मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा कैदीबन्दीको चाप, क्षमता २५५ राखियो ६२५

चितवनमा कैदीबन्दीको चाप, क्षमता २५५ राखियो ६२५


चितवन । छिमेकी जिल्ला नवलपुर (पूर्वी नवलपरासी)मा अदालत र प्रशासन भएर पनि कारागार नहुँदा चितवनमा कैदीबन्दीको चाप बढेको छ ।
 
नवलपुरबाट पुर्पक्ष र कैद भुक्तानका लागि कैदीबन्दी यहाँ पठाउने गरिएको छ । क्यान्सर रोगलगायत अन्य रोगको उपचार सहज भएका कारण अन्य जिल्लाबाट समेत कैदीबन्दीको उपचार गराउन यहाँ पठाउने गरिन्छ । ती कैदीबन्दीको चाप झेलिरहेको कारागारले छिमेकी जिल्लाको भारसमेत थेग्नुपरेकाले चाप बढेको हो ।
 
जिल्ला कारागार चितवनका सूचना अधिकारी रामबाबु श्रेष्ठका अनुसार नवलपुरबाट हालसम्म ७५ जना कैदीबन्दी यहाँ पठाइएका छन् । नवलपुरमा गत वर्षको माघ १८ गतेबाट कैदीबन्दी पठाउन थालिएको हो ।
  
श्रेष्ठका अनुसार कारागारको क्षमता २५५ रहेको छ । हाल कारागारमा ६२५ कैदीबन्दी रहेका छन् । जसमध्ये एक आश्रित बच्चा, ५९ महिला र अन्य पुरुष रहेका छन् । क्षमताभन्दा अत्यधिक बढी कैदीबन्दी भएपछि समय समयमा अन्य कारागारमा स्थानान्तरण गर्ने गरिएको छ ।
 
कैदीबन्दी क्षमताभन्दा बढी भएपछि साउनयता ४८ लाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो । २० लाई भीमफेदी, १७ लाई वीरगञ्ज, चारलाई धादिङ र सातलाई रुपन्देही बालसुधार गृहमा स्थानान्तरण गरिएको छ । फौजदारी संहिताअनुसार १८ वर्षमुनिका कैदीबन्दीलाई सुधारगृहमा राख्नुपर्ने हुन्छ ।
 
कारागारका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपरासी जिल्ला दुईवटा बनेपछि दाउन्ने पूर्व अदालत भएर पनि कारागार छैन । त्यहाँ फैसला गरिएका कैदीबन्दीलाई यहाँ ल्याउने गरिएको छ ।
 
कारागारमा हाल क्यान्सरका तीन जना, उच्च रक्तचापका ३६ जना, मधुमेहका २० जना, हेपटाइटिस बी का एक जना, हेपटाइटिस सी का एक जना, चर्मरोगका १५० र थाइराइडका दुई जना बिरामी छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि सरुवा रोग फैलिने गरेको छ । हाल कैदीबन्दीमध्ये २५ लाई भाइरल ज्वरोको सङ्क्रमण रहेको छ । (फाइल : फोटो)