विचार / ब्लग

गुगललाई पछ्याउँदै भेटिएको नेपाली रेष्टुरा – रामचन्द्र भट्ट

660 पटक पढिएको

– रामचन्द्र भट्ट

2nd Jan 2019, Wednesday | २०७५ पुष १८, बुधवार ०९:४४
‘ल, यो पनि टेक्ससकै रहेछ,’ देब्रे साइडबाट ओभरटेक गरेर अघि बढेका गाडीहरुलाई छोरा आरोग्यले गिन्ती गरिरहेको छ । ७० माइल प्रतिघण्टाको स्पिड लिमिटको हाइवे–टेन बाट हामी पूर्वतिर अघि बढिरहेका छौँ । 
 
हाम्रो गाडीलाई आरोग्यले अटोक्रुजमा लगाएको छ । ७० माइलको स्पिडमा अटोक्रुज लगाएकोले गाडी त्यही स्पिडमा तलमाथि नगरि कुदिरहेको छ । राडारले हाम्रै लेनमा केही अघि गाडी देख्यो भने स्पिड आफसे आफ कम गरिदिन्थ्यो  । अगाडीको गाडीले ब्रेक लगाएर ब्रेक लाइट बल्यो भने हाम्रो गाडी पनि आफसे आफ ब्रेक लाग्थ्यो । अगाडीकोले स्पिड बढाएसँगै हाम्रो पनि स्वचालित रुपमा स्पिड बढ्थ्यो । तर ७० कै लिमिटमा । 
 
आधा घण्टा अघिमात्र हामीले अलाबामालाई बाइबाइ गरेर फ्लोरिडा राज्य प्रवेश गरेका थियौं । हाम्रो आजको गन्तव्य ओरल्याण्डो छ । साँझ ७ बजेसम्म ओरल्याण्डो पुग्ने लक्ष्यसाथ बिहान ९ बजेनै हाम्रो यात्रा मोबिलबाट सुरु भएको हो । 
 
टेक्ससको युलेसबाट हिजो बिहान ९ बजे हाम्रो यात्रा थालनी भएको हो । ६ सय ५ माइल यात्रा गरेपछि हिजोको यात्राले मोबिलमा आएर विश्राम लिएको थियो । एक साता अघिनै अनलाइनबाट मोबिलको स्प्रिङहिल मेरिअट होटलमा कोठा बुक गरिसकेको थिएँ । 
 
–०–
‘बास बस्ने होटलमा पुग्नु अघि कतै केही खाएर जाँउहोला,’ पत्नीको सुझाव हुन्छ । मिसिसिपी राज्यको हेटिसबर्गबाट हामी अघि बढ्दैछौँ । अँध्यारो सुरु भैसकेको छ । म गुगलमा मोबिल सिटीमा इण्डियन रेस्टुँरा खोज्न थाल्छु । 
 
गुगलले पहिलो नम्बरमा हलाल कुजिन इण्डिया देखायो । दोस्रो नम्बरमा ‘याक दी काठमाण्डु किचेन’ देखायो । याक र काठमाण्डु दुई शव्दले म कन्फर्म भएँ कि यो कोही नेपालीकै रेस्टुँरा हो भनेर । नेभिगेसनमा रेस्टुँराकै ठेगाना हालेर हामी अघि बढ्यौँ । 
 
कोठा बुक गरेको होटल र रेस्टुँराको दुरी आधा माइलमात्र रहेछ । नौ बजेसम्ममात्र होटल खुल्ने रहेछ । नेभिगेसनले ८ः२० मा हामी त्यहाँ पुग्छौँ भनेर बताइरहेको छ । 
 
रातिको समय । मिसिसिपी कटेर अलाबामा टेकेपछि त कतिपय ठाउँमा ३५ माइल प्रतिघण्टाको स्पिड लिमिट । त्यसमाथि कतिपय ठाउँमा सिंगल लेनको हाइवे । नेभिगेसनलाई पछ्याउँदै हामी ८ः२५ मा रेस्टुराँ अघिल्तिर पुग्यौँ । 
 
रातो अक्षरमा याक र कालो याकको स्केच भएको साइनबोर्ड नजिकै पुगेपछि देखियो । टेक्सस छाडेको ११ घण्टापछि त्यो अनकण्टार शहरमा काठमाण्डु शव्द देख्दा निकै आत्मियता महसुस भयो । 
रेस्टुरेन्टको ढोका खोलेर भित्र पस्यौँ । नेपालको हिमालीभेगको कुनै होटल जस्तो लाग्यो । लुक्लाबाट नाम्चेबजार जाँदा बीचमा पर्ने होटलहरुमा जस्तो दृश्य देखिन्छ त्यस्तै महसुस भयो । ध्वजापताकाहरु थिए भित्तामा । थाङ्का पेन्टिङ, झल्लरहरु, हिमालका दृश्यका तस्बिरले नेपालकै हिमालीभेगको कुनै रेस्टुरामा भित्र भएको अनुभूति गरायो । 
 
रेस्टुरेन्टमा भित्र पसेर चारजनाको एउटा टेबुलमा गएर हामी बस्यौँ । शुक्रबारको साँझ रेस्टुरा व्यस्त होला भन्ने ठानेका थियौँ । तर भित्र एउटा टेबुलमा तीनजना गोरेहरुमात्र गफिदै खाइरहेका थिए । 
 
टेबुलमा बसेको १० मिनेटपछि बल्ल एकजना वेटर बहिनी आइपुगिन् मेनु लिएर । ‘हेलो, हाउ आर यु’ भन्दै उनले मेनु हामी चारैजनालाई बाँडिन् । 
 
‘बहिनी, हामी नेपाली हौँ । नेपालीमै बोल्दा हुन्छ,’ मैले भनेँ । 
‘ए, नेपाली हुनुहुँदो रहेछ,’ ती बहिनीले यत्ति भनिन् –‘के लिनुहुन्छ ड्रिङ्क्स ?’
हामीमध्य कसैले मनतातो पानी त कसैले सादा पानी अर्डर ग¥यौँ । 
 
नेपाली ग्राहकप्रति उनले खासै आत्मियता देखाए जस्तो लागेन । दिनभरिको कामले शायद थाकेर पनि हुनसक्छ । हुनतः संसारमा हरेक मानिसको एउटै स्वभाव हुँदैन । त्यसमाथि हामी जस्ता नेपाली ग्राहक कति जाँदा हुन् कति ? परिवार, जन्मेको हुर्केको ठाउँको परिवेशले मानिसको स्वभाव फरक पार्छ । ‘कहाँबाट आउनुभएको’ भनेर समेत सोध्ने  फुर्सद थिएन उनीमा ।  
 
‘हामी टेक्ससबाट आएको बहिनी । कति छन् यतातिर नेपाली ?’ मैले सोधेँ ।
‘खासै छैनन् यतातिर । अलिअलि छन् । टेक्ससमा त धेरै छन् है ?’ उनले भनिन् । 
अलाबामामा खासै नेपालीहरु भएको चर्चा सुनेको थिइन । थोरै विद्यार्थीहरु रहेको सुनेको थिएँ । 
मोबिल सिटी सामुद्रिक किनारको मध्यमखालको शहर हो । गल्फ अफ मेक्सिकोमा जोडिएको मोबिलमा बसेर यति राम्रो नेपाली पहिचान दिने रेस्टुरेन्ट चलाउने को होलान् ? मनमा जिज्ञासा पैदा भयो । 
 
१० मिनेटपछि वेटर बहिनी पानी लिएर आइन् । उनलाई सोधेँ–‘बहिनी यो रेस्टुरेन्टको साहु को हो नि ?’
‘सलामसिंह हो,’ उनले जवाफ दिइन् । 
‘सलामसिंह । थर चाँही के हो नि ?’ मैले सोधेँ ।
‘लामा हो ।’ वेटर बहिनीको जवाफ । 
‘नेपालमा कहाँ हो नि उहाँको ?’
‘काठमाडौंनै हो,’ उनले भनिन् । 
 
हाम्रो अर्डर लिएर उनी गइन् । म फेसबुकमा सलामसिंह लामा खोज्न थालेँ । धेरै सलामसिंहहरु फेसबुकमा फेला परे । तर मैले मोबिल बस्ने, याक रेस्टुँरासँग संबन्धितलाई लिएर सर्टआउट गर्न थालेँ । त्यसो गर्दा उनलाई भेटियो । तुरुन्तै फ्रेण्ड रिक्वेस्ट पठाएँ । 
 
खाना खाइसक्दा उनले फ्रेण्ड रिक्वेस्ट एसेप्ट गरेको नोटिफिकेसन देखियो । तत्काल उनले मेसेज पठाए–‘मेरो सानो रेस्टुँरा छ मोबिलमा । तपाइ मिसिसिपीमा हुनुहुँदो रहेछ । बाटो परेको खण्डमा पस्नुहोला ।’
केही घण्टा अघि मैले मिसिसिपी नदी किनारबाट फेसबुकमा अपलोड गरेको फोटाहरु उनले देखेछन् । उनले त्यही देखेर म मिसिसिपीमा भएको अनुमान लगाएको हुनुपर्छ । 
 
मैले तुरुन्त जवाफ दिएँ–‘म तपाइकै रेस्टुरामा छु ।’ 
‘साँच्चै ?’ उनले सोधे ।
उनी भित्र किचनमा रहेछन् । तत्काल बाहिर निस्किए । ग्राहकको रुपमा हामी र अर्को एउटा टेबुल भएकोले नेपाली अनुहार पहिल्याउन उनलाई कुनै गाह्रो थिएन । उनी सरासर हामी भएको टेबुलमा आइपुगे ।
काभ्रेका सलामसिंह लामा अध्ययनको लागि अमेरिका आएका रहेछन् । अध्ययन समाप्तीसँगै कम्पनीमा काम गर्दै उनले साइड बिजनेसका रुपमा यो रेस्टुरा गरेका रहेछन् । 
‘नुवाकोट त मेरो ससुराली हो नि । रातमाटे मेरो ससुराली हो । आज मेरै घरमा गएर बसौँ,’ उनले प्रस्ताव राखे । 
हामीले होटल बुक गरिसकेको बतायौँ । 
 
औँलामा गन्न सकिने नेपालीहरुमात्र भएको ठाउँमा हामीलाई भेट्दा उनी खुशी देखिए । हाम्रो भेट गुगलले गराइदिएको थियो । शायद गुगलमा सर्च नगरेको भए हामीले त्यस साँझ म्याकडोनाल्ड या सब–वेको कुनै फास्टफुड खाएर पेट भर्नेथियौँ । गुगलमा सर्च गर्दा याक रेस्टुराँ फेला परेकोले हामी त्यहाँ पुगेका थियौँ । 
सन् २०१२ देखि उनले यो रेस्टुरा सुरु गरेका रहेछन् । अर्को पनि रेस्टुरा रहेछ उनको । ग्याँस स्टेशन पनि रहेछ । सुरुवातका दिनमा गर्नुपरेको संघर्षदेखि लिएर नेपाल चिनाउन गरेका कामहरुका बारेमा उनले केही कुराहरु बताए । 
‘यहाँका धेरै मानिसलाई नेपालका बारेमा थाहै थिएन । मेरो यो रेस्टुँरा खुलेपछि धेरैले नेपाल बारे बुझेका छन् । कति त नेपाल गएर पनि घुमेर आइसके ।’ उनले भने । 
उनको रेस्टुराभित्र भएको सजावट, बिक्रीका लागि राखिएका क्युरियो जस्ता सामानले नेपाललाई चिनाउन साँच्चिकै योगदान गरेको देखिन्थ्यो । 
 
पुरै ११ घण्टाको ड्राइभिङ छोरा आरोग्यले गरेको थियो । हामी थकित पनि थियौैँ । हामीले एक आपसमा फोन नम्बर साटासाट ग¥यौँ । पछि फर्किदा भेट्ने भन्दै हामी रेस्टुराँको बिल तिरेर त्यहाँबाट निस्कियौँ । 
फ्लोरिडाबाट फर्किदा डिसेम्बर २९ मा पनि हामी मोबिलकै होटलमा बास बस्यौँ । साँझ याक रेस्टुरामै गएर डिनर लियौँ । तर सलामसिंहलाई भेटेनौ । उनका बारेमा सोधिखोजी पनि गरेनौँ । भुलेर होइन नियतवशनै हामीले उनलाई सोधेनौ त्यस साँझ । 
 
किन सोधी गरेनौ भने भने यदी उनी त्यहाँ भएका भए हामीलाई उनको घरमा जान अति कर गर्नेथिए । उनले अति कर गर्ने संकेत बुझेर नै मैले उनलाई थाहै नदिने विचारले उनको रेस्टुरामा पुगेर छिटोछिटो खाना खाएर निस्कियौँ । 
घुमफिरमा निस्कँदा मेरी पत्नीले एउटा मापदण्ड बनाएकी छिन् । त्यो हो–‘अति घनिष्ठ साथी र आफन्तभन्दा बाहेक सामान्य चिनजान भएकालाई दुःख दिनु उचित हुँदैन । यात्रामा त्यसो गरियो भने रमाइलो हुँदैन, तनावमात्र हुन्छ ।’ यही मापदण्डलाई पछ्याउँदै हामीले सलामसिंहसँग भेट हुन नपाए हुन्थ्यो भन्ने अपेक्षा राखेका थियौँ र संयोगले भयो पनि त्यस्तै । 
 
अमेरिकामा नेपालीहरु नपुगेका शहरहरु अब ज्यादै थोरैमात्र होलान् । नेपालीहरु न्यूयोर्क, ड्यालस, लसएन्जलस, सानफ्रान्सिस्को, डेनभर, हुस्टन, अस्टिन, वासिङटन डिसी, बाल्टिमोर, बोस्टन, सिकागो लगायतका शहरहरुमा भेटिनु अनौठो हुँदै होइन । तर अनकन्टार लाग्ने मोबिलमा भेटिनु र त्यो पनि एकजना व्यबसायी । यसले हाम्रो यात्रा अविस्मरणीय र रोमाञ्चक बनाउन मद्धतनै ग¥यो ।