मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएन टोली भेटघाट र लबिङमा व्यस्त

एनआरएन टोली भेटघाट र लबिङमा व्यस्त


काठमाडौं । गैर आवासीय नेपालीहरुले नागरिकता ऐनमा स्पष्ट प्रावधान राख्न राजनीतिक दलका नेताहरुसँग आग्रह गरेका छन् । 
 
गैर आवासीय नेपालीले पाउने भनिएको नागरिकताको विषयमा स्पष्टता नभएको हुँदा त्यसलाई स्पष्ट पार्न उनीहरुले माग गरेका हुन् । एनआरएन अमेरिकाले प्रस्तावित नागरिकता ऐनमा रहेका प्रावधानहरुलाई हटाएर व्यबहारिक बनाउन माग गर्दै लबिङ गर्नका लागि नेपाल पठाएको प्रतिनिधिमण्डलले विहीबार पूर्ब प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगायत सत्तारुढ दलका नेताहरुसँग भेटघाट गरेको छ ।
 
एनआरएन अमेरिकाका उपाध्यक्ष जेदु पोखरेलको नेतृत्वमा गएको टोलीमा बोर्ड अफ डाइरेक्टर सञ्जय थापा, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुदीप पन्त लगायतका व्यक्तिहरुको सहभागिता थियो । 
 
टोलीसँगको भेटमा देउवाले आफू र आफ्नो दल नेपाली कांग्रेस नागरिकताको निरन्तरताको पक्षमा रहेको बताउँदै सहयोग गर्ने आश्वासन दिएको नेजाका अध्यक्ष पन्तले जानकारी दिए । टोलीमा एनआरएन अन्तर्राष्ट्रिय समितिका महासचिव बद्री केसी, संरक्षक एवं नागरिकता निरन्तरता कमिटीका संयोजक रामप्रताप थापाको पनि सो भेटवार्तामा सहभागिता थियो ।
टोलीले विहीबारनै नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी सचेतक शान्ता चौधरी, सांसद योगेश भट्टराई, पूर्वमन्त्री एवं सांसद खगराज अधिकारी लगायतसँग विधेयक सम्बन्धमा छुट्टाछुट्टै भेटवार्ता गरेको थियो । 
 
हाल राज्य व्यवस्था एवं सुशासन समितिमा विचाराधीन रहेको गैर आवासीय नेपालीहरूलाई दिने नागरिकता एेनमा संशोधन प्रस्ताव दर्ता गरेका संसदद्वय कृष्णभक्त पोखरेल र सूर्य पाठकले  भेटवार्ता गर्ने टिमलाइ सहजीकरण गरेका थिए । 
 
‘दुबै सांसदहरूले गैर आवासीय संघले उठाएको जायज मागहरूलाई आफूहरूले सम्बन्धित ठाउँमा पुर्‍याउने बचन दिएका छन्,‘ नेजा अध्यक्ष पन्तले भने । 
 
एनआरएन टोलीले प्रधानमन्त्री, सभामुख, बिभिन्न संसदीय समितिका सांसदहरूसँग भेटेर धारणा राख्ने कार्यक्रम रहेको छ ।