पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि घरेलु टोली पोखरा पल्टनले जितेको छ ।
चितवन राईनोजले दिएको सामु १६१ रनको लक्ष्य पोखराले ४ बल बाँकी छदै पुरा गर्दै तीन विकेटको जित हात पारेको हो । उपाधिसंगै पोखराले २७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
पोखराका विदेशी खेलाडी रवी इन्दर सिंहले ९० रन बनाएपछि पोखराले सहज जित हात पारेको हो । एक समय निकै सहज रुपमा जित निकाल्ने अवस्थामा रहेको पोखराले खेलको अन्त्य तिर भने केही दवाब झेल्नु परेको थियो ।
खेलको १७ औं र १८ औं ओभरमा पोखराले ४ विकेट गुमाएपछि खेल चितवनतिर ढल्किएको थियो ।
लगातार विकेट गुमाई रहेको बेला पोखराका रवी इन्दर सिंहले १७.५ ओभरमा भुवन कार्कीको बलमा छक्का प्रहार गर्दै पुनः खेल पोखराको पक्षमा पारे । सिंह १८.४ बलमा आउट भएपछि पोखरा पुनः दबाबमा परेको थियो । पोखरालाई अन्तिम ओभरमा ४ रनको आवश्यकता थियो । १९.२ बलमा विनोद भण्डारीले चौका प्रहार गर्दै पोखरालाई उपाधि दिलाए ।
पोखराका लागि मोहम्मद नाभिदले २५, कप्तान शरद भेषवाकरले २२ रन बनाए भने अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । चितवनका भुवन कार्कीले २, पारस खड्का, करन केसी र सन्नी पटेलले समान एकरएक विकेट लिए ।
यसअघि पोखरा पल्टनले टस जितेर पहिले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रन जोड्न सकेको थियो । चितवनका लागि कप्तान पारस खड्काले सर्वाधिक ५१ रन जोडे भने सन्नी पटेलले ४३, अनिल कुमार शाहले ३७, आरिफ शेखले १४, हरिशंकर शाहले ८ रन बनाए भने करन केसी खाता नखोल्दै आउट भए ।
पोखरा पल्टनका लागि कृष्ण कार्कीले २, ललित नारायण राजवंशी र मोहम्मद नाभिदले एक/एक विकेट लिए । लिगको शीर्ष स्थानमा रहँदै पोखरा प्रतियोगिताको फाईनलमा पुगेको थियो भने इलिमेटरमा काठमाडौंलाई पराजित गर्दै चितवनले फाईनल स्थान तय गरेको थियो ।
प्रतिक्रिया