मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

पैसाले किन्न नसकेको दशैं

पैसाले किन्न नसकेको दशैं


घटस्थापनाको दिनदेखि एकबिहानै बुबा “नीते नीते मंगलम माई " गाउँदै नुहाई धुवाई गर्ने, अति प्रफुल्ल मुद्रामा चिया बनाएर उठ, उठ भन्दै ढोका ढक्ढक्याउने, उत्साहित हुँदै चोटा कोठा गर्नुहुन्थ्यो । घरमा हामी सबैलाई भरपुर उमङग बाँड्नु हुन्थ्यो र पो दशैं आउँथ्यो।
आमा दशैंको सबै चाँजोपाँजो मिलाइदिनु हुन्थ्यो | घर सफा सुग्घर राख्दै पाहुनापासा मान्ने तयारीमा जुट्नु हुन्थ्यो । घर आँगनमा मसला कुट्दै गरेको वासना, सिसीभरी मुख रसाउने खल्पि अचार, करेसा बारीभरी रायो र तोरीको लहलहाउदो साग हुन्थ्यो र पो दशैं आउथ्यो।
 
मन्दिरमा श्रद्दालु भक्ततजनको घुइँचो, शंख, घन्ट र डमरुको ध्वनी धूप र अगर वत्तिको मिठो सुगन्ध आउथ्यो र पो दशैं आउथ्यो। 
टोल छिमेकमा जुवाडेको खाल, "मार्रा" को झन्कार गुन्जिन्थ्यो र पो दशैं आउँथ्यो।
लिङ्गे पिङको चच हुईँ ……र आकासिएको चँगा देखिन्थ्यो र पो दशैं आउथ्यो ।
बुबाले बजारमा लगी रोजाई रोजाई नयाँ लुगा किनीदिनु हुन्थ्यो र पो दशैं आउथ्यो।
सानासाना कुरामै आफ्ना दिदीबहिनी दाजुभाइ एक आपसमा हाँसो खुशी बाड़दथ्यौं र पो त दशैं आउथ्यो ।
पहेँलपुर धानका बाला झुल्थ्यो, सयपत्री, मखमली र गोदावरी ढकमक्क फुल्थ्यो र पो दशैं आउथ्यो ।
मन बहकाउने सिरसीरे  मन्द पवन, महकिदो  टहटह जुनेली रात आउथ्यो र पो दशैं आउथ्यो।
आफन्तको माया, प्रेम, सद्भाव थियो र पो दशैं आउथ्यो ।
 
छैन परदेशमा दशैं आको छैन । पार्टीका फोटो भिडीयो र फेसबुकका भित्तामा सिमित छन हाम्रा दशैं । ओठे मुस्कान र बग्रेल्ती बनावटी शुभकामनामा सिमित छन दशैं ।
 
हो, हुनत स्वदेशका आफन्त, साथीभाइलाई हामी सुखी र खुशी छौं भनेर देखाउन चाहन्छौं । पलपलमा देश असाध्यै सम्झन्छौं तर पनि भन्दैनौं । पीर व्यथा लुकाउँछौं, सक्दा बरु दुईचार पैसा सहयोग गरिदिन्छौं तर आँसु देखाउदैनौं । अरु बेला कामको बोझ र व्यस्तताले कतै बिर्सी हाले पनि चाडवाडमा त उतै पुग्छ हाम्रो मन । एकान्तमा रोएर मन बुझाउने गर्छौं बरू अहँ दुखेसो पटक्कै पोख्दैनौं ।
 
लटरम्म झुलेको धानको फोटो नदेखाउनु हामीलाई । पिङग , चँगा , सयपत्री फूल र देबी दुर्गा अंकित शुभकामना पनि नपठाउनु हामीलाई । झन राता टीका र जमरा अनि मान्यजन बाट आशीष लिदै गरेको फोटो भिडीयो हेरे देखे पछि त हामी कति बिघ्न नोस्टाल्जिक हुन्छौं कुरै नगरौं । 
 
खान लाउनको दुःख छैन यहाँ कसैलाई । रमाइलो जमघटमा साथी सर्कल उस्तै । तर मन उतै मार्छ बुर्कुसी ।  दशैं त मनमा आउने हो नि ! हैन र ? पैसाले दशैं किन्न कहाँ पाइदो रहेछ र ।
 
विजया दशमीको मंगलमय शुभकामना सबै नेपालीलाई ।