मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हेटौँडाबाट राजधानी सरे काठमाडौँमा नाकाबन्दी लाग्ने चेतावनी

हेटौँडाबाट राजधानी सरे काठमाडौँमा नाकाबन्दी लाग्ने चेतावनी


हेटौँडा । नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ३ नम्बर प्रदेशको राजधानी हेटौँडाबाट सारिए काठमाडौँमा नाकाबन्दी लाग्ने चेतावनी दिएका छन् । 
 
नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा बुधबार हेटौँडामा आयोजित चियापान तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बानियाँले सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त हुने बताए ।
 
प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत रहेको र नेकपाले चाहेको खण्डमा राजधानी रहन सक्ने बताउँदै उनले आफूहरुले राजधानी हेटौँडामा नै राख्नुपर्नेमा जोड दिँदै आएको बताए । 
 
‘राजधानीको विषय प्रदेशसभाले निर्णय गर्ने कुरा हो, हामीले हाम्रो तर्फबाट हेटौँडामा नै राजधानी राख्ने प्रयास गरिरहेका छौँ, नेकपाकै सांसद्हरुले हेटौँडामा जोड गरिदिए राजधानी हेटौँडामा रहन सक्छ’, उनले भने । हेटौँडाबाट राजधानी सारिए मकवानपुरवासी आन्दोलनमा उत्रने र त्यसको प्रभावस्वरुप काठमाडौँमा मकवानपुरले नाकाबन्दी लगाउन सक्ने अवस्था आउने उनको भनाइ थियो ।
 
रणनीतिकरुपमा नै उपयुक्त रहेकाले नै यसअघिको सरकारले स्थायी राजधानी बनाउने हेतुले अस्थायी राजधानी हेटौँडामा तोकेको उनको भनाइ थियो ।
 
राजनीतिक आग्रह-पूर्वाग्रहमा नलागी एकमत भएर राजधानी अब हेटौँडामा नै कायम गर्न सबै जुट्नुपर्ने उनले बताए । सडक सञ्जाल, सुरक्षा संवेदनशीलता र रणनीतिक दृष्टिकोणले प्रदेश नम्बर ३ को राजधानी हेटौँडा उपयुक्त रहेको उनको भनाइ थियो । 
 
प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, नेपाल प्रेस युनियनका मध्यमाञ्चल संयोजक राममणि दाहाल, पार्टी जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विक, प्रवक्ता प्रदीप कोइराला, नगर सभापति आनन्दराम पराजुली, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाईं, प्रेस सेन्टरकी अध्यक्ष नानीमैया विष्टलगायतको आतिथ्यता रहेको थियो ।