मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वाम बुद्धिजीवी तुलाधर रहेनन्

वाम बुद्धिजीवी तुलाधर रहेनन्


काठमाडौँ । वाम बुद्धिजीवी एवं मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा निधन भएको छ । 
 
मस्तिष्कघात भएर अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा आइतबार निधन भएको हो । उनको छातीको गम्भीर संक्रमणबाट मृत्यु भएको उनको परिवारले जनाएको छ । 
 
नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए । 
 
उनी पत्रकार तथा साहित्यकार पनि रहेका थिए । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । सोमबार शोभाभगवतीमा उनको शवको अन्तिम संस्कार गरिने बताइएको छ । 
 
योगदान बिर्सन सकिन्न : नेपाल
 
वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुगेका छन् । उनको आजै ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२ः४५ मा उपचाररत रहँदाकै अवस्थामा निधन भएको हो । 
 
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारसँग कुरा गर्दै तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । पूर्वप्रधानमन्त्री नेपालले भने, ‘नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका कहिल्यै बिर्सन सकिन्न ।’ 
 
नेतृ हिसिला यमीसहित अस्पताल पुगेका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले तुलाधार लोकतान्त्रिक आन्दोलनका खम्बा, सबैका आदरणीय आदर्शवान र निष्ठावान् व्यक्तित्व भएको प्रतिक्रिया दिए ।
 
उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि अस्पताल पुगेका थिए ।