मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हत्याका दोषी पत्ता नलाग्दा म आफैँ असन्तुष्ट छु : गृहमन्त्री

हत्याका दोषी पत्ता नलाग्दा म आफैँ असन्तुष्ट छु : गृहमन्त्री


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपश्चात् हत्याका दोषी पहिचान हुन नसक्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताएका छन् । 
 
निर्मलाका आमा र बुवासहितको प्रतिनिधिमण्डलसँग शुक्रबार गृह मन्त्रालयमा भेट्दै गृहमन्त्री थापाले भने, ‘दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होलाजस्तो मलाई लाग्छ ।’
 
निर्मलाको हत्याराको नजिक आफूहरु पुगिगसकेको भन्दै दोषीलाई कठघरामा ल्याएरै छाड्ने प्रतिबद्धता उनले व्यक्त गरे । 
 
उनले भने, ‘कञ्चनपुर घटनामा हामीले सुरुदेखि नै ध्यान दिएका हौँ । घटनालगत्तै स्थानीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौँ, त्यसपछि केन्द्रबाट सिआईबी टोली पठायौँ, त्यसले नभएपछि उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ । समितिबाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भइरहेको छ ।’
 
सो घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरबाहीलाई छुट नदिइने गृहमन्त्री थापाले स्पष्ट पारे । 
 
दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै गृहमन्त्री थापाले दोषी पत्ता लगाउन परिवारको समेत साथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाए । 
 
निर्मलाका आमाबुवाले घटना भएको लामो समय बित्दासमेत दोषी पत्ता नलागेको, प्रहरीबाट विगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीसमक्ष आग्रह गरेका थिए ।