मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

मध्य भोटेकोशीले साधारण शेयर बिक्री गर्ने

मध्य भोटेकोशीले साधारण शेयर बिक्री गर्ने


काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्य भोटेकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ४४ करोड बराबरको सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । 
 
पहिलो चरणमा कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि रु एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर निष्काशन गर्न लागेको बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले जानकारी दिएको छ । 
 
साधारण शेयरको निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले विवरणपत्र स्वीकृत गरिसकेको छ । कोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता तथा अधिकतम् ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् । सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम् एक हजार २०० कित्तासम्मको शेयरमा आवेदन दिन सक्नेछन् । 
 
दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई छुट्याइएको ६० लाख कित्ता र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको ९० लाख कित्ता शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ । 
 
यस आयोजनाको अद्यावधिक लागत अनुमान निर्माण अवधिको ब्याजबाहेक रु १४ अर्ब ८३ करोड ९२ लाख छ । आयोजनामा गत असोज मसान्तसम्म ब्याजबाहेक रु पाँच अर्ब ९१ करोड ६४ लाख खर्च भई कूल वित्तीय प्रगतिभार ३९.९० प्रतिशत रहेको छ । 
 
विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, महाभूकम्प, बाढीपहिरो, नाकाबन्दी लगायतका कारणले निर्माण प्रभावित हुँदा आयोजनाको लागत बढ्न जाने देखिएको आयोजनाले जनाएको छ । 
 
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी रु छ अर्ब २१ करोड र जारी पूँजी रु छ अर्ब रहेको छ । 
 
निर्माणाधीन आयोजनाको शुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइनेछ । सो आयोजनाको ५० प्रतिशत ऋणका लागि कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भइसकेको छ । 
 
संस्थापक समूहबाट कबोल भएको रु तीन अर्ब छ करोडको शेयर रकम चुक्ता भइसकेको छ । कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयरअन्तर्गत नेपाल विद्युत् प्राधिकरण १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड ३७, सिन्धुपाल्चोक हाइड्रोपावर एक, नेपाल अरनिको हाइड्रोपावर कम्पनी एक, सिन्धु इन्भेष्टमेण्ट कम्पनी एक र सिन्धु भोटेकोशी हाइड्रोपावरको एक प्रतिशत रहेको छ । 
 
सर्वसाधारण शेयरधनी समूहको ४९ प्रतिशत शेयरअन्तर्गत कर्मचारी सञ्चय कोषका कर्मचारी १९.५, संस्थापक सङ्गठित संस्थाका कर्मचारी ३।५, ऋणदाता संस्थाका कर्मचारी एक, सिन्धुपाल्चोक जिल्लाका स्थानीयका लागि १० र सर्वसाधारणका लागि १५ प्रतिशतका शेयर छुट्याइएको छ ।
 
सर्वसाधारण समूहका लागि छुट्याइएको शेयरको निष्काशन तथा बिक्री वितरण गर्न ग्लोबल आइएमइ क्यापिल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक र प्रभु क्यापिटल लिमिटेड, एनआइबिएलएस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल तथा सिबिआएल क्यापिटल लिमिटेड सह–निष्काशन एवम् बिक्री प्रबन्धक छन् । 
 
आयोजना निर्माण कार्यमा ढिलाइ 
 
मध्य भोटेकोशी जलविद्युत् आयोजना जुरे पहिरो, महाभूकम्प, नाकाबन्दी एवं बाढीका कारण निर्माणमा ढिलाइ भएको छ । बाँध स्थलमा खन्ने र स्लोभ बनाउने कार्य सम्पन्न गरी मुख्य बाँध निर्माण गर्न नदी डाइभर्सन कार्य गरिएको छ । सात हजार १२६ मिटर लामो मुख्य सुरुङमध्ये चार हजार ६० मिटर सुरुङ मात्रै खनिएको छ । विद्युत्गृहका लागि खन्ने काम सकिएको छ । 
 
कूल चार किमी लामो २२० केभीको ट्रान्समिसन लाइनको सर्वेक्षण सम्पन्न भएको आयोजना प्रमुख सुनिकुमार लामाले जानकारी दिए । आयोजनाले विसं २०७६ को असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । हालसम्म सो आयोजनाको समग्र निर्माण कार्य प्रगति करीब ४२ प्रतिशत छ । 
 
आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८।४० र ४।८०मा खरिद गर्नेछ । यसबाट वार्षिक रु दुई अर्ब ९० करोड आम्दानी हुने कम्पनीले जनाएको छ । रासस