मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रदेश नं ३ को स्थायी राजधानी तोक्न माग

प्रदेश नं ३ को स्थायी राजधानी तोक्न माग


हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने सदस्यले स्थायी राजधानी आग्रह गर्नुभएको छ । 
 
प्रदेशसभाको मंगलबारको बैठकमा उनीहरुले प्रदेशका जनतालाई विकासको पूर्वाधारका साथै आर्थिक समृिद्धतर्फ लैजान आवश्यक भएकाले स्थायी राजधानीको प्रस्ताव बैठकमा ल्याई यथाशीघ्र छलफल गर्न सरकारसँग माग गरेका हुन् । 
 
उनीहरुले देशमा बढ्दै गएको बालबालिका, किशोरी र वृद्धालाई बलात्कार गरी हत्या गर्ने आपराधिक घटनालाई अनुसन्धान गरी कानूनी कारबाही हुनुपर्नेमा जोड दिए । अब प्रदेश सरकारले पनि त्यस्तो नराम्रा घटनालाई दोहोरिन नदिन प्रभावकारी ऐन कानून निमार्ण गर्नुपर्नेमा उनीहरुको जोड थियो । 
 
आजै बसेको दोस्रो बैठकले सामाजिक विकासमन्त्री युवराज दुलालले प्रस्ताव टेबल गरेको प्रदेश स्वास्थ्य सेवासम्बन्धी विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । उनले प्रस्तुत गरेको प्रदेश प्राविधिक शिक्षा परिषद्को स्थापना र सञ्चालन विधेयक, २०७५ र प्रदेश खेलकूद विकास गर्नेसम्बन्धी विधेयक, २०७५ माथि आज सैद्धान्तिक छलफल शुरु गरिएको छ । 
 
छलफलमाथि उठेको प्रश्नको उत्तर दिँदै सामाजिक विकासमन्त्री दुलालले प्रदेशमा बहुआयमिक क्षमतायुक्त दक्ष जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने क्रममा निष्पक्ष एवं पारदर्शीताका साथ सेवासुविधा र अवसर उपलब्ध गराउनेतर्फ सरकारको लक्ष्य रहेको बताए । 
 
विशेष बैठकमा प्रदेशसभाका सदस्य रामकुमार अधिकारी, बिजुला बर्मा शर्मा, प्रदीपकुमार केसी कटुवाल, सुरेन्द्रराज गोसार्इं, सृजना सैँजु, लालकुमारी पुन, शोभा शाक्य, गणेशप्रसाद दुलाल, बसुन्धरा हुमागार्इं, गीता वाग्ले, लक्ष्मण लम्साल र रीना गुरुङले आ—आफ्नो धारणा राखेका थिए । 
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक अनिश्चितकालका लागि स्थगित गरेको जानकारी गराए । आज ११ः ३५ बजे शुरु भएको बैठक ४ बजेसम्म सञ्चालन भएको थियो ।