ कति मन भित्रै दब्दछ |
 
सोह्र वर्षको हुँदा अमेरिका आएको र सोह्र नै वर्ष अमेरिकामा स्थायी हुन गरेको सङ्घर्षको नमीठो अनुभव पनि थियो उहाँको | आफ्नो यो लामो पर्खाइ र सङ्घर्षको हिसाब अन्तर्वार्ता दिने दिन अफिसरसँग चुक्ता गर्ने ठुलो धोको अधुरै रहेछ उहाँको | किनभने अन्तर्वार्तामै उपस्थित हुन नपरी उहाँको ग्रिन कार्ड घरमै आइपुगेछ | यो कुरा आफ्नो जीवनभर खट्किरहने उहाँले बताउनु भयो |
 
दृष्टि हुनेहरूलाई केही भन्न चाहनुहुन्छ कि ? मेरो अन्तिम प्रश्नमा उहाँको जवाफ -
" आफूप्रति विश्वास राख्नुहोस र आफ्नो प्रबल इच्छा शक्तिलाई कहिल्यै नडगमगाउनुस | मलाई हेर्नुस् - रित्तो आएकी थिएँ भरिभराउ छु | अझै यो समाजलाई भरिभराउ बनाउनु छ | "
 
(यो कथा होइन - दुःख बाँड्दा घट्छ । सुख बाँड्दा बढ्छ । हामी मानिस मन शान्तिकोलागि प्रयत्नरत छौँ । गुम्सिनु दुःख हो, पीडा हो ।  प्रस्फुटन प्राप्ति र आनन्द । कुनै त्यस्ता घटना छन् जुन तपाईँ भित्र उकुसमुकुस भएर बसेका छन् । तपाईँको स्मरणमा बारम्बार आउने गर्छन् । रूवाउँछन् , हसाउँछन् ,  अचम्भित पार्दछन् । वा त्यस्तो घटना जसले तपाइको वा कसैको जीवन बदलेको छ । कसैको मन छुन सक्छ ।  कसैलाई मार्ग निर्देश गर्छ । हो यस्ता शतप्रतिशत सत्य घटनालाई हामीले ससम्मान प्रकाशित गर्ने जमर्को गरेका छौँ । आफ्ना मूल्यवान ती पलहरू बाँड्न तपाँईको अन्तरआत्मा सहमत हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।  www.himalyakhabar.com / bitubaral@yahoo.com )