विचार / ब्लग

विदेश पलायन धेरैको वाध्यता हो

472 पटक पढिएको

- डा. गोबिन्द रावत

26th Dec 2018, Wednesday | २०७५ पुष ११, बुधवार १५:०१
नेपाली आईडलका महिला उद्धघोषिका भन्छिन् – वहाँहरु अर्थात सुमित र पवन झण्डै विदेश जान लाग्नु भएको थियो तर नेपाली आईडलमा भाग लिएर रोकिनु भयो । त्यस्तै नेपाल आईडलका निर्णायक ईन्दिरा जोशी पलायन भएको भाइलाई सम्झेर रुदै भन्छिन् - थेङ्क गड वहाँहरु विदेशिनु भएन अर्थात विदेश जानु भएन । अर्थात जानु हुन्न वा जाने विचारनै त्याग्नु भयो (तर कहिलेसम्म ? ) ।
 
त्यस्तै अर्को प्रतियोगी सांगीतिक कार्यक्रममा पनि यही कुरा दोहोरिएको पाइयो । अर्थात विदेशीनु नै हुँदैन भन्न खोजिएको हो वा प्रतियोगीले विदेशिने तरखर गरेको भनेर सेम्पयाथी लिन खोजेको अथवा यो कार्यक्रमले गर्दा पलायन हुनबाट जोगियो भन्न खोजिएको हो, प्रष्ट्याउनु गार्हो छ । कोही पनि ईच्छाले पलायन भएका हुँदैनन् । पलायन हुनु भनेको व्यक्तिको बाध्यता हो । गौतम बुद्धले ज्ञानको खोजीमा गया पुग्नु परेको थियो । मदन पनि मूनालाई सुखी जीवन दिन बाध्य भएर धन कमाउन पलायन भएका थिए । अरनिको आफ्नो सीप सिकाउन र देखाउन विदेशिनु परेको थियो । बेलायती उपनिवेशकालमा पहाडबाट युवाहरु सैनिक बन्न भारत पसेका थिए । 
 
भारतको जंगल र हिङ्सक जनावरले भरिएको पूर्वाञ्चल राज्यमा नेपाली सैनिकहरु बसोबास गर्दै आएपछि त्यहाँ बस्ति बस्न थाल्यो । अहिलेको विकसित शिलाङ्गमा पाईला टेक्ने पहिलो व्यक्तिकारुपमा कालु थापाको नाम आउँछ (हिस्ट्री अफ ब्रिटिश गोर्खा) । त्यसरी नै नेपालीहरु जहाँ ,जहाँ पुगे त्यहाँ हरियाली बनाउदै गएको पाइन्छ । पलायन हुनु नेपालीको विवशता नभएर बाध्यता हो । कोही पनि रहरले परिवारबाट टाढिन खोज्दैनन् । पलायनको कारण देशको बनौट , कमजोर अर्थतन्त्र, देशको अस्थिर राजनीति, अविकसित राजनैतिक चेतना र  भ्रष्टाचार हो  | 
 
भ्रष्ट शासकको परिणामले कलकारखानारहीत कमजोर बजार व्यवस्थामा देशको अर्थतन्त्र अडेको छ । परापूर्व कालमा मजदुरी खोज्दै भारतका विभिन्न राज्यमा पलायन भएका नेपालीहरु राणाकालमा बेलायती सेनाको रिकुटे भएर पलायन भएका थिए । पञ्चायत कालमा राजनैतिक आस्था पनि पलायनको कारण बन्न थालेको थियो भने । बहुदलको प्रारम्भसँगै उच्चशिक्षा र वैदेशिक रोजगार पलायनको माध्यम बन्दै गयो र यसले निरन्तरता पाउदै जान थाल्यो ।
 
तर माओवादी जनयुद्धपछि भने नेपालीहरुको विदेशीने क्रम ह्वात्तै बढ़न थाल्यो र आजको मितिसम्म यो क्रम जारीमात्र नरहेर संख्यात्मक रुपमा बढ्दै गई हरेको छ । यसमा आफुलाई राष्ट्रवादी भन्न रुचाउने नेताहरुका छोराछोरीहरु पनि पलायन भएको तथ्य कसैबाट लुकेको छैन । नेताहरुले खोक्रो राष्ट्रियता बेचेर आफ्नो जीवन बाँची रहेका छन् भने तिनका पलायन भएका सन्तानले आफ्नो अविभावकको क्षमताको अडकलन गरेर वहाँहरुबाट केही हुनेवाला छैन भन्ने वास्तविकता बुझेर नै पलयान भएका छन् । 
 
नेपालमा उच्च शिक्षा पाएर राम्रो जीवन विताउने सपना बोकेर शैक्षिक पलायन हुनेहरु एकातिर छन भने अर्कोतिर रोजगारको अभावले गर्दा युवाहरु कोरिया, जापान, मलेसिया, अरब हुँदै अमेरिका क्यानडा र युरोपतिर जान थालेका (लालायित) छन् । यसमा पनि अरु मुलुकभन्दा अमेरिका क्यानडा र युरोपतिर स्थाई बासिन्दा र नागरिकता समेत लिन पाईने भएकोले कोरिया, जापान, मलेसिया, अरब पुगेका युवाहरुको गन्तव्य अमेरिका क्यानडा र युरोप बन्न थालेको छ । आजको मितिमा अमेरिकी राष्ट्रपति डोनल ट्रमले जबरजस्ती लाद्न खोजेको आप्रवासी नीतिले गर्दा सबैको लागि क्यानडा गनतब्य बन्न थालेको छ । त्यसैले यहाँ मानव तस्करी पनि बढ्दै गएको र  त्यसमा यहाँका व्यक्तिहरुसँगै नेपालका मन्त्रीको समेत संलग्नता रहने गरेका समाचार पनि प्रकाशित हुँदै आएका छन् । 
 
झन देशका होनहार प्रतिभा पलायनको क्रम बढ्दो छ | यसको प्रमुख कारण पनि बेरोजगारीलाई नै मान्नु पर्छ ।
 
नेपालबाट प्रतिभा पलायनको इतिहास अरनिकोबाट शुरु भएर तेन्जिङ्ग शेर्पा हुँदै झण्डै सुमितसम्म लगातार चल्दै आएको छ । करिश्मा मानन्धर, सरोज खनाल, रवि लामिछाने, उज्जल भण्डारी, किरण उप्रेती,  यस्ता धेरै नामहरु छन् जो पलायन भएर पुनरागमन भएका छन् । उनीहरु पलायनको क्रममा पनि कलाकारितामा संलग्ननै थिए भने पुनरागमनपछि पनि त्यहीँ गरी रहेका छन् । यहाँबाट फर्केका धेरै प्रतिभाहरु यस्ता पनि छन् जसले दुवैतिर आफ्नो अधिकार व्यवस्थित गर्दै आएका छन् । 
 
समय समयमा यहाँ आएर कार्यक्रममा प्रस्तुति दिएर उपस्थित जनाएर आफुलाई निम्त्याएको भनिए तापनि यथार्थमा नियमपूर्वक पिआरको प्रक्रिया पुर्याउन आएका हुन्छन् । नत्रभने लगभग सयजनाको उपस्थितिमा सानोतिनो कार्यक्रममा लगभग दुई हजार डलर हवाई भाडा लाग्ने कार्यक्रममा नेपालबाट कस्ले बोलाउन सक्छन् । त्यसैले समुदायका कार्यक्रममा प्रत्येक वर्ष आएर कार्यक्रम दिने प्रतिभालाई आफ्नै समुदायको भनेर गने हुन्छ ।
 
नेपाली आईडलका प्रतियोगीलाई पलायन नभएकोमा स्याबासी दिने र भएकाहरुका लागि दुख प्रकट गर्ने कार्यक्रम संचालक तथा निर्णयकहरु पनि कार्यक्रम लिएर विदेशिने गरेकै छन् । विदेशिएका कलाकारले पनि आफ्नो प्रतिभा चम्काई रहेका छन् । विदेशिनु भनेको सम्भावनाको खोजिमा निस्कनु हो । नेपालीहरु यसरी पलायन भएरनै आज नेपालका प्रतिभाहरु विदेशमा कार्यक्रम प्रस्तुतिका माध्यमबाट देशाटन गर्दै छन् । नारायण गोपाल, तारा देवी, गोपाल योञ्जन, तारा थापा, प्रेमध्वज प्रधानका पालामा विदेशमा कार्यक्रम गर्नु भनेको भारतका विभिन्न राज्यमा मात्र सिमित हुने गरथ्यो । तर आजको मितिमा यसरी पलायन भएकाहरुकै माध्यमबाट नेपाली प्रतिभाहरु विदेशसम्म पुगेका छन् भन्दा अतिशयोक्ती नहोला । विदेशिनुको पीडा विदेशिएकाहरुलाई थाहा हुन्छ । त्यही विदेशिनु बाध्य भएकाहरुले पठाएको रेमिटेन्सले देश चलेको छ भन्ने तथ्याङ्कले देखाउछ । 
 
नेपालबाट प्रत्येक दिन १५०० को हाराहारीमा युवाहरु पलायन हुन्छन् । अनि ती नै पलायन युवाहरुबाट वर्षमा ४४५ बिलियन रुपैंया रेमिटेन्सबाट मुलुकमा आउने गर्छ । एक तथ्याङ्क अनुसार देशको ५५ प्रतिशत गृहणी रेमिटेन्सबाट चल्ने गर्छ (नेपाल रेमिटेन्स एसोसिएसन) यसरी रेमिटेन्स आउन रोकियो भने देशमा गरिबी बढ्दै जान थाल्छ । देशको विकासमा पनि रेमिटेन्सको योगदान रहेको छ । तर त्यसलाई नेताहरुले आफ्नै प्रयोजनका लागि खर्च गर्ने वातावरण बनाएर बसेका हुन्छन् । नेपालको गरिबी नियन्त्रणमा रेमिटेन्सको महत्वपूर्ण भूमीका रहेकोबारे विश्व बैंकले पनि चर्चा गरेको छ ।
 
हामी भावनामा बग्ने गर्छौ । पुष्पन प्रधानको ‘पञ्छी फर्केर आऊ, शान्तिको गुण सानो देशमा बनाऊ’ गीत सुनेर नरुने विरलै होलान । गीतका शब्द शब्दले मातृभूमिको वात्सल्यता देखाएर हाम्रो अवस्थाको वयान गरेको छ  । पुष्पनलाई थाहा छ मातृभूमि छोड्नुको पीडा । उनका पूर्खाहरु पनि गाँस वास खोज्दै दार्जिलिङ्ग पुगेका थिए । तर मातृभूमिप्रतिको प्रेम कहिल्यै मरेर जादैन । आज पनि उनमा रहेको देखिन्छ । भानुभक्तलाई नेपालले जन्मायो तर सम्मान गर्ने कामको श्रीगणेश प्रवासले गर्यो ।
 
भानुजयन्तिमा आज पनि भारतको नेपाली बाहुल्यता रहेको शहरमा नेपाली विद्यालयहरुमा विदासँगै भाषा साहित्यसँग सम्बन्धित विशेष कार्यक्रमहरु हुने गर्दछ ।  त्यसैले ‘ झण्डै पलायन भएको नेपाली आईडलले गर्दा रोकिनु भयो ’ जस्ता वाक्यको अर्थबोध नभएकाहरुले पलायनवादको वास्तविकता बुझेरमात्र प्रयोग गर्दा राम्रो होला । किनभने गौतम बुद्धको पालादेखि शुरु भएर अरनिकोले निरन्तरता दिदै सन्तोष पन्तसम्म आईपुग्दा बाध्यताले पनि धेरैलाई विदेशिन बाध्य गराएको छ र यसले निरन्तरता पाउँदै जान्छ भन्ने तथ्य कहिल्यै लुकाउन सकिदैन ।
(टोरन्टो , क्यानडा )