मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवनमा पाँच वर्षमा २७ बाघ घटे, देशभर २३५ पुगे

चितवनमा पाँच वर्षमा २७ बाघ घटे, देशभर २३५ पुगे


चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या घटेर ९३ वटामा झरेको छ । सन् २०१३ मा चितवन निकुञ्जमा १२० वटा बाघ गणना भएको थियो ।
 
वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर आइतबार बाघको संख्या सार्वजनिक गरेको हो । सन् २०१३ को गणनामा देशभर १९८ वटा बाघ रहेकोमा ५ वर्षमा बढेर २३५ पुगेको छ ।
 
मन्त्रालयको सार्वजनिक तथ्याङ्कअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् । चितवनमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेको छ ।
 
यसअघि सन् २०१३ मा गरिएको वाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जमा १२० वटा बाघ थिए । त्यस्तै बर्दियामा ५०, शुक्लाफाँटामा १७, बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा बाघ रहेको थियो ।
 
सरकारले बाघ दिवसको अवसर पारेर गत साउन १३ गते नै बाघ गणनाको प्रतिवेदन सार्वजनिक गर्ने भने पनि बाघ घटेको देखिएपछि तथ्यांक सार्वजनिक गर्न चासो देखाएको थिएन ।
 
चितवन निकुञ्जमा पछिल्लो तीन वर्षमा ११ वटा बाघ विभिन्न कारणले मरेको छ । केही बाघ बुढो भएर मरेको देखिएको छ भने केही उपचारको क्रममा, केही बिषादीमा परेर मरेकोले संख्या घटेको चितवन निकुञ्जले बताएको छ ।
 
निकुञ्ज विभागको तथ्यांकअनुसार पाँच वर्षयता पर्सादेखि शुक्लाफाँटा निकुञ्जसम्म ३३ वटा बाघ प्राकृतिक कारणले मरेका छन् । पर्सा वन्यजन्तु आरक्ष, बर्दिया निकुञ्जमा बाघको संख्या सामान्य बढे पनि चितवन राष्ट्रिय निकुञ्जमा घटेकोे हो ।
 
पर्सा र चितवन निकुञ्जसँगै भारततर्फको वाल्मीकि टाइगर रिजर्भको सीमासँगै भएकाले बाघ दुवैतिर ओहोरदोहोर गर्ने कारण संख्या कम हुनसक्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र र्यालले बताए ।