मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा प्रेस युनियनको आफ्नै भवन निर्माण, सभापति देउवाले उद्घाटन गर्ने

चितवनमा प्रेस युनियनको आफ्नै भवन निर्माण, सभापति देउवाले उद्घाटन गर्ने


भरतपुर । नेपाल प्रेस युनियन चितवनले सञ्चारकर्मीको पेशागत विकासका लागि भवन निर्माण गरेको छ । करिव ५५ लाखको लागतमा निर्माण पुरा भएको सो भवनमा पत्रकारको क्षमता अभिवृद्धि, वृत्तिविकास लगायतका गतिविधि सञ्चालन गरिनेछ ।
 
‘नेपाल प्रेस युनियन चितवन मैयाँदेवी सूचना केन्द्र‘का रुपमा स्थापित भवन निर्माणमा ६० जनाभन्दा बढी व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् ।
 
नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले भवन निर्माणमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे । “भवन निर्माणमा सबैले सक्दो सहयोग गर्नुभयो”, उनले भने, “सामाजिक चासोका विषय उजागर गर्ने प्रेरणा पाएका छौँ ।” 
 
सो भवन बनाउन समाजसेवी मैयाँदेवी श्रेष्ठले तीन वर्ष पहिले भरतपुर–११ बसेनीमा युनियनलाई १३ धुर जग्गा उपलब्ध गराएकी हुन् । भूकम्पप्रतिरोधी सो भवनमा २ सय ५० जना क्षमताको सभाहल, कार्यालय कार्यकक्ष छ । “यो भवन अब सूचना केन्द्रका रुपमा विकास हुनेछ”, अध्यक्ष अधिकारीले भने, “सबै मिडियामा आवद्ध सञ्चारकर्मीको सिक्ने थलोका रुपमा विकास हुनेछ, सञ्चार क्षेत्रमा लाग्न चाहनेलाई गन्तव्य देखाइनेछ ।”
 
भवन निर्माणमा १४ जनाले जिन्सी सहयोग गरेका थिए । यस्तै ४६ जनाले नगद सहयोग गरेका थिए । दाताले १० हजार रुपैयाँदेखि ११ लाख रुपैयाँसम्म सहयोग गरेका छन् । सांसद गीता वाग्लेले ११ लाख रुपैयाँ, व्यवसायी तेजबहादुर कार्की ‘केशव’ले ५ लाख रुपैयाँ नगद सहयोग गरेका थिए । 
 
यस्तै पूर्वसांसदहरु अञ्जनी श्रेष्ठ, उमेश श्रेष्ठ, शेषनाथ अधिकारी, सावित्री चौधरीले आर्थिक सहयोग गरेका थिए । भवन निर्माणमा १ लाख बढी सहयोग गर्ने १८ जना छन् । तीन घुम्ती फिल्मको च्यारीटिसोबाट भवन निर्माणका लागि करिब १० लाख रुपैयाँ संकलन भएको थियो । 
 
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा भवन निर्माण आर्थिक समितिका संयोजक सृजना अर्यालले भवन निर्माणमा भएको आयव्यय विवरण तयार भैरहेको बताइन् । “पत्रकार संस्थाको आफ्नै भवन बनेको छ”, उनले भनिन्, “चितवनले अन्य जिल्लालाई पनि सन्देश दिएको छ, पत्रकारको आत्मबल बढाउन यो भवन फलदायी हुनेछ ।”
 
नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकार महासंघबाहेक अन्य पत्रकार संस्थाको भवन चितवनमा पहिलोपटक बनेको बताए ।
 
“यो ठूलो उपलब्धि हो, प्रेस युनियनको संगठन सशक्तिकरण मजबुत बनाउन पनि सहयोग पुग्ने छ”, उनले भने, “पत्रकारलाई आत्मबल बढाउन यो भवनमा तालिम, प्रशिक्षण, गोष्ठी सञ्चालन हुनेछन् ।” उनले पत्रकारलाई क्षमता अभिवृद्धि तथा वृत्ति विकासका तालिम दिन सके पेशाबाट पलायन हुने अवस्थाको अन्त्य हुने बताए ।
 
पूर्वप्रधानमन्त्री देउवाद्वारा भवन उद्घाटन हुँदै
 
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दैछन् । 
 
भवन उद्घाटन कार्यक्रममा कांग्रेसका महामन्त्री शशांक कोइरालासहित अन्य केन्द्रीय नेता, सांसद, पत्रकार संगठनका अगुवालगायतको सहभागिता रहनेछ । 
 
सोही अवसमा नेपाल प्रेस युनियन चितवनको आठौँ जिल्ला अधिवेशनको समेत उद्घाटन हुनेछ । सो अवसरमा भवन निर्माणमा सहयोग गर्ने दातालाई सम्मानसमेत गरिनेछ । 
 
यस्तै, चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार किशोर नेपाल, कुलचन्द्र वाग्ले र तेजप्रकाश पण्डितलाई जनही ५१ हजार १ सय ५१ रुपैयाँसहित पुरस्कृत गरिनेछ ।