विचार / ब्लग

सालीको मेसेज

937 पटक पढिएको

– रामचन्द्र भट्ट

22nd Dec 2018, Saturday | २०७५ पुष ७, शनिबार ०६:२७
कामबाट थकित भएर घर आइपुगेकी छिन् रस्मिता । परिवारका सबै सदस्यहरु सुतिसकेका छन् । छोरीको बेडरुमको बत्ति बलिरहेको जस्तो लाग्छ उनलाई । ढोकाको तल्लो भागको चेपबाट थोरै उज्यालो आइरहेको छ ।
 
रस्मितालाई लाग्छ–छोरी स्कुलको असाइनमेन्ट गर्दै होलिन् । घर्याक्क... ढोका खोल्दै छोरीको बेडरुमको ढोका खोल्छिन् उनी । हातमा किताब समातेर छोरी निदाइसकेकी रहिछन् । जिउले चेपिरहेको अवस्थामा मोबाइल फोन पनि रहेछ ।
 
‘यी बच्चाहरु पनि के विधि असरल्ल भएका भन्या ?१५ वर्ष भैसकेकी केटीले अाफ्नो स्याहार सुसार अाफैँले गर्नुपर्छ नि’ मनमनै बच्चाहरु प्रति गुनासो गर्छिन । छोरीको हातमा भएको किताब स्टडी टेबुलमा राखिदिन्छिन् र ओढ्ने ओढाइदिन्छन् । बत्ति निभाएर ढोका बन्द गरिदिन्छन् ।
 
‘छोराछोरीलाई बाउले जतिसुकै गरेपनि आमाले जति गर्न सक्दैनन् भन्या यसै होइन रहेछ,’ उनी लोग्ने रञ्जनप्रति पनि गुनासो गर्छिन्–‘छोराछोरी कतिबेला सुते, के गरिराखेका छन् भनेर बाउले हेर्नुपर्छ नि ।’
 
अर्को बेडरुममा १० वर्षको छोरा सुतेको छ । रस्मिताको मनमा छोरा कसरी सुतेको छ भनेर चिन्ता जाग्छ । छोराको बेडरुमको ढोका बिस्तारै खोल्छिन् । बत्ति बालेर छोरो कसरी सुतिराखेको छ भनेर हेर्छिन । ब्लाङकेट माथि एक हातले आइप्याड समातेर छोरा निदाएको छ । रस्मिताले आइप्याडलाई छोराको हातबाट छुटाएर भुईमा राखिदिन्छिन् । ब्लाङकेट मिलाएर ओढाइदिन्छिन् ।
 
नर्सको जागिर ड्युटीको ठेगान हुँदैन । नियमित ड्युटी दिउँसोको समयमा भएपनि एकजना सहकर्मी बिदामा बसेकाले उसको सट्टामा केही दिनयता रस्मिताले राति समेत काम गर्नुपरेको छ । हस्पिटलबाट निस्किँदानै आज साँढे १० बजिसकेको थियो । त्यसमाथि हाइवेमा दुर्घटना भएर बाटो पुरै रोकिएकोले आधा घण्टा ढिला भएको थियो ।
 
लोग्ने रञ्जन अघिनै सुतिसकेका छन् । कतिखेर आउने हो भनेर सोध्नलाई साँढे १० बजे फोन गरेका थिए ।
 
रस्मिता बाथरुम गएर फ्रेस हुन्छिन् । फर्किएर केही बेर सोफामा बस्छिन् र टिभी खोल्छिन् । आजको नेपाल आइडल एपिसोड हेर्न थाल्छिन् । उनलाई अस्मिता अधिकारीको स्वर सुरुदेखिनै अति मन पर्छ । ‘नेपाल आइडलको यसपटकको विजेता अस्मितानै हुनुपर्छ’ उनी मनमनै कामना गर्छिन । अस्मिता उनको माइती जिल्लाकी पनि हुन् । अस्मिता पनि नर्सिङकै विद्यार्थी भएको र थपमा महिला भएकी हुनाले पनि उनी प्रति रस्मिताको अलि बढी सहानुभूति छ ।
 
लिभिङ रुमको टी टेबुलमा नयाँ म्याकबुक प्रो रहेछ । ‘बुढाले फेरि यो म्याकबुक किनेछन् । किन किन्या होला यो म्याकबुक ? घरमा चारजना छौँ, कम्प्युटरमात्र ६ वटा भैसके । पोहोरमात्र १९ सय डलर तिरेर किनेको म्याकबुक चारदिन चलाएको देख्या छैन । फेरि यो म्याकबुक किन ल्याएको होला ?’ अस्मिता एक्लै भुतभुताउन थालिन् ।
 
नेपाल आइडल हेर्ने उनको चाहना टेबुलमा नयाँ म्याकबुक देखेपछि त्यसैत्यसै मर्छ । टाउको भारी हुन्छ । ‘लौ सकिएन हेर्न आजलाई । भोली बिहान खाना बनाउँदै हेर्नुपर्ला,’ टिभीको रिमोटमा अफ बटन थिचेर उनी बेडरुममा जान्छिन् ।
 
बेडको एकछेउमा रञ्जन घुरेर निदाइसकेका छन् । कहिलेकाँही त रञ्जनको घुराई बाघकै जस्तो हुन्छ । अलि मोटो शरिर भएको मानिसको घुराई चर्को हुन्छ भन्ने उनले स्वास्थमा पढेकी थिइन् । घुराईको उपचार गर्न उनले प्रयास नगरेका पनि होइनन् ।
 
नौ करोड अमेरिकीहरुमा घुर्ने समस्या रहेको कुरा उनले पढेकी थिइन् । यी मध्य तीनकरोड ७० लाखमा त नियमितनै यस्तो समस्या छ । विशेषगरि मोटो मानिसहरु सुत्ने क्रममा घाँटीको मसलले आराम गर्छ । जिब्रोको तल्लो भाग घाँटीमै झर्छ । जसले गर्दा घाँटी साँघुरिन पुग्छ । त्यसक्रममा श्वास फेर्दा घाँटीबाट हावा निस्कन गाह्रो हुन्छ । घाँटीले जोडले हावा फ्याँक्दा जिब्रोको तल्लो भाग थर्किन्छ । त्यही क्रममा चर्को आवाज आउने रहेछ । तर जति गर्दा पनि नभएपछि हिजोआज त बानीनै परिसकेको छ ।
 
लोग्नेको घुराई, म्याकबुक प्रो, बच्चाहरुको असरल्ल अवस्था, लोग्नेको वेहोशीपनका बारेमा सोच्दासोच्दै रस्मिता कुन बेला निदाउन पुग्छिन् पत्तै हुँदैन ।
 
–०–
 
रञ्जनको मोबाइल भाइब्रेट हुन्छ । रस्मिताले सोचिन्–‘मेसेज आयो ।’ लगातार चार पटकसम्म फोन भाइब्रेट भईनै रह्यो । बेडसँगै रहेको टेबलमा रञ्जनको मोबाइल चार्जिङमा थियो । एक महिना अघिमात्र रञ्जनले आइफोन एक्सम्याक्स लिएको थियो । फोनको कभर समेत किन्न भ्याएको थिएन रञ्जनले ।
 
पाँचौ पटकसम्म पनि फोन भाइब्रेट भएपछि बेडमा पल्टिनै लागेकी रमिताले सोचिन्–‘कतै इमरजेन्सी पो प¥यो कि ?’ हात तन्काएर फोन तानिन् । हातमा लिइसकेपछि पनि फोन फेरि भाइब्रेट भयो । उनलाई रञ्जनको फोनको पासकोड थाहा छ । ६ डिजिटको पासकोड उसले जन्मेको वर्ष, महिना र दिनलाई मिलाएर राखेको छ ।
 
भाइबरमा मेसेज आएको रहेछ । फोनको होमस्क्रिनमा मेसेज पठाउने अस्मिताको नाम देखियो । अस्मिता उनकी सहोदर बहिनी हुन् ।
 
‘किन गर्छे अस्मिता यति रात बिरात मेसेज ?’ उनको मनमा प्रश्न उठ्छ । ‘चार दिन अघि आमाले देब्रे कम्मरमा झस्का परेर दुःखी रहेको कुरा फोनमा भन्नुभएको थियो । ‘कहाँनिर पीडा भैरहेको छ आमा ?’ भनेर सोध्दा आमाले भन्नुभएको थियो–‘अब कहाँनिर भन्नु नि । यी यहाँनिर ।’
 
आमाले यी यहाँनिर भनेर देखाउँदा रस्मिताले देख्ने कुरै भएन । आमाले ६ महिना पहिलेदेखि भिडियो कल गर्न मिल्ने फोन मलाई पनि पठाइदेन भनेर भनिरहनुभएको छ । रस्मितालाई लाग्यो–‘भिडियो कल गर्न मिल्ने फोन आमालाई पठाइदिन पाएको भए कहाँनिर दुःखेको भनेर अहिले हेर्न त मिल्थ्यो ।’
 
‘आमालाई एउटा आइफोन त अर्को सालसम्म जसरी पनि पठाउँछु,’ रस्मिताले मनमनै फेरि पनि प्रतिवद्धता जनाइन् ।
 
उनको मन फेरि पनि अस्मिताकै मेसेजमा आइपुग्छ । ‘कतै आमालाई हस्पिटल लैजान परेर उसले मेसेज गरेकी त होइन ?’ मनमा अनेक तर्कना खेल्न थाल्छन् । फोन खोलेर मेसेज हेर्न पनि डर लागिरहेको छ उनलाई । आमालाई कतै केही भइहाल्यो कि भन्ने डरले फोन खोलेर मेसेज हेर्न पनि आँट आइरहेको छैन ।
 
यो मध्यरातमा मेसेज हेरेर तनाव नलिने निधोमा उनी पुग्छिन् । आमालाई अस्पतालनै लगेको भएपनि यहाँबाट के गर्न सकिन्छ र ? अहिले रातिनै उँडेर नेपाल पुग्ने भन्ने कुरा पनि भएन । ‘आ.., थकाइले लोठ परेर आइएको छ कामबाट । आनन्दले सुत्छु’ मनमनै यही भन्दै मोबाइललाई पूर्ववत चार्जिङमै राखिदिन्छिन् र बेडमा पल्टिन्छिन् ।
 
‘घ्याररर... घ्याररर..’ उनी झकाउन मात्र के लागेकी थिइन् फेरि रञ्जनको मोबाइल भाइब्रेट हुन्छ । उनलाई फोनदेखिनै डर लाग्न थाल्यो । ‘अघिनै अफ गरेर राखिदिनुपर्ने रहेछ । यो मध्यरातमा के अशुभ खबर सुन्नुपर्ने हो हे भगवान ?’ उनको मन यसैयसै बेचैन भयो । नहेरि नहुने भयो । जे होला त होला भन्ने सोच्दै रस्मिताले फोन फेरि तानिन् हातमा ।
 
‘लौ भगवान अरु जे भएपनि आमाको बारेमा भने त्यस्तो अशुभ केही सुन्नु नपरोस् है प्रभु,’ उनी मनमनै प्रार्थना गर्छिन । उनी नेपालमा थाहा भएजति सबै देवीदेउता पुकार्छिन् । नेपालका देवीदेउताले नपुगेर ड्यालसको मन्दिरका पशुपतिनाथ, बुद्धलाई समेत सम्झिन्छिन् ।
 
मोबाइलमा पासकोड हालेर खोल्ने आँट अझै पनि आएको छैन । रञ्जनलाई उठाउनुपर्छ कि भनेर सोच्छिन् । ‘फेरि बुढो रिसाउने होला । भोली बिहान सातै बजे अफिस पुग्नुपर्छ बुढाको । भयो उठाउँदिन । जे पर्लापर्ला हेर्छु अब आफैँ,’ यति भन्दै आँट गरेर उनले मोबाइलमा पासकोड हानिन् ।
 
पासकोड थिचिनासाथ अस्मिताले लगातार पठाएका भाइबर मेसेजहरु सिधै खुले ।
 
‘भिनाजु, निदाइस्या हो र ? खै जवाफै दिनुभएन त ? एकोहोरो म चाँही मेसेज टाइप गरेको गर्यै छु । कि जाडो भएर दिदीले अँगालो छोड्नै मान्नु भएन ? लो लो मोज गरिस्योस् ।’
 
अमिताको मेसेजका यी दुई लाइन पढिसकेपछि रमिताको मन निकै हलुङ्गो भयो । ‘धन्य भगवान, आमालाई केही भएको रहेनछ । उनले शान्तिको श्वास फेरिन् ।
 
यति रातिराति यही भन्न र भिनाजुसँग छिल्लिनका लागि मेसेज गरेकी रहिछ अस्मिताले ? उनको मनमा जिज्ञासा पैदा भयो । ‘भिनाजु जस्तो मान सम्मान गर्नुपर्ने व्यक्तिसँग यस्तो छिल्लिएर कुरा गरि राखेकी पो छ । कस्तो सोमत नभएकी केटी जन्मिइछ हाम्रो कुलमा यो ?’ रस्मिता मनमनै बहिनी अमितालाई गाली गर्छिन् ।
 
‘परिवारकी कान्छी छोरी भएर आमा–बाले पुलपुल्याएर राख्नुभएको छ । कुन दिन अनुहारमा पिशाब गरेर हिँड्ने हो यसले ?’ बहिनीको कुरालाई लिएर आमा–बा प्रति गुनासो गर्छिन उनी ।
 
स्क्रोल अप गर्दै अस्मिताले पठाएका मेसेजहरु पढ्न थालिन् उनी ।
 
‘अँ भिना, त्यो आइफोन एक्स–म्याक्स पठाइदिने भन्नुभएको थियो नि । कहिले पठाइदिने हो ? पोहोर पठाउनुभएको त्यो आइफोन एक्स त कति स्लो भैसक्यो । यसको त स्क्रिन पनि कति सानो छ क्या । यसपटक ६४ जिबीको होइन । सकेसम्म ५१२ जिबीकै पठाइस्यो है । फोटो र भिडियो धेरै अटाउने खालको क्या ।’
 
यो भन्दा माथि अस्मिताले लेखेकी थिइ–‘माइकल कोर्सको एउटा राम्रो व्याग र घडी पनि पठाइदिनुस् है भिना । यहाँ साथीहरुले कति जिस्काउँछन् । दिदी भिनाजु अमेरिकामा छन् यस्तो सिटिजन घडी बाँध्छेस् भनेर । व्याग पनि कति थोत्रो भैसक्यो । हजुरले भाटभटेनीमा १३ हजारमा किनिदिनुभएको त्यो व्याग त डेढ वर्ष पनि टिकेन नि ।’
 
‘सबै साथीहरु यसपटक कलेजबाट एक हप्ताको लागि रारा घुम्न जाने भनेका छन् । नेपालगञ्जसम्म प्लेनमा गएर त्यहाँबाट माइक्रोबस रिजर्भ गरेर जाने भनेका छन् । पाँचसय डलर पठाइदिनुस् है भिना ।’
 
‘अँ भिना, हजुरले नेपाल आउने कुरा गरिस्या थियो नि ? क्रिशमसको छुट्टीमा आउने भन्नुभएको होइन ? त्यो बेला आउँदा एउटा म्याकबुक पनि ल्याइदिइस्यो है ।’
 
साली भिनाको त अहिलेसम्म दह्रै उपहार आदान प्रदान पो भैसकेको रहेछ । रस्मितालाई त्यसबारेमा पत्तै छैन । दिदीलाई समेत थाहै नदिइ भिनाले सालीलाई महंगा उपहार पठाइदिने गरेको रहस्य रस्मिताले यही मेसेज देखेर थाहा पाइन् ।
 
उनलाई अझै रहस्य बुझ्न मन लाग्यो । अझै स्क्रोल गर्दै मेसेज पढ्न थालिन् ।
 
‘आईफोन म्याक्स चाँही जसरी भएपनि पठाइस्यो है भिना । नत्र म रिसाउँछु नि । म रिसाएँ भने के हुन्छ हजुरलाई थाहै छ नि ? एउटी भएकी सालीलाई मान्छेले कति सजाएर राख्छन् । तपाइ भने मलाई फोन पठाउन पनि दिदीसँग डराएर बस्नुहुन्छ । ह्या, दिदीले छाडिन् भने बहिनी हाजिर छे । के चिन्ता गर्नुहुन्छ लोग्ने मान्छेको जात भएर पनि । हाम्रो हजुरबाले हजुरआमालाई गाली गर्दै भन्नुहुन्थ्यो नि–खुट्टा गतिलो भए जुत्ता कति कति । तपाईलाई पनि म छउन्जेल के चिन्ता ?’
 
त्यो भन्दा माथिल्लो मेसेज थियो–
 
‘दुई वर्ष पहिले हजुर आउँदा दिइसेको आइफोन एट प्लस मेरो मन मिल्ने साथी गीतालाई दिएँ । उ पनि कम्ति खुशी भएकी छैन । तपाई आउँदा गीतालाई भेटाइदिन्छु म । त्यो भन्दा पहिलेको सेभेन प्लस चाँही हजुरलेनै भनेर बाबालाई दिएको हुँ । चार वर्ष पहिले सुम्निमाको भिनाजुको साथमा पठाउनुभएको सिक्स चाँही बिग्रिएर त्यत्तिकै घरमै छ । बरु त्यो पनि बन्छ कि म पठाइदिन्छु कोही मान्छे खोजेर । त्यो बन्यो भने आमालाई हुन्छ ।’
 
रस्मिताले अब यो भन्दा माथि हेर्न सकिनन् । ‘के हेर्र्नु र ? हेरिसाध्य भए पो ?’ उनले मनमनै भनिन् । मेसेजहरु पढेर उनलाई यसैयसै भाउन्न भएर आयो । शरिर पुरै गल्यो । अघिसम्म आमाको स्वास्थलाई लिएर भैरहेको चिन्ताले गलेको शरिर अहिले अस्मिताका मेसेजहरु देखेर झनै शिथिल हुनपुग्यो ।
 
के गर्ने ? के नगर्ने ? उनको दिमागले केही सोच्नै सकेन । सुतिरहेको लोग्नेलाई चिथोरौँ जस्तो लाग्यो । हुँदाहुँदा आइफोनको आशमा आफ्नी सहोदर बहिनीको सोचाई देख्दा उनलाई भाउन्न लाग्यो ।
 
‘दुई हप्ता अघि अस्मितालाई बेस्सरी फोनमा हप्काउँदा किन लोग्नेले किन सपोर्ट गरे भनेको त अहिले पो कुरा क्लिएर भयो,’ उनले मनमनै भनिन्–‘हुर्केकी केटीलाई त्यसरी गाली गर्नु हुँदैन भनेर यसै सपोर्ट गरेका कहाँ रहेछन् र ? कुरो यहाँसम्म पो रहेछ ।’
 
रस्मिता सोच्दैछिन्– ‘ए थाहै नदिई चार वर्षका बीचमा चारवटा मोबाइल पठाइसकेका रहेछन् ? त्यो पनि लेटेस्ट मोबाइल पो ?’ उनी एक्लै भुतभुताउँदै छिन् । रिसको पारो माथि उक्लेको उक्लिएै छ ।
 
अस्मिता सहोदरै बहिनी भएपनि उसलाई लुकाई लुकाई, आफूलाई समेत थाहै नदिइ ब्राण्डन्यू आइफोन सप्लाई गरेकोमा रस्मितालाई साली–भिनाबीचको सम्बन्ध प्रतिनै शंका जाग्यो । त्यतिमात्र कहाँ हो र ? माइकल कोर्सको ह्याण्डव्याग, घडी, परफ्युम समेत लोग्नेले पठाएको रहस्य अहिले खुल्दैछ ।
 
‘दिदीसँग नडराउनुस् रे । म छँदैछु नि रे ? कहाँसम्म सोच्न भ्याएकी यसले ? मलाई केही भइहाल्यो भने त तयार अवस्थामा पो बसेकी रैछे यो । अनि अर्को कुरा, होइन अमेरिकामा त यस्ले डलर बर्षिन्छ भन्ने पो ठान्दी रहिछ ।’
 
आफूले भने तीन वर्ष अघिको आइफोन सेभेन प्लस चलाइरहेको छु । थोत्रो भैसक्यो । बेलाबेलामा ह्याङ्ग हुन्छ । रि–स्टार्ट गरिरहनुपर्छ । स्लो त्यस्तै छ । उता भने लुकाएर गत वर्ष सालीलाई आइफोन एक्स पठाएछन् । मैले सोध्दा हरायो रे । हरायो भनेर इन्सुरेन्ससँग क्लेम गर्दै सालीलाई सप्लाई गर्ने रहेछन् । कहाँसम्मका त ? रस्मिता आक्रोशमा छिन् ।
 
‘५१२ जिबीको आइफोन एक्स म्याक्स रे । सुन्दा पनि कन्पारा तातेर आउँछ नि । हर्रो नपाउँदो, जाइफल खोज्दो भन्या यही हो । हुनतः सालीको प्रिय भिना भएपछि माग त पुरा होला नि । आप्mनो तलबले घरको किस्ता, गाडीको किस्ता, इन्सुरेन्स सारा तिर्नुपर्छ । हुँदाहुँदा खानेकुराको पनि मेरै तलबबाट खर्च हुनथाल्यो । घरपट्टीकालाई पनि यसो गाह्रो साँघुरो पर्दा हेर्नुपर्ने, सेकताप गर्नुपर्ने मैले नै । माइतीतिर पनि बा–आमालाई सहयोग गर्नुपर्ने मैलेनै । बुढाको तलब के गर्छन् भन्या त यस्तै गरि साली पोस्ने पो रहेछन् ? यस्ता साली कति छन् कुन्नि अरु पनि ?’
 
दुई महिना पहिले रञ्जन तरकारी किन्न जाँदा फोन घरमै बिर्सिएको थियो । त्यतिखेर गीता नाम गरेकीले फोन त गरेकी थिइ । दिदी साइनो लगाउँदै नमस्कार त भनेकी थिइ । अस्मितेले फोन दिएकी त्यही गीते त होला नि ।
 
‘बुढा किन हिजोआज नेपालकै कुरा ज्यादा गर्छन् । आमाको देब्रे कम्मरमा झस्का परेको कुरालाई लिएर किन चिन्ता प्रकट गर्छन भन्ने त शंका लागेको थियो । क्रिसमसको प्लान यस्तो पो रहेछ । सासुको स्वास्थलाई ख्याल गरेजस्तो गरेर साली भेट्न नेपाल जाने दाउ हो यो,’ उनी ठोकुवा गर्छिन् ।
 
टि–टेबलमा रहेको आजै ल्याएको म्याकबुकमा उनको ध्यान केन्द्रित हुन्छ ।
 
सारा सिक्वेन्स, सन्दर्भले उनको शरिर थररर.. काम्न थाल्छ । ‘तँलाई धोकेवाज, षडयन्त्रकारी । म यत्तिकै छाड्दिन अब । पख्लास्...हुहुहुहु...’
 
उनी दुई हातले रञ्जनको अनुहारमा बेस्सरी थिच्छिन् ।
 
–०–
 
मस्त निद्रामा रहेको रञ्जन आफूमाथि रस्मिताको थिचाइ र चिच्याटहले झसङ्ग हुन्छ ।
 
‘मैयाँ के भयो ? किन यसरी चिच्याएकी ?’ उसले रस्मिताको हात जोडले मिल्काइदिन्छ । रञ्जनले जोडले रस्मिता ब्युझिन्छिन् ।
 
‘हँ... । कस्तो नराम्रो सपना देखेछु ।’
 
‘कस्तो सपना देख्यौ र मलाई झण्डै मारेकी ?’
 
‘रन्जु, तिमी मलाई मायाँ गर्छौ नि ?’ उनी सोध्छिन् ।
 
‘ह्या, के के सोध्छे मध्यरातमा यो आइमाइ पनि ?’ रञ्जनलाई झर्को लाग्छ ।
 
‘टेबुलमा म्याकबुक रहेछ नि । कस्लाइ ल्याइदिनु भएको ?’
 
‘अफिसले दिएको हो । एप्पल र हाम्रो कम्पनीबीच सम्झौता भएको छ । सबै कम्प्युटर एप्पलकै प्रयोग गर्नुपर्ने भयो । यो कम्पनीमा काम गरुन्जेल चलाउने । अर्को कम्पनीमा गएपछि फिर्ता गर्दा हुन्छ रे’ रञ्जन भन्छ्–‘पोहोर किनेको म्याकबुक अझै राम्रोसँग चलाउन जानेको छैन । अफिसले दिइहाल्यो । केही नभए फेसबुक चलाउन भने पनि काम लाग्छ । फेरि म्याकबुक भनेपछि देखाउन पाउँदा पनि छुट्टै शान हुन्छ भनेर लिइदिएको हुँ ।‘
 
‘ए, त्यसो पो । निकै राम्रो सुविधा दिएछ त कम्पनीले ?’ रस्मिता भन्छिन् ।
 
‘त्यही सित्तैमा पाएर त ल्याएको नि । नत्र पोहोर किनेको म्याकबुक चार दिन चलाएको छैन । किन नयाँ किन्थे त ? मलाई बौलाहा कुकुरले टोकेको छ र ?’
 
(ड्यालस, टेक्सस)
 
डिसेम्बर १६, २०१८