मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अस्थिरता चाहनेले मन्त्रिमण्डल हेरफेर हुने हल्ला चलाए : ओली

अस्थिरता चाहनेले मन्त्रिमण्डल हेरफेर हुने हल्ला चलाए : ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् । 
 
जिल्ला समन्वय समिति महासंघ नेपालले आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको आरोप लगाए । उनले थपे, “केही हुनेवाला छैन । राम्रो काम गरे कुनै मन्त्री हट्ने छैनन् ।”
 
कार्यक्रममा सहभागी अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आलोचना र हमलाबाट नडराउनसमेत आग्रह गरे । 
 
आफ्नो नेतृत्वमा पार्टी र सरकार बलियो बनेकाले विरोधीले आफ्नोविरुद्ध पनि हमला गरिरहेको उनको आरोप थियो । 
 
ओलीले भने, “सरकार दूरदर्शी र स्पष्ट सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको छ । छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाउँदै हामी अघि बढिरहेका छौँ । कतिपयलाई यो मन परिरहेको छैन ।”
उनले छ महिनापछि काठमाडौँ उपत्यका धूलो र हिलोरहित हुने ठोकुवा गरे । बाटो, ढल सबै बन्छ । काठमाडौँका बाटा पक्की हुन्छ । कालोपत्र सकिन्छ । यसमा कोही आत्तिएर केही हुनेवाला छैन, सरकार ढल्दैन ।”
 
चीनसँगको पछिल्लो पारवहन सहमति उल्लेखनीय भएको जनाउँदै उनले अब चाँडै कोशी र गण्डकीमा पानीजहाज चलाउन सर्भेक्षण शुरु गरिने आश्वासनसमेत दिए । 
 
मुलुकी फौजदारी देवानी कार्यविधि संहिता एक वर्षअघि संसदबाट पारित भई हाल कार्यान्वयनमा आएकाले कुनै संशोधन गर्नुपर्ने भएमा सरकार तयार रहेको बताए । उनले पत्रकारहरुलाई सडकमा प्रदर्शन नगर्न आग्रह गरे ।