विचार / ब्लग

काठमाण्डौले बिर्सेको टोपीलाई प्रवासमा जन्मेको बालकले कसरी चिन्ने

350 पटक पढिएको

– बलायर ‘प्रत्याशी'

2nd Jan 2019, Wednesday | २०७५ पुष १८, बुधवार १३:२३
सन २०१३ मा सामाजिक सञ्जालबाट सुरु गरिएको टोपी दिवसले २०१४ बाट आधिकारिता पायो । आज भन्दा ठिक छ वर्ष पहिले सुरु भएको यो दिवसको सन २०१९ को आगमनसँगैको प्रसङ्ग फेरि याद आयो । त्यस ताका सामाजिक सञ्जालमा सबैले नेपाली टोपी लगाएको देख्दा एक छिन त छक्क परेको थिए । मैले सामान्य कुनै पर्व होला भनेर त्यसलाई सहजै लिएको थिए । तर यो पछि गएर मात्र पर्व नभएर एक जागरणको रुपमा सुरु भएको स्वतःस्फूर्त अभियानको रुपमा परिणत हुन गएको छ । 
 
त्यसबेला यसको पृष्ठभूमीलाई लिएर बिभिन्न प्रतिक्रियाहरु पोखेको पाईएको थियो । टोपीमात्र नेपाली पहिचान नभएको र यसलाई दिवसको रुपमा मनाएर राष्ट्रियताको जग मजबुत नहुने प्रतिक्रियाहरु जहाँ त्यही सुन्नमा आएका थिए ।
 
कसैले विविधताको धनी देशमा बिगत दुई दशकमा संस्कृती र संस्कारमा भएको प्रहारको मौन विरोधको ब्यङ्गात्मक आन्दोलन भन्ने लेखेका थिए । भने कसैले नेपाली संस्कृती माथिको स्वदेशी उग्रवाद र पाश्चत्य संस्कृतीको प्रहार कम गर्न जनचेतना ल्याउने प्रयासको शुरुआत भन्ने तर्क दिएका थिए । 
 
त्यस समय माईतीघर मण्डलामा जम्मा भएका युवा-युवती र भद्रभलादमीका फोटोहरु हेर्दा टोपीले सगरमाथा नै शीरमा राखेको गर्व भएको थियो । टिप्पणीसँगै केहीले टोपीसँगै धोती, बक्खु, गुन्यू-चोली, दाैरा-सुरुवाल, कछाड आदि भेषभूषाले देशै सजिएको भए देशका मुल्यवान संस्कृति र संस्कारका पाटाहरुले जीवन्त रुप लिने थिए कि भन्ने श्रोताका प्रतिक्रियाहरु पनि सुन्न पाईएको थियो । 
 
यी तमाम प्रतिकृया हेर्दा कताकता हामी केही पर पुगिसकेका रहेछौ जस्तो भान पनि भएको थियो । टोपी दिवसकै अघिल्लो राति हामीले केही फरक दृश्यहरु पनि हेरिसकेका छौ । देशका मुख्य शहर जस्तै ठमेल, दरवारमार्ग लगायत ठाउँहरुमा तथा विदेशका बिभिन्न रेस्टुरेन्टमा रमेका नेपाली यूवापुस्ताले सार्वजनिक गरेका तस्वीरमा नेपालीपनको कतै महसुस देखिदैन । अंग्रेजी सम्वतलाई स्वागत गर्दै पश्चात्य संस्कारको पहिरन र साङ्गीतिक रमझममा झुम्दै उपल्लो दर्जाको महसुस गर्ने समूहका दृष्यहरुले मानसपटलमा नेपाली संस्कृती र संस्कारप्रतिको कटाक्ष प्रहारलाई पनि देखियो । 
 
यहाँ अंग्रेजी सम्वतलाई कुनै नकारात्मक दृष्टिकोले हेर्ने मनसाय होईन र गर्नु पनि हुदैन । किनकी यस सम्वतलाई अहिले बिश्वले स्वीकार गरि सकेको छ । यसले समयको चक्रमा एकता ल्याएको छ । जसलाई एक्काइसौ शताब्दीमा बिरोध गर्नु भनेको साँघुरो राष्ट्रवादी घेरा हो । 
 
तर टोपी दिवसकै अघिल्लो दिन नयाँपिढीका यूवासमूहले आफ्नो पहिचान सहितको अंग्रेजी नयाँ वर्ष बनाउन नेपाली टोपी सहितको नयाँवर्ष बनाएको भए सायद बिश्वको ध्यान यिनीमाथि जान्थ्यो होला र नेपाली टोपीलाई बिश्वको हरेक घरमा पुग्न सजिलो हुन्थ्यो कि भन्ने मनमा लाग्यो । तर समाजको एउटा बर्गले यसलाई बिर्साउन खोजिरहेको अवस्थामा सिमित केही यूवा समूहलाई एक-एक नेपाली टोपी लगाई दिएर नेपाली संस्कार भित्र कैद गर्न सकिएला भन्ने प्रश्नहरुले मनमा कौतुहल ल्यायो ? त्यसैलाई पुष्टि गर्न भिक्टर (नाम परिबर्तन) नामका मित्रले सामाजिक संजालमा उल्टै प्रतिप्रश्न गरेर मन खिन्न बनाए । उनले “टोपी दिवस मनाएर किन फेरि पुरानै हजुरबुबाको युगमा फर्कने” भन्ने बिचार राखेको देख्दा मनको भित्री पाटो रोयो । मसँग उत्तर छैन । यो सोच उनको मात्र हैन, यस बिचार भित्र मेरा देशका केही युवा जमातको भाव लुकेको छ । यसको हरण गर्ने काम मेरा अग्रजहरुबाट भएको छ । संस्कार र संस्कृतिलाई नयाँपुस्तामा हस्तान्तरण गर्न र बिश्वब्यापीकरण गराउन अबरोधमूलक शिक्षाले बिराएको बाटो यहाँ प्रष्ट देखिन्छ । 
 
यस्तै किसिमले सामाजिक सञ्जालमा विचार राख्ने मध्येका एकजना यूवा मधुकिरण (नाम परिवर्तन) को भनाईले झनै मन घोच्यो । यो कटु यथार्थले भन्यो-“केही नेपालीले ढाकाटोपी किनेर लगाएर साना ब्यापारीका लागि राम्रो आम्दानी बढाई दिए पनि टोपीमा गरेको खर्च बरु तराइका शितलहर र भुकम्प पिडितलाई सहयोग स्वरुप नेपाल मै बनेको तातो उनीको टोपी किनेर दिन पाएको भए राम्रो हुन्यो की ? यो सोच पनि आफैमा महत्वपूर्ण देखिन्छ । 
 
देशमा दिनहुँ चिसो फुसका घर, त्रिपाल र टिनका पाता भित्र बसेका कैयौ नाबालक र पाका उमेरका मान्छेहरुले अनाहकमा ज्यान गुमाई रहेको अवस्था एकातिर छ भने अर्को तर्फ प्रदेश सरकार र सिंहदरवारले टोपी लगाउने पद वाँडेको बाँडै छ । अंग्रेजी नयाँ बर्ष र टोपी दिवस कै अवसरमा एउटा सानो देशलाई ऋणको ब्ययभारमा थप दर्जनौ टोपीवादीले सपथको लिदै देश निर्माणको कसम खाएका छन । सामाजिक सेवा र बिकासका नाममा सपथ खाएकाहरुले अनेकौ किसिमका दोहरो सुबिधाहरु लिदै टोपीबादीहरुकै उपहास गरिरहेका छन । यसले एक किसिमले टोपीलाई नेपालको सान भन्दा पनि अदृश्य शक्तीको रुपमा हेरेको पनि देखियो । 
 
नेपालीहरुको एकता र पहिचानको रुपमा रहेको टोपी अहिले नेपालमा मात्र नभएर भुटान, सिक्किम र बर्मामा समेत लगाउने गरिन्छ । नलगाए पनि गर्ब गर्न कै लागि भए पनि घरमा एकजोर टोपी राख्ने गरिन्छ । तर मेरै घरदैलोमा टोपीदेखि रिसाउनेहरुको लर्को ठूलो छ । नेपाली एकताको पहिचानको रुपमा रहेको दाउरा सुरुवाल र नेपाली टोपी लगाएर बसेका गाउँ-नगर देखि सिंहदरवारको सभाकक्षका उपल्लो दर्जाका नाईकेहरुको संस्कार र संस्कृतिलाई विष समान ठानी बमन गरेको बिगतले गरेको बिगारलाई सम्झायो । पाश्चत्य संस्कारको नयाँ बर्षको रमझममा रम्दै टोपीबादलाई पाखे संस्कार भन्ने जमातले पाएको ज्ञानको स्रोत देखेर दिक्दार लाग्यो । नेपाल मै जन्मेका र नेपाली संस्कारमा हुर्केकाहरुमा यस्तो बिचार पलाउनुमा संस्कार र संस्कृतिलाई अफिम ठान्ने अफिमवादी संस्कारका नाईकेको मन्द बिषको उपज क्रमस निस्कन थालेको परिणाम प्रतिको चिन्ताले मन खिन्न बनायो ।  
 
कसैले जब आफ्नो पहिचान बिर्सन्छ भने ऊ सँग केबल मात्र खोक्रो आडम्बरमो भौतिकबादी सोच हुँदो रहेछ । उसले संस्कार र संस्कृती भुलाउन आडम्वरी भौतिकवादी ज्ञान अघि सार्दो रहेछ । तर उसलाई थाहा छ आमाको काखमा खेलिरहेको बच्चालाई मातृत्वको माया र स्नेहको वास्ना मात्र पृय हुन्छ नकि आमाको रंग रुप लबाई र खवाई । संस्कार र संस्कृति पनि मातृत्व प्रतिको भक्ति र प्रेमभाव जस्तै हो । तर सबै संस्कार माथीको प्रहार भनेको मातृत्वमाथिको प्रहार हो । 
 
मेरो टोपी त्यो सगरमाताको शिर हो जसमा नेपाली मातृत्व मिसिएको छ भन्ने एकता र नेपालीको पहिचान मेट्ने काम हुनु कुनै पनि हालतमा राम्रो हैन । सानै देखि नेपाली टोपी लगाएर कसम खाएकाले टोपी बिर्सन थाली सके, दाउरा-चोली छोडि सके । आज त्यो आफ्नो संस्कृती र बिबिधतामा गौरव र प्रेमको भाव पैदा गराउन दिवस नै मनाउनु पर्ने हालको स्थिती प्रवासी माटोमा जन्मेको नेपालीमूलको वालकलाई नेपाली टोपी भित्र एकताको आस्था लुकेको छ भनि म कसरी सम्झाउँ ।