मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बेहोस बनाइ लुटपाट गर्ने गिरोह पक्राउ

बेहोस बनाइ लुटपाट गर्ने गिरोह पक्राउ


जिल्ला प्रहरी कार्यालय चितवनले विगत १५ वर्षदेखि देशका विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
 
प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी माडीमा रातको समयमा बास मागी आँपको जुस खुवाएर घरको परिवारलाई बेहोस बनाइ लुटपाट गर्ने दुई जना लुटेरालाई सार्वजनिक गरेको हो । 
 
पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका वडा नं २ घर भई हाल तनहुँ जिल्लाको देवघाटमा डेरा गरी बस्ने ४९ वर्षीय हरि गोले र कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं ६ बस्ने वर्ष ५६ को गोपाल भन्ने कालु परियार रहेका छन् । उनले १५० ठाउँमा बेहोस बनाई लुटपाट गरेको स्वीकारेको प्रहरीले जनाएको छ । 
 
गोलेलाई प्राविधिक अनुसन्धानको आधारमा गत शुक्रबार बिहान आँपटारीबाट र परियारलाई लुटपाटको लागि प्रयोग गरिने औषधि, इन्जेक्सन, टर्च, जुससहितको बोतलसहित शुक्रबार बेलुका बुटवल बसपार्कबाट पक्राउ गरिएको हो ।
उनीहरुले असोज १२ गते माडी नगरपालिका–६ कल्याणपुरका भीमबहादुर सुनारको घरमा लुटपाट गरेपछि सो समूहको खोजीकार्य शुरु गरिएको थियो । उनीहरुलाई सोमबार बुटवल बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौँरले जानकारी दिए । 
 
उनीहरुले गत शुक्रबार राति चितवनको माडी नगरपालिका वडा नं ६ कल्याणपुर वडा कार्यालयनजिक नामथर वतन नखुलेका पहाडे मुलका एक महिला र एक पुरुष दिनभर गाउँमा अमिलो बेच्ने बहानामा लुट्न लगाएका थिए । 
 
उनीहरुले भीमबहादुर सुनारको घरमा गई बास मागी निजकी आमा मायाकुमारी सुनार र श्रीमती अनिशा सुनार तथा निज कै ४ वर्षकी छोरीसहित सब परिवारलाई पेय पदार्थ आँपको जुसमा बेहोस हुने औषध मिसाइ खुवाएर बेहोस बनाइ घरमा रहेको करिब १५ तोला सुनका गरगहना, दुई थान मोबाइल सेट लुटेर उक्त स्थानबाट भागी फरार भएका थिए । भोलिपल्ट बिहान घरका मानिसहरु नउठेपछि स्थानीयवासीले उक्त घटनाको बारेमा थाहा पाई इलाका प्रहरी कार्यालय माडीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 
बेहोस अवस्थामा रहेका आमा र श्रीमतीलाई तत्कालै उपचारको लागि स्थानीय अस्पतालमा लगिएको, थप उपचारको लागि सेन्ट्रल अस्पताल भरतपुरमा ल्याई आईसीयूमा राखी उपचार गराइएको प्रहरीले जनाएको छ । 
११ दिनको उपचारपश्चातसमेत आमा हालसम्म अर्धबेहोस अवस्थामा रहेकी छन् भने ५ दिनको उपचार पश्चाआत श्रीमतीको अवस्था सामान्य भई घर फर्केकी छन् ।
 
इलाका प्रहरी कार्यालय माडीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि तत्काल अनुसन्धानको लागि प्रहरी निरीक्षक युवराज तिमल्सिनाको कमाण्डमा विशेष अनुसन्धान टोली गठन गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको थियो ।
 
नारायणगढ माडी चल्ने सवारीका चालकहरुबाट म्यानुअल अनुसन्धान तथा पिडितहरुबाट लुटिएको मोबाइलहरुबाट प्राविधिक अनुसन्धान सुरु गरेर उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई ज्यान मार्ने उद्योग र चोरी कसुरअन्तर्गत कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । माडी घटनामा अमिलो बेच्ने बहाना बनाइ महिलालाई प्रयोग गरेको पाइएको र निज महिलाको खोजी गर्ने लगायतको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
माडी घटनामा निज अभियुक्तहरुले लुटपाट गरेको सुन दुई लाख ८० हजारमा बिक्री गरी प्राप्त रकम दामासाहीमा बाँडफाँड गरेको भन्ने खुल्न आएको, उक्त सुन कहाँ कसलाई बिक्री गरेको भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
५६ वर्षीय कालु परियारले बेहोस बनाउने भनिएको औषधि एटिभन भारत नौतुनवा गोरखपुरबाट खरिद गरी ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । १५ वर्ष पहिला गोरखपुर भारतमा होटलमा काम गर्दा एक जना भारतीय नागरिकबाट यस्तो अपराध गर्न सिकेको उनले बताएका छन् । उनले सुर्खेत, नेपालगञ्ज र बुटवलबाट हजारौ रुपैयाँ लुटपाट गरेको खुल्न आएको छ । पोखरा बसपार्कको होटलमा बसी सो रकममध्ये कालु परियारले एक लाख लिई बाँकी रकम हरि गोले र महिलालाई बाँडेको भेटिएको छ ।
 
चितवन प्रहरीका पवक्ता डीएसपी प्रभुप्रसाद ढकालले चितवनमा यस प्रकारको अपराधको शैली नयाँ भएको बताए । उनले भने, ‘साँझको समयमा घरमा बास मागेर परिवारका सम्पूर्ण सदस्यहरुलाई नै बेहोस हुने गरी लुटपाट गरिनुले प्रहरीलाई पनि नयाँ शिक्षा भएको छ ।’