मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्काउट भवन रहेको जग्गा दर्ता गराइदिन सांसद्हरुसँग आग्रह

स्काउट भवन रहेको जग्गा दर्ता गराइदिन सांसद्हरुसँग आग्रह


भरतपुर । नेपाल स्काउट चितवनको भवन रहेको जग्गा संगठनको नाममा दर्ता गर्ने व्यवस्था मिलाइ दिन नेपाल स्काउटका जिल्ला आयुक्त तीर्थराज न्यौपानेले चितवनका तीन सांसदसँग निवेदन गरेका छन् । 
 
आयुक्त न्यौपानेले सांसद् एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सांसद सुरेन्द्र पाण्डे एवम् सांसद कृष्णभक्त पोखरेललाई छुट्टाछुट्टै भेट गरी स्काउट चितवनको नाममा जग्गा दर्ता गर्ने व्यवस्था मिलाइदिन निवेदन पेस गरेका हुन् । 
 
स्वयंसेवाको क्षेत्रमा आफ्नै विशिष्ट पहिचान बनाएको स्काउटको विश्वग्राममा आवद्ध नेपाल स्काउटले स्थापनाको ६५ वर्ष पूरा गरेको छ । विश्वका २२३ देशका ४ करोड बढी सदस्य रहेको सो संगठनमा नेपाली सभ्यताका सबै तह र तप्काका ६० हजारभन्दा बढी सदस्य प्रत्यक्षरुपमा आवद्ध छन् । 
 
बालबालिका तथा युवालाई आत्मनिर्भर, आत्मसक्षम, नैतिकवान, चरित्रवान एवम् अनुशासित बनाई समाज र राष्ट्रको समुन्नत विकासमा योगदान दिनसक्ने सबल नागरिक तयार गर्ने उद्देश्यले नेपाल स्काउटले आफ्नो यात्रा अगाडि बढाइरहेको छ । 
 
नेपाल सरकारले संसद्बाट ऐनद्वारा स्थापित गरेको सो संस्थाको संरक्षक प्रधानमन्त्री रहने व्यवस्था छ । ‘तयार होऊ’ भन्ने स्काउटको सर्वस्वीकार्य सिद्धान्तमा आधारित रही सदैव स्वयंसेवाको भावनाले ओतप्रोत रहेर राष्ट्रसेवामा अग्रसर महिला÷पुरुष स्काउटहरु सधैँ क्रियाशील रहेर देशका विभिन्न क्षेत्रमा योगदान दिइरहेका छन् । 
 
नेपाल स्काउट ऐन, २०५० परिमार्जनमा लागि संघीय संसद्मा छलफलका क्रममा रहेको छ । नेपाल स्काउटको ०६८ मा भएको निर्वाचन ४-४ वर्षमा हुनुपर्नेमा हालसम्म पनि हुन सकेको छैन । जसका कारण अन्योलको स्थिति देखापरेकाले उक्त ऐनलाई संसद्बाट अगाडि बढाइदिनसमेत जिल्ला आयुक्त न्यौपानेले सांसद्हरुसँग आग्रह गरेका छन् ।