काठमाडौँ । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्रिटिस गोर्खा सैनिकले उठाउँदै आएका माग सम्बोधन गर्न आफूले पहल गर्ने विश्वास दिलाएका छन् ।
ब्रिटिस गोर्खा भूतपूर्व सैनिक र उनका परिवारलाई ‘वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता तथा पूँजी पलायन’ विषयक कार्यशालामा बोल्दै उनले बेलायतमा रहेका गोर्खा सैनिकलाई दिइने सुविधा तथा नागरिकताको निरन्तरताको मागलाई सम्बोधन गर्न प्रयास गर्ने बताएका हुन् ।
उनले भने, ‘वंशजका आधारमा प्राप्त गरेको नागरिकतालाई खोस्ने भन्ने विषय नेपालको संविधानमा व्यवस्था छैन । तपार्इंहरु नेपाली नागरिक नै हो । तपाईंहरुको मागका विषयमा सरकारले सम्बोधन गर्छ ।’
राष्ट्रियताका आधारमा ब्रिटिस सैनिक नेपाली भएको र नागरिकतासमेत वंशजका आधारमा नेपाली नागरिक नै भएकाले कानूनी तथा संवैधानिक विषयमा धेरै समस्या नभएको उनले भनाइ थियो ।
उनले थपे, ‘यो पूर्व सैनिकको मात्रै नभई नेपालको चासो हो । सन् १९४७ को नेपाल, भारत र बेलायतको सहमतिअनुसार पनि बेलायती सैनिक र नेपाली सैनिकका बीचमा समानताको अधिकार स्थापित गरेको भए पनि केही अधिकारमा कमी भएको भन्ने गुनासो क्रमशः सम्बोधन भएको तथा केही अझै पनि प्राप्त गर्न बाँकी छ ।’
उनले बेलायती सेनामा कार्यरत ब्रिटिस गौर्खा सैनिकको अलगअलग परिभाषा नगरिँदासमेत समस्या देखिएको बताए ।
उनले भने, ‘यो विषय पूर्वसैनिकको पहिचान र अधिकारमात्रै नभएर नेपालको राष्ट्रियता, सार्वभौमसत्ताको विषय हो । मैले पनि बेलायत सरकारका उच्च अधिकारीसँग यस विषयमा छलफल गरेको थिएँ । त्यसलाई थप स्पष्ट पार्नु जरुरी छ ।’
गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक सबै हकअधिकार दिने व्यवस्था गरिएको भन्दै उनले ब्रिटिस गोर्खा सैनिकलाई पनि अधिकारसम्पन्न बनाउन पर्यन्तशील रहेको जिकिर गरे ।
प्रतिक्रिया