मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बेगनासतालमा डुंगा दुर्घटना, दुई जनाको मृत्यु, पाँच बेपत्ता

बेगनासतालमा डुंगा दुर्घटना, दुई जनाको मृत्यु, पाँच बेपत्ता


पोखरा । कास्कीको बेगनासतालमा भएको डुंगा दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँच जना अझै बेपत्ता छन् । 
 
पोखरा–२८ की कृष्णकुमारी बजगार्इं र लेखनाथकी जमुना कडेंलको मृत्यु भएको प्रहरीले जनाएको छ । बेपत्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
 
बजगार्इंको लेखनाथ सामुदायिक अस्पतालमा र कँडेलको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 
 
बेगनासका स्थानीय गणेश कँडेलको घरमा तीजको दर खान आएका आफन्तहरु डुंगामा ताल घुम्न जाँदा डुंगा पल्टिएर दुर्घटना भएको बताइएको छ । 
बेपत्ता हुने अन्य आफन्तको प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । 
 
डुङ्गामा नौ जना सवार रहेका थिए । दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा नवलपरासीको गैँडाकोट घर भएका ३२ वर्षीय रवि खनाल, उनकै छोरा सात वर्षीय शङ्कर र आठ वर्षीय शिव खनाल, पाँच वर्षीय प्राचीन पौडेल र १७ वर्षीया मनिसा बजगाईं रहेकी छन् । खनाल नेपाली सेनामा कार्यरत रहेका थिए । 
 
उनीहरु तीज मान्नका लागि वेगनासताल पारि घर भएका आफन्त कमल कँडेलको घरमा आएको बताइएको छ । डुङ्गाघाट पुग्न करिब दुई सय मिटर वर लिप्दी भन्ने स्थानमा डुङ्गा दुर्घटना परेको थियो । 
 
उद्धार गर्न खोज्दा डुङ्गा डुब्यो 
 
प्रहरीका अनुसार डुङ्गामा सवार प्राचीन पौडेल एक्कासी तालमा खसेपछि आमा निशा पौडेल उद्धारको लागि तालमा हाम फालिन् । तालमा हाम फालेपछि डुङ्गाको सन्तुलन गुम्यो र डुङ्गा पल्टिएसँगै सबै तालमा खसे । तालमा डुङ्गा पल्टिएलगत्तै स्थानीयबासी उद्धारमा जुटेकाले केहीलाई बचाउन सकिएको हो । 
 
घटनास्थलमा सुरक्षाकर्मी, सशस्त्र प्रहरी बल, स्थानीयसँगै गोताखोर परिचालित भएकोे इप्रका शिशुवाका प्रहरी निरीक्षक रावतले जानरकारी दिए । बेपत्ताको खोजी तीव्र पारिएको प्रहरीले जनाएकोछ ।