मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गाडी चालकको बन्दले यात्रुलाई सकस

गाडी चालकको बन्दले यात्रुलाई सकस


चितवन । गाडी चालकहरुको अनिश्चितकालीन बन्दले सर्वसाधारणले सास्ती पाउन थालेका छन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐन, अपराध संहिता चालकहरुको हितमा नभएको भन्दै उनीहरुले बन्द आह्वान् गरेका हुन् । 
 
बन्दले सर्वसाधारणले सास्ती व्यहोर्न बाध्य भएका छन् । बजारमा पेट्रोल र डिजेलको अभाव भएको छ । 
 
चितवनमा रहेका सबै पेट्रोल पम्पहरुमा लगभग पेट्रोल डिजेल सकिएको चितवन पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ । 
 
लामो दूरीमा चल्ने बसहरु नचल्दा यात्रुहरु एक ठाउँबाट अर्को ठाउँमा जान पाएका छैनन् । कोही यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका छन् । स्थानीय रुटमा पर्याप्त गाडीहरु नचल्दा ग्रामीण भेगका मानिसहरु किनमेलको लागि बजार आउन पनि सकिरहेका छैनन् । 
 
झुटो अफवाह फैलाए : प्रजिअ
 
‘चालकलाई कडा खालको कानुन ल्याएको छ भनेर उनीहरुले १ गतेबाट बन्द गरेका सुन्नमा आएको छ’ चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने, ‘यदि त्यसो हो भने झुटो अफवाह फैलाएका छन्, अहिलेको कानुन चालकलाई पेल्ने हिसाबले आएको छैन ।’ 
 
प्रजिअ बस्नेतले सवारीसाधनका चालकहरुको लागि पहिलाको कानुन र अहिलेको कानुनमा खासै अन्तर नभएको बताए । ‘कुरा नबुझेरै चालकहरुले बन्द गर्नुभएको छ, उहाँहरुमाथि कुनै अन्याय भएको छैन ।’ 
 
यसैबीच, जिल्ला प्रशासन कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी असंगठित रुपमा बिना जानकारी गरिएको यातायात बन्द तत्काल फिर्ता गरी यथावतरुपमा यातायात सञ्चालन गर्न आग्रह गरेको छ । 
 
प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा हालै कार्यान्वयनमा आएको मुलकी देवानी संहिता चालकको पक्षमा रहेको हुनाले अहिलेको यातायात बन्द सवारी चालकलगायत कसैको हितमा नरहेको बताइएको छ । 
 
बिनाकारण गरिएको यातायात बन्द फिर्ता नगरे जिल्ला प्रशासन कार्यालय स्कटिङमा सवारीसाधन चलाउन बाध्य हुने चेतावनी दिइएको छ । संशोधित कानुनको बारेमा जिल्ला प्रशासन कार्यालयले विभिन्न गैरसरकारी संघसंस्थाको सहकार्यमा सचेतना अभियान चलाउने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।