मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाका नेपाली डाक्टरले स्थापना गरे नयाँ संस्था

अमेरिकाका नेपाली डाक्टरले स्थापना गरे नयाँ संस्था


हिमालयखवर संवाददाता- 
टेक्सस (अमेरिका)। झण्डै डेढ वर्षको प्रयासपछि अमेरिकाको टेक्ससमा नेपाली डाक्टरहरुको संस्था स्थापना भएको छ । 
 
टेक्ससका बिभिन्न अस्पतालहरुमा कार्यरत नेपाली डाक्टरहरुको संख्या बढ्दै गएको अवस्थामा ‘टेक्सस नेप्लिज मेडिकल एसोसिएसन’ नामक संस्था स्थापना भएको हो । आइतबार युलेसमा आयोजना गरिएको नेपाली डाक्टरहरुको भेलाले डा. सञ्जीव श्रेष्ठको अध्यक्षतामा नौ जनाको कार्यसमिति निर्विरोध चयन गरिएको छ । 
 
नवगठित एसोसिएसनको उपाध्यक्षमा डा. विष्णु सापकोटा, महासचिवमा डा. अनुज कँडेल र कोषाध्यक्षमा डा. रोजी राजभण्डारी चयन भएका छन् । 
 
त्यस्तै कार्य समितिका सदस्यहरुमा डा. दीपेश विष्ट, डा. शैलेस थापा, डा. युवराज भट्टराई, डा. शर्मिला श्रेष्ठ र डा. सुमित भट्टराई रहेका छन् । 
 
कार्यसमितिलाइ सहयोग गर्नका लागि तीन सदस्यीय ज्वाइन्ट एक्ज्युकेटिभ कमिटी गठन भएको छ । यो कमिटीमा लीला श्रेष्ठ, दिनेश शर्मा र बादल भुजेल रहेका छन् । 
 
नेपाली डाक्टरहरुलाई समेटेर सामुदायीक सेवाका गतिविधि अझै प्रभावकारी रुपमा अघि बढाउन नयाँ संस्था स्थापना गरिएको अध्यक्ष डा. श्रेष्ठले बताए । अहिले नर्थ टेक्ससमा पर्ने ड्यालस, फोर्टवर्थ, वेदरफोर्ड लगायतका सेरोफेरोका हस्पिटलहरुमा मात्र २५ जनाको हाराहारीमा नेपाली डाक्टरहरु कार्यरत छन् । 
 
नवगठित संस्थाले टेक्ससभरिका नेपाली डाक्टरहरुलाइ समेट्ने लक्ष्य लिएकोले थुप्रै संख्यामा नेपाली डाक्टरहरु आवदध हुने उनले आशा लिएका छन् । टेक्ससमा ड्यालस, फोर्टवर्थ, अस्टिन, हुस्टन, सानएन्टेनियो लगायत ठूला शहरहरु छन् ।
 
यो संस्थालाई अमेरिकी सरकारको गैर नाफामुलक सामाजीक संस्थाका रुपमा दर्ता गर्नेगरि अघि बढाइएको छ । हरेक महिना स्वास्थ शिविर आयोजना गर्न सकिन्छ कि भनेर त्यसतर्फ संस्थाले कार्यक्रम अघि बढाउनुका साथै सरकारी निकायबाट सहयोग र स्विकृती प्राप्त भएको अवस्थामा स्थायी प्रकृतिको निशुल्क क्लिनिक सञ्चालन गर्ने योजना संस्थाले अघि सारेको छ । अहिले नेपाली समाजको आयोजनामा हुने निशुल्क स्वास्थ शिविरमा निकै धेरै मानिसहरु स्वास्थ सेवा लिन आउने गरेको र त्यसलाई हरेक महिना गर्नुपर्ने अवस्था देखिएको छ । 
 
नेपालबाट एमडी गर्न आउने डाक्टरहरुलाई आवश्यक नेटवर्किंगको सहयोग, सूचना प्रदान लगायतका क्षेत्रमा समेत सहयोगका लागि एसोसिएसनले पहल गर्ने भएको छ । काउन्टीहरुसँग मिलेर नेपाली समुदायका लागि आवश्यक स्वास्थ शिक्षाको जानकारी दिने तथा नेपालमा समेत आवश्यकता अनुसार सेवा दिन पहल गर्ने लक्ष्य संस्थाले लिएको छ । संस्थामा संस्थापक सदस्यका रूपमा मेडिकल फिल्डका डाक्टर र डेन्टिस्टहरूलाइ मात्र सदस्यता दिइनेछ । 
 
अमेरिकामा सामाजीक संस्थाका रूपमा नेपालीहरूले स्थापना गरेका बिभिन्न खाले राजनीतिक विचारधारालाइ प्राथमिकतामा राखेका, जातीय, क्षेत्रीय संस्थाहरू धेरै छन् । तर नेपाली डाक्टरले संस्था स्थापना गरेर अमेरिकामा सामुदायिक सेवामा अघि बढ्दा अमेरिकी समुदायमा समेत निकैनै सकारात्मक प्रभाव पर्ने देखिएको छ । 
 
संस्था स्थापनाका लागि अयोजना गरिएको छलफल कार्यक्रम पछि हिमालय खबरसँग कुराकानी गर्दै अध्यक्ष डा. श्रेष्ठ लगायतका पदाधिकारीहरूले संस्थागत रूपमा सामुदायिक सेवाका कार्यक्रम गर्दा सजिलो पर्ने भएकोले अघि बढेको बताए । त्यस अवसरमा डाक्टरहरू दीपेश विष्ट, सुमित भट्टराइ, रोजी राजभण्डारीले समेत हिमालय खबरको जिज्ञासाको जवाफ दिएका थिए ।