मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पूर्व प्रमं डा. भट्टराईको विरोधमा कालोझण्डा

पूर्व प्रमं डा. भट्टराईको विरोधमा कालोझण्डा


ड्यालस (अमेरिका) – पूर्ब प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका नेता डा. बाबुराम भट्टराई विरुद्ध अमेरिकामा अभद्रता प्रदर्शन गर्दै कालोझण्डा देखाइएको छ ।

नेपाली कांग्रेस निकट केही व्यक्तिहरूले डा. भट्टराई विरूद्ध नारावाजी गर्नुका साथै कालो व्यानर, झण्डा र प्लेकार्ड देखाएका हुन् । एनआरएन टेक्सस च्याप्टरले स्थानीय नेपाली मन्दिरमा आयोजना गरेको कार्यक्रमको पूर्बसन्ध्यामा कालोझण्डा देखाउनेहरू जनसम्पर्क समिति अमेरिकामा आवद्ध छन्।

गत संसदीय चुनावमा नेपाली कांग्रेसकै निर्देशन र सहयोगमा चुनाव जितेका डा. भट्टराई विरूद्ध यहाँ देखाएको कालोझण्डालाइ अनाैठो रूपमा धेरैले लिएका छन् । सो कार्यलाई जनसम्पर्क समिति अमेरिकाकै पदाधिकारीहरुले अभद्रता र उदण्डदताको रुपमा टिप्पणी गरेका छन् ।

तरुण दल अमेरिकाको अध्यक्ष ओम भट्टराई, जनसम्पर्क समितिसँग आवद्ध दिनेश शर्मा, सन्तोष बिष्ट, भरत अर्याल, साजन मुल्मी लगायत व्यक्तिहरुको अगुवाईमा डा. भट्टराई विरुद्ध नारा लगाउँदै कालोझण्डा देखाइएको हो । जनसम्पर्क समिति अमेरिका नेपालको राजनीतिक दल नेपाली कांग्रेस निकटहरुको संस्था हो ।

जनसम्पर्क समिति अमेरिकाका महत्वपूर्ण पदमा रहेका पदाधिकारीहरु पनि कार्यक्रमस्थलमै उपस्थित थिए । तर उनीहरु भने डा. भट्टराईलाई कालोझण्डा देखाएर विरोध गर्ने कार्यक्रममा सहभागी भएनन् ।

डा. भट्टराई विरुद्ध नारा लगाउँदै विरोध गरिएको प्लेकार्ड समेत उनीहरुले बोकेका थिए । उनीहरुले विरोध गरिरहँदा भट्टराई र नयाँशक्ति पार्टीकी नेतृ हिसिला यमी कार्यक्रमस्थलमा चुपचाप प्रवेश गरेका थिए ।

डा. भट्टराई विरुद्धको कालोझण्डा देखाउने र विरोध कार्यक्रममा जनसम्पर्क समितिकै नेताहरुको असहमति रहेको बुझिएको छ । सोही कारण च्याप्टर सभापति ज्ञानेन्द्र कार्की लगायतका नेताहरु कार्यक्रममै उपस्थित भएनन् भने भित्र हलमा डा. भट्टराईका धारणा सुन्न उपस्थित जनसम्पर्कका नेताहरु समेत बाहिर निस्किएनन् ।

जनसम्पर्क समितिका पदाधिकारीहरु भित्र अन्तरकृयामा डा. भट्टराईसँग बिभिन्न विषयमा जिज्ञासा राखेर सहभागी भएका थिए । कार्यक्रमपछि केही पदाधिकारीहरु डा. भट्टराई बसेको हायात होटलमा गएर छलफल गर्नुका साथै कालोझण्डा देखाउने प्रवृत्ति ठीक नभएको र आफ्नो संगठनको सहमति नभएको जानकारी भट्टराईलाई दिएका थिए ।

जनसम्पर्क समितिका नेता हरिबोल भण्डारीले जिज्ञासा राख्ने क्रममा भट्टराईको स्वागत गरेका थिए । साँझ फिस्टेल रेस्टुरामा आयोजित रात्रीभोजमा समेत जनसम्पर्कका नेता तथा शूभेच्छुकहरुले डा. भट्टराईको साथ छाडेनन् ।

गत संसदीय निर्वाचनमा गोरखा–२ बाट निर्वाचित डा. भट्टराईलाई नेपाली कांग्रेसको समर्थन थियो । सोही कारण नेपाली कांग्रेसका प्रवासमा रहेका कार्यकर्ताले कालोझण्डा देखाउनु र विरोध गर्नुको कुनै अर्थ नभएको टिप्पणी सर्वसाधारणको छ ।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्पन्न वृहद शान्ति सम्झौतामा पनि द्वन्द्वकालीन विषयलाई कहिँकतै नउठाउने भन्ने उल्लेख हुनुले पनि अब विगत कोट्याएर कुनै फाइदा नहुने जनसम्पर्क समितिकै नेताहरुको धारणा छ ।

पूर्ब प्रधानमन्त्री तथा माओवादी छाडेर हाल नयाँशक्ति पार्टी मार्फत राजनीति गर्दै आएका डा. भट्टराईलाइ कालोझण्डा देखाएकोमा एनआरएनले समेत दुःख व्यक्त गरेको छ । कार्यक्रम सञ्चालन गरिरहेका एनआरएन अमेरिकाका मिडिया संयोजक बाल जोशीले अभद्र व्यबहार प्रति दुःख व्यक्त गरेका थिए । उनी एनअारएनकै अातिथ्यतामा अमेरिका अाउनुका साथै कार्यक्रममा सहभागी भएका हुन् । 

डा. भट्टराईले भने मन्तव्यका क्रममा जुनसुकै परिवर्तन र क्रान्ति पीडादायी हुने रहेछ भन्दै व्यक्तिगत रुपमा परेको पीडाप्रति दुःख व्यक्त गरेका थिए ।

डा. भट्टराई अमेरिकामा रहेका नेपाली समुदाय तथा बिभिन्न क्षेत्रमा स्थापित अर्थविद्, योजनाकारहरुसँग नेपालको विकासका लागि के कस्तो मोडल उपयुक्त हुन्छ भन्ने बारेमा बुझ्न एक महिनाको भ्रमणका लागि आएका हुन् । उनले बिभिन्न राज्यमा रहेका नेपाली समुदायसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।